तिमीले निचोर्दै, चिथोर्दै खियाउन लाग्दा म कहिले आत्तिन्न । तिमी सँग शक्ति होला म सँग सामर्थ्य छ तिमी सँग क्रोध होला म सँग सहनशिलता छ तिमी सँग बुद्धि होला म सँग विवेक पनि छ ! त्यसैले तिमी र म वा म र तिमी जताबाट हेरौँ फरक स्पष्ट छ । तिमी पेल्न खोज्छौ म ढुंगा बन्छु तिमी उखेल्न खोज्छौ म अनन्त जरा गाड्छु तिमी धकेल्न खोज्छौ म हिमाल बन्छु तिमी पखाल्न खोज्छौ म अझै चम्किन्छु अनि तिमी थाक्दछौ किनकी म विर गाथा बोकेको गोर्खाली हुँ । सुस्ताहरु मा तिमी रजाँइ गर्न थाल्छौ अनि कालापानीहरुमा मलाई लाग्छ निभ्न लागेको दियो चम्के झैँ, मात्र त्यस्तै । तिमी कसैको अधीनमा रहँदा मैले कसै सामु शिर झुकाइन, कसैसामु घुँडा टेकिन र पिठ्युँ पनि आफ्नै धर्ति सामुन्ने नै थियो । तर पनि तिमी मलाई लाछी ठान्छौ, तिमी सँग क्रोध छ म सँग सहनशिलता छ, तिमी सँग बुद्धि छ तर म सँग विवेक पनि छ ! imgsrc: travel-nepal.com - घिमिरे सुनिल