हामी मोबाइलबाट दिनहुँ दर्जनौँ फोटो खिचिरहेका हुन्छौँ, तर मोबाइलबाट खिचिएका अधिकांश फोटोहरुको गुणस्तर राम्रो हुँदैन। मोबाइलबाट खिचिएका फोटोहरुलाई थरिथरिका फिल्टरहरु प्रयोग गरेर, राम्रो र आकर्षक देखाएर, सेयर गर्नको लागि केभिन सिस्ट्रोमले सन् २०१० मा 'इन्स्टाग्राम'को निर्माण गरेका थिए । 'इन्स्टाग्राम'लाई पच्छ्याउँदै मोबाइलमा फोटो सम्पादन गर्न, तथा सामाजिक सञ्जालमा सेयर गर्नको लागि सयौँ एन्ड्रोइड तथा आइओएस एप्सहरु निर्माण भएकाछन् । यो ब्लगमा फोटो सम्पादन गर्न सरल र सहज बनाउने ५ मोबाइल एप्सहरुबारे चर्चा गर्दैछु।
१) स्न्यापसिड
स्न्यापसिडमा फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु उपलब्ध छ। स्न्यापसिडमा 'टुल्स' र 'फिल्टर्स' गरेर फोटो सम्पादनलाई दुई भागमा बाँडिएको छ । स्न्यापसिडको 'टुल्स' प्रयोग गरेर, आफूलाई चाहिएको जस्तो फोटो बनाउन सकिन्छ । फोटोमा विशेष रुची हुनेले स्न्यापसिडको 'टुल्स' चलाउन (सिक्न) जरुरी छ । तपाई सामान्य प्रयोगकर्ता हो, र 'म्यानुअल' मोडमा काम गर्न गाह्रो लाग्छ भने स्न्यापसिडको 'फिल्टर्स' ले काम चलाउन सक्नुहुन्छ । इन्टरनेटमा उपलब्ध एप्सहरु मध्ये गुगलको स्न्यापसिडलाई सबैभन्दा राम्रो 'फोटो' सम्पादन गर्ने एप मान्न सकिन्छ । फोटो सम्पादनको लागि 'स्न्यापसिड' मेरो पहिलो रोजाइ पर्छ। स्न्यापसिड एन्ड्रोइड र आइओएसमा उपलब्ध छ ।
२) पिक्सलर
अटोडेस्कको पिक्सलर एपलाई दर्जनौँ प्रकारले प्रयोग गर्न सकिन्छ । फोटो सम्पादनका लागि चाहिने आधारभूत सबै 'फिचर'हरु त पिक्सलरमा छ नै, यसबाहेक फोटोहरु जोडेर - फोटो कोलाज बनाउन, स्टिकरहरु राख्न, चाडपर्व अनुसार पोस्टकार्ड आदि बनाउन सकिन्छ । स्न्यापसिड पहिलो रोजाइमा परेदेखि, पिक्सलर मेरो दोस्रो रोजाइमा पर्न थालेको छ। पिक्सलर एन्ड्रोइड र आइओएसमा उपलब्ध छ, साथै पिक्सलरको वेब भर्सन पनि उपलब्ध छ ।
३) गुगल फोटो
अनगिन्ती फोटोहरु राख्न मिल्ने गुगलको, गुगल फोटोमा सजिलो सँग फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोबाट, फोटोको 'लाइट', 'कलर' आदि मिलाउन सकिन्छ । यसका साथै, गुगल फोटोमा आकर्षक फिल्टरहरु पनि उपलब्ध छ । मोबाइलमा धेरै फोटो खिच्नेहरुलाई गुगल फोटो अत्यन्तै उपयोगी एप्स हो । गुगल फोटोमा तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि पनि बनाइदिन्छ । गुगल फोटो एन्ड्रोइड तथा आइफोनका साथै वेबमा पनि उलब्ध छ।
४) भस्को
फोटोलाई हल्का फरक किसिमको 'लुक एन्ड फिल' दिनुपर्यो भने भस्को क्याम प्रयोग गर्न सकिन्छ । इन्स्टाग्रामका प्रयोगकर्ताहरु माझ भस्को क्याम 'पपुलर' छ । इन्स्टाग्राममा उपलब्ध फिल्टहरु भन्दा भस्कोमा उपलब्ध फिल्टरहरु फरक छन्, अर्को तरिकाले भन्नुपर्दा, भस्को क्याममा उपलब्ध फिल्टरहरुले तपाईका फोटोलाई 'कुल' देखाइदिन्छ । भस्को क्याम एन्ड्रोइड र आइओएसमा उलपब्ध छ।
५) प्रिज्म
केही महिना अघि मात्रै सार्वजनिक भएको प्रिज्म एप अझै चर्चाको शिखरमा छ । प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ । प्रिज्म एन्ड्रोइड र आइओएसमा उलब्ध छ।
Comments
Post a Comment