अल्छे भइएको हो, वा व्यस्त भइएको हो, यसै भन्न सक्दिन तर ब्लगमा भने सोचेजस्तो र भनेजस्तो रहेन । तरपनि वर्षको अन्त्यमा भने सँधै अघिल्लो वर्षको समिक्षा गर्ने हुटहुटी चल्छ, हुन त महिनै पिच्छे गरे हुने हो आत्मसमिक्षा।
एउटा प्रयोग
२०१३ को डिसेम्बर अन्तिमतिर एकजना साथीले 'नेपालको राजनैतिक/सामाजिक समाचार पढ्नुभनेको, आफ्नो बिपी मात्र बढाउनु हो' भन्ने आशयको ट्विट गरेकाथिए । मलाई उनको कुरा ठिकै लाग्यो, अनि मैले पनि वर्षभरि नै समाचार नपढ्ने/नसुन्ने/नहेर्ने वाचा गरेँ आफैँसँग । आफूले फलो गरिएका र लाइक गरिएका अधिकांश समाचार पोर्टललाई अनफलो र अनलाइक गरियो। हरेक रात ८ बजेको टिभी समाचार हेर्ने बानी परेको मैले, यो वर्ष मुस्किलले ५-६ वटा समाचार हेरेँ होला टिभीमा । बिहानको रेडियोको समाचार पनि सुन्न छोडियो । पत्रिका पढ्न छोडियो । ट्विटर र फेसबुकमा साथीहरुले सेयर गरेर, पढ्नैपर्ने भनेर रिकमेन्ड नगरेका बाहेक कुनै लेख सायदै पढियो । समाचारबाट सय प्रतिशत नै टाढा बस्न त सकिएन तर पनि कहिले समाचार खोज्दै कुनै समाचार पोर्टल धाइएन । यतिसम्म भयो कि, पश्चिममा पसेको बाढीसमेत मैले पछि मात्र थाहा पाएँ -- फिल द बकेट अभियान चलेपछि मात्रै । सुनकोशी-भोटेकोशीको पहिरो चाँही ट्विटरबाटै थाहा पाइयो, फलोअप पनि ट्विटरबाटै भयो । अनि इन्टरनेटबाट केही दिनको लागि बस्नु पनि रमाइलो नै हुनेरहेछ भन्ने लाग्यो, गएको दशैँमा करिब हप्तादिन जति इन्टरनेटबाट टाढा बस्दा । यसै क्रमलाई निरन्तरता दिने विचारमा छु।
हाइकिङ
२०१४ हाइकिङको वर्ष रह्यो भन्दा फरक नपर्ला, त्यसो त २०१३ को अन्त्यमा आउँदो वर्ष सकेजति घुम्ने नै योजना बुनेको थिँए । काठमाडौँको उत्तर-पूर्व, भोटेचौरमा रहेको चिया बगान घुमेर २०१४ को सुरुवात गरेको थिँए । त्यसपछिका हप्ता र महिनाहरुमा हाइकिङ गइयो, अघिल्ला केही हप्ताहरु ट्विटे समूहसँग गइयो, अलिपछि अफिसबाटै नियमति हाइकिङ गइयो, काठामाडौँ वरिपरिका धेरै ठाउँहरुबारे बुझ्ने अवसर पाइयो । डिसेम्बरको अन्त्यमा, लमजुङको घलेगाउँ - भुजुङ – पसगाउँ'को ३ दिने ट्रेक गएर यो वर्षको यात्रामा विश्राम लगाइयो। नोभेम्बरको दिल्ली यात्रा पनि नौलौ अनुभव रह्यो।
ब्लग
केही दिनअघि केयु पुग्दा अनि हिजो साँझ फेसबुक च्याटमा गफ्फिरहँदा, ब्लगको बारेमा प्रश्न उठ्दा, आफू ब्लगमा नियमित हुन-नसकेकोमा खल्लो लाग्यो । सँधै प्रविधि र सोसल मिडियाका कुरा मात्र हैन, यस्तै किसिमका गन्थन पनि केहीले रुचाउने रहेछन् भन्नेपनि थाहा पाइयो, त्यसो त आफैँलाई पनि पछि पढ्न रमाइलो नै हुन्छ । २०११ मा इन्टर्नसिपको लागि बेङ्लोर जाँदा लेखिएको ब्लग हिजोआज पनि कहिलेकाँही पढ्नेगर्छु, त्यो बेलाको समय र यात्रा सम्झेर अहिले पनि रमाइलो लाग्छ । साथी भाइहरुसँग भेट हुँदा भएका कुराकानीका आधारमा, २०१५ मा ब्लगका लागि केही नयाँ योजनाहरु बनाएकोछु, हेरौँ कतिसम्म भनेको झैँ गर्न सकिन्छ ।
नेपाली स्टार्टअप
२०१४ नेपाली स्टार्टअपहरुका लागि एउटा सम्झन-योग्य वर्ष भएर गयो। स्टाटर्अप विकेन्ड, रिकनेक्ट बुटक्याम्प, एनसेल एपक्याम्प लगायतका ठूला कार्यक्रमहरु वर्षैभरि चलिरहे, जसबाट निस्केका केही आइडियाहरुले अहिले ट्र्याक्सन पाइरहेकाछन् । नेपाल लोडसेडिङ एप २० लाखमा विक्रि भएको कुराले वर्षैभरि चर्चा पायो। अनिश र मनिषाले सुरु गरको 'यल्लो नेपाल' गुगल बिजनेस स्टोरी कम्पिटिसनको बिजेता बन्यो, उनीहरुको 'यल्लो एप' – लोकल रेष्टुरेन्ट सर्च इन्जिन'ले हिजोआज चर्चा पाउनथालेकोछ । त्यसो त एन-लोकेटले पनि वर्षको अन्त्यतिर आएर नयाँ जिवन पाएकोछ । अझै बिटा भर्सनमा रहेको ११ बिप एपको नयाँ डिजाइनले पनि प्रयोगकर्ताहरुलाई लोभ्याइरहेकोछ । मुन्चा डटकमको 'उनो बिजनेस डिरेक्ट्री' को 'उनो कार्ड'ले पनि प्रयोगकर्ताहरुको मन जितिरहेकोछ । यसबाहेक फुन्का टेक्नोलोजीको 'मेरो एन्सर' पनि विद्यार्थीहरु बिच लोकप्रिय रह्यो । लोकसेवा तयारीको लागि बनाइएको मोबाइल एप पनि प्रयोगकर्ताहरु बिच 'पपुलर' हुँदैछ । भर्खरै सकिएको एनसेल एपक्याम्पमा विजेता बनेका 'ओपिनियो', 'रिति-रिवाज', 'आइसिटि फर एग्रिकल्चर', 'लिपी' आदिले पनि सम्भावनाको नयाँ ढोकाहरु खोलेकाछन् ।
सोसल मिडिया
यसवर्ष पनि ट्विटरको फलो र अनफलो'को चर्चा चाँहि सँधै भइरहे पनि विश्वकप फुटबलको बेला भने ट्विटर रमाइलो बनेको थियो। फेसबुकमा कमेन्ट लेखेकै आधारमा केही व्यक्तिहरु प्रहरी हिरासतमा बस्नुपर्यो, यसकुराको व्यापक विरोध भयो, केहीले जातिगत र राजनैतिक रंग दिने पनि कोशीस गरे। फेसबुक'को फेक लाइक अनि ट्विटरको नयाँ डिजाइन पनि चर्चाको विषय रह्यो । यसबाहेक फेसबुकले १९ बिलियन डलरमा ह्वाट्सएप खरिद गरेेर सबैलाई झट्का दियो ।
केही अघिको तथ्यांक अनुसार नेपालमा ४० लाख भन्दा धेरै फेसबुक प्रयोगकर्ताहरु रहेकाछन् । एनसेलको ट्विटर जिरो स्किमलाई आधार मानेर अनुमान गर्दा करिब करिब २५ देखि ३० लाखको हाराहारीमा नेपालमा ट्विटर प्रयोगकर्ताहरु रहेका छन् ।
नव वर्ष २०१५ को हार्दिक मंगलमय शुभकामना !!!
आकारपोष्ट एन्ड्रोइड एप एप्सझोलामा उपलब्ध छ । प्ले न्युजस्ट्यान्डमा पनि आकारपोष्ट पढ्न सकिन्छ।
Comments
Post a Comment