बर्खे बिदाका दिन, घर बस्दा बस्दा वाक्कै लाग्थ्यो। आमा प्राय पर्म भर्न मेला जानु हुन्थ्यो, भाइ घरमै हुन्थ्यो तर त्योसँग फाइट मात्रै पर्थ्यो। हजुरआमा नि हुनुहुन्थ्यो, दिनभर फतफताई मात्रै रहनुहुन्थ्यो। टिभी पनि थियो टि-सिरिजको, तर शनिबार बाहेक अरु दिनमा बिहान नौ देखि बेलुकी पाँच बजेसम्म प्रसारण बन्द हुन्थ्यो। म ४ या ५ कक्षामा पढ्थेँ सायद, कोठैभरी कापी र किताब मिल्केका हुन्थे, बर्खे बिदाको लागि सब बिषयका सरहरुले यत्ति धेरै होमवर्क दिएका हुन्थे तर होमवर्क गर्न फिटक्कै मन लाग्दैनथ्यो। गर्मी उस्तै, पानी नपरेको दिनमा असारको गर्मीको के बयान गरिसाध्य, हन्नामा मकै पड्के जसरी घामले छानाका टिन तातेर पड्किन्थे। पौडीे खेल्न जाउँ भने बिजयपुर खोलो बढेर पुलसम्मै आउँथ्यो, बगाइहाल्यो भने भनेर पौडीन जान पनि डर लाग्थ्यो। अनि भान्छाकोठामा जान्थेँ, खाजा के राखिदिनु भएछ आमाले भनेर हेर्थें, सँधै निख्ला चिउरा। देख्नासाथ हुर्याइदिम जस्तो झोंक चल्थ्यो, तर जतिसुकै खान्न भनेर घुर्की लगाए पनि सुनिदिने कोही हुन्थेन। दिन ढल्दै गएपछि भोकले गलाउँदै लैजान्थ्यो, अनि मन नलाई नलाई त्यही चिउरा हसुर्न पर्थ्यो। तर भोकको मेसा