अघिल्लो महिना भिडियो कलिङ एप 'डुओ' सार्वजनिक गरेको गुगलले, हिजो नयाँ च्याट एप् 'आलो' (Allo) सार्वजनिक गरेको छ । स्मार्ट मेसेजिङ एप्को रुपमा सार्वजनिक भएको गुगलको 'आलो'ले, हामीले दैनिक प्रयोग गर्ने विभिन्न च्याट एप्सहरुमा उपलब्ध फिचरहरुलाई एकै ठाउँमा ल्याउन कोशिस गरेको झैँ देखिन्छ ।
'आलो'मा गुगल असिस्टेन्टसँग च्याट गर्ने देखि लिएर, स्न्यापच्याटको जस्तो केही समयपछि 'मेसेज' आफैँ डिलिट हुने, आईमेसेजको जस्तो 'टेक्स्ट' ठूलो बनाउने फिचरहरु छन् । यसका साथै प्राय: सबै च्याट एप्सहरुमा उपलब्ध ग्रुप च्याट, ईमोजी, फोटो, स्टिकरहरु, डुडल आदि पनि एलोमा उपलब्ध छ । गुगल असिस्टेन्ट तथा स्मार्ट 'रिप्लाइ' बाहेक अर्को राम्रो फिचर भनेको, आलोको प्राइभेट च्याट हो, इनकग्निटो मोडमा गरिने च्याट, 'इन्क्रिप्ट' हुनुको साथै, यति समयपछि 'मेसेज' आफैँ डिलिट गर्ने भनेर समय सिमा तोक्न सकिन्छ ।
गुगल असिस्टेन्ट
गुगल नाउलाई विस्थापित गर्दै गुगल असिस्टेन्ट आलो च्याट मार्फत प्रयोगकर्ताहरु माझ आइपुगेकोछ । गुगल असिस्टेन्टलाई, गुगल नाउमै उपलब्ध फिचरहरुको सुधारिएको भर्सन मान्न सकिन्छ । आलो च्याटमा एउटा 'कन्ट्याक्ट'को रुपमा गुगल असिस्टेन्ट राखिएकोछ, आलोमा गुगल असिस्टेन्टसँग दोहोरो वार्तालाप गर्न सकिन्छ, तर 'पर्फेक्ट' भने छैन । अधिकांश समय, खोजेको कुराहरु यही हो भनेर रिप्लाइ गर्नुभन्दा पनि, असिस्टेन्टले सर्च रिजल्टमा देखिने नतिजा नै च्याटमा देखाउँछ । राम्रो पाटो चैँ के छ भने, तपाईले नतिजा मन परेको वा मन नपरेको जनाउ दिनसक्नुहुन्छ, अनि त्यसै अनुसार गुगल असिस्टेन्टले सिक्दै जान्छ । कोही साथीसँग च्याट गर्दा, असिस्टेन्ट चाहिए @google टाइप गरेर गुगल असिस्टेन्टलाई च्याटमा सहभागी गराउन सकिन्छ ।
स्मार्ट रिप्लाई
आलो च्याटमा स्मार्ट रिप्लाई उपलब्ध छ। स्मार्ट रिप्लाईले नाम अनुसारकै काम गर्छ, च्याटको 'कन्टेक्स्ट' बुझेर त्यही अनुसार 'रिप्लाइ' तयार गरिदिन्छ, प्रयोगकर्ताले त्यही अटोमेटिक रिप्लाइ दिनसक्छन्। 'टेक्स्ट'को सट्टा ईमोजी मात्रै पठाएर च्याट गरेर बस्नेहरुलाई आलोको स्मार्ट रिप्लाइ निकै रमाइलो लाग्न सक्छ । गुगल असिस्टेन्टसँग च्याट गरेर बस्ने हो भने, समय गएको पत्तो हुन्न, ठ्याक्कै 'हर' नामक चलचित्रमा देखाइएको जस्तो ।
ईनकग्निटो, ग्रुप च्याट, फोटो, स्टिकर तथा ईमोजीहरु
च्याट गर्नेहरुका लागि, ग्रुप च्याट फोटो, स्टिकर तथा ईमोजीहरु नयाँ होइनन्, लगभग यी सबै नयाँ च्याट एप्समा हुनै पर्ने फिचरहरु हुन् । आलोमा ईनकग्निटो मोडमा च्याट गर्न सकिन्छ, माथि लेखिए झैँ, ईनकग्निटोमोडमा गरिने च्याट 'इन्क्रिप्ट' हुन्छ, साथै १ घन्टा, १ मिनेट, वा एक हप्ता, पछि आफूले पठाएको मेसेज 'डिलिट' होस् भनेर 'टाइमर' पनि सेट गर्न सकिन्छ । आलोमा लेखिने टेक्स्ट तथा ईमोजीहरुको साइज, किबोर्डको 'इन्टर' आइकन तल-माथि सारेर, सानो-ठूलो बनाउन सकिन्छ । त्यसबाहेक, फोटोमाथि लेख्न सकिने सुविधा पनि आलोमा उपलब्ध छ।
आलो, मोबाइल नम्बरको आधारमा चल्ने भएकोले, हाललाई मोबाइल फोनमा मात्र चलाउन सकिन्छ । प्लेस्टोर तथा एपस्टरोमा एन्ड्रोइड र आईफोनको लागि आलो एप् उपलब्ध भएपनि, अहिलेलाई सिमित प्रयोगकर्ताहरुले मात्र चलाउन पाउँछन् । तपाई यदि आलो प्रयोग गर्न चाहनुहुन्छ तर प्लेस्टोरबाट उपलब्ध छैन भने, अन्य स्रोतहरुबाट खोजेर डाउनलोड गर्नसक्नुहुन्छ ।
Comments
Post a Comment