३२ वर्षअघि, सन् १९८३ जुनमा, एप्पलका संस्थापक स्टिभ जब्सले एक कन्फेरन्समा प्रस्तुत गरेका “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को अवधारणा यहाँ सम्म आइपुग्दा विकसित भइसकेको छ । “म्युजिक स्टोरमा छानी छानी गित सुन्न किन्न सकिए झैँ, सफ्टवेयर पनि त्यसरी नै स्टोरमा छानी छानी किन्न सकिने हुनुपर्छ, धेरैजसोलाई आफ्नो कम्प्युटरमा कुन किसिमको सफ्टवेयर चाहिन्छ भन्ने कुरा पनि थाहा छैन”, स्टिभ जब्सले उतिबेलै नयाँ किसिमको सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टरबारे आफ्नो अवधारणा राख्दै बोलेका थिए । त्यसको बिस वर्षपछि २००३ मा एप्पल’ले आईट्युन्स सार्वजनिक गर्यो, जहाँबाट आफूलाई चाहिने गित छानेर किन्न सकिन्छ ।
स्टिभ जब्सकै भिजनको बृहत रुपनै अहिलेका एपस्टोर, प्लेस्टोर, आइट्युन्स, मोबाइल एप्स आदि हुन्। उनले १९८३ मै “सफ्टवेयर डिस्ट्रिब्युसन सेन्टर”को कुरा राखेपनि, मोबाइलमा चाँहि सन् २००७ पछि मात्रै यस किसिमको अवधारणा भित्रियो । २००७ को जुनमा, स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेर, स्मार्ट मोबाइलफोन युगको प्रारम्भ गरिदिएका थिए । आईफोन सँगै एन्ड्रोइड स्मार्टफोनहरु पनि भित्रिए, बजारमा पुरानै शैलीबाट चलिरहेका नोकिया, मोटोरोला, ब्ल्याकबेरी लगायतका फोनहरुको व्यवसाय नै धारासायी भयो । आईफोन र एन्ड्रोइडको प्रवेश सँगै, मोबाइल जगतमा क्रान्ति आयो, फोनमा आफूलाई मन लागेका एप्सहरु राख्न पाइने भयो ।
एप्पलले २००८ जुलाईमा ५ सय ५२ एप्स सहित एप्पल एप स्टोर सार्वजनिक गर्यो, यस्तै गुगल’ले अक्टोबर २००८ मा एन्ड्रोइड मार्केट सार्वजनिक गर्यो, अहिले एन्ड्रोइड मार्केटलाई गुगल प्लेस्टोरको नामले चिनिन्छ । गुगल प्लेस्टोर, एप्पल एप् स्टोर बाहेक विभिन्न कम्पनीहरुको पनि आफ्नै एप स्टोरहरु छन् । २००९ एप्रिलमा ब्ल्याकबेरीले ब्ल्याकबेरी एप वल्ड, २०१० मा माइक्रोसफ्टले विन्डोज फोन स्टोर सार्वजनिक गर्यो भने २०११ मा अमेजनले अमेजन एप स्टोर सार्वजनिक गर्यो । जुलाई २०१५ को तथ्यांक अनुसार गुगलको प्लेस्टोरमा १६ लाख मोबाइल एप्स छन् भने एप्पल प्लेस्टोरमा १५ लाख मोबाइल एप्स रहेकाछन् । ती लाखौँ एप्सहरु करोडौँ प्रयोगकर्ताहरुले प्रयोग गर्छन्, स्मार्टफोन मार्फत । हाम्रो दैनिकी, फ्लपी डिस्क र सिडी/डिभिडी युगका सफ्टवेयरबाट मोबाइल एप्समा पुगेकाछन् ।
फेसबुक’का अनुसार नेपालमा ३० लाख भन्दा धेरैले एन्ड्रोइड फोन प्रयोग गर्छन् भने करिब ४ लाखले आईफोन प्रयोग गर्छन् । विन्डोज मोबाइल चलाउनेको संङ्ख्या एक लाख भन्दा कम छ । प्लेस्टोरमा लाखौँ एपहरु भएपनि, एउटा प्रयोगकर्ताले ‘एभरेज’मा ९५ वटा एपहरु चलाउँछन् भनेर अघिल्लो वर्ष याहुले एक तथ्यांक सार्वजनिक गरेको थियो ।
नेपालमा कतिवटा एप्सहरु बनेकाछन् भन्ने यकिन तथ्यांक छैन, तर जानकारहरुका अनुसार नेपालबाट हजार भन्दा धेरै एन्ड्रोइड एप्स र सयौँको संख्यामा विन्डोज एप तथा आइफोन एपहरु निर्माण भएकाछन् । नेपाली पहिलो मोबाइल एप यही भनेर यकिन गर्न नसकिएपनि, गुगल डेभ्लपरस् ग्रुप काठमाडौँको सुरुवात सँगै एन्ड्रोइड एप्स निर्माण सम्बन्धी ट्रेनिङहरुबाट एन्ड्रोइड एप निर्माण थालनी भएको देखिन्छ । एन्ड्रोइड प्रयोगकर्ताहरु बढ्दै जाँदा, नेपाली उपयोगी एप्सहरु पनि निर्माण हुँदै गए, तर गुगलको प्लेस्टोरमा एप्स राख्न अधिकांस नेपाली डेभ्लपरका लागि कठिन देखिएको कारण भुपाल सापकोटाले ‘एप्स झोला’ नामक एन्ड्रोइड एपस्टोर सुरु गरे ।
एप्सझोलाका संस्थापक, सापकोटाका अनुसार हालसम्म एप्सझोलामा ३० डेभ्लपर्सका ७० भन्दा धेरै एप्सहरु उपलब्ध छन् । एप्सझोलामा फ्रि एप्सका साथै, पैसा तिरेर किन्नुपर्ने एप्सहरु पनि राखिएकाछन् । परिक्षणको रुपमा पहिलो चरणमा, अनलाइन बाघचाल एप ९९ रुपैयाँमा बिक्रीमा राखिएकोछ, जसलाई अनलाइन नै ई-सेवाको माध्यमबाट किन्न सकिन्छ । नेपाली डेभ्लपर्स र प्रयोगकर्ताहरु दिनहुँ बढ्दैछन्, यसै कारण मोबाइल प्रदायक एनसेल’ले पनि आफ्नो मोबाइल एपस्टोर सञ्चालन गर्ने तयारी गरिरहेकोछ ।
यो ब्लग तयार पार्दै गर्दा, गुगल प्लेस्टोरमा फेसबुक म्यासेन्जर पहिलो स्थान छ भने दोस्रो स्थानमा फेसबुक लाइट । नेपाली एप्समा भने पहिलो स्थानमा नेपाल लोडसेडिङ एप, दोस्रोमा हाम्रो पात्रो, तेस्रोमा हाम्रो किबोर्ड, तथा चौथोमा नेपाली पात्रो रहेकाछन् । हाम्रो किबोर्ड, नेपाली पात्रो, हाम्रो पात्रो दश लाख भन्दा धेरै डाउनलोड भएका छन् भने, नेपाल लोडसेडिङ एप ५ लाख भन्दा धेरै पटक डाउनलोड भएकोछ । बैशाख १२ मा नेपालमा भुँइचालो आएसँगै, एपस्टोरमा भुँइचालो सम्बन्धी एपहरुको बाढी नै आएकोथियो।
(युवामञ्चको असोज अंकमा प्रकाशित, एभिजी टेक्नोलोजीको स्लाइडमा आधारित)
➤ Install Aakar Post Android App from Google PlayStore
Comments
Post a Comment