फेसबुकको लोकप्रियता सँगै "सोसल मिडिया मार्केटिङ"को ट्रेन्ड देखापर्यो । अझ फेसबुकले 'बिजनेस पेज'को अवधारणा ल्याएपछि र इन्टरनेट जनसङ्ख्या फेसबुकमा तानिएपछि, अधिकांश कम्पनी/ब्रान्डहरुले 'फेसबुक'मा आफ्नो उपस्थिति जनाउन थाले । कोकाकोला र रिहानालाई मात्र होइन, नेपाली अनलाइन टिसर्ट स्टोर 'थ्रेडपेन्ट्स'लाई पनि फेसबुक बरदान सावित हुँदैआएकोछ । फेसबुकका अनेकौँ फाइदाहरु हुँदाहुँदै पनि यतिबेला फेसबुक 'लाइक'का बारेमा विभिन्न टिका-टिप्पणीहरु आउने गरेकाछन्, विशेषत 'फेसबुक विज्ञापन'का कारण ।
सोसल मिडिया मार्केटिङ अहिलेको समयमा ब्रान्ड तथा कम्पनीहरुको लागि अत्यावश्यक कुरा हो । फेसबुक लगायतका केही मार्केटिङ एजेन्सीहरुले सोसल मिडिया मार्केटिङलाई 'फेसबुक विज्ञापन' र 'फेसबुक लाइक' हो भनेर बुझाउने गरेका कारण हिजोआज ब्रान्डहरु कंगाल भइरहेकाछन् । धेरै लाइक/फ्यान ल्याउन कम्पनीहरु फेसबुक विज्ञापनमा लाखौँ खर्च गरिरहेकाछन् तर वास्तविकतामा उनीहरु 'फेक' लाइक किनिरहेकाछन् जसको हुनु र नहुनुमा केही फरक छैन ।
ब्रान्ड तथा कम्पनीहरुले जानेर वा नजानेर, धेरै समक्ष पुग्ने निहुँमा फेसबुक विज्ञापन मार्फत 'लाइक' किनिरहेका हुन्छन् । आफ्नो बजेट अनुसार एक दु॒ई दिनमै मनग्गे लाइक पनि पेजमा आइपुग्छ । तर ती अधिकांश 'लाइक'हरु नक्कली (फेक) लाइक हुने विभिन्न अनुसन्धानकर्ताहरुले दावी गरेकाछन् । तल राखिएको भिडियोले त नेपाल, भारत, पाकिस्तान, बंगलादेश आदि दक्षिण एसियाका देशहरुलाई 'फेसबुक लाइक फार्म' भनेर उल्लेख गरेको छ ।
सन् २०१२ मा बिबिसीका टेक्नोलोजी रिपोर्टर कालेन जोन्सले फेसबुकमा 'भर्चुअल बेगल' (बेगल नामक खानेकुरा अनलाइनबाट डाउनलोड गरेर सिधै खान सकिन्छ भन्ने आशयको पेज थियो) नामक पेज बनाए र १० डलरको फेसबुक विज्ञापन गरे । २४ घन्टा भित्र १० डलरमा १६ सय लाइक जम्मा भयो । उक्त पेजलाई फिलिपिन्स, इजिप्ट, इन्डोनेसिया आदि देशबाट अधिकांश लाइक आएको थियो भने, अमेरिका र युकेबाट कसैले पनि लाइक गरेनन् । इजिप्टको कायरोबाट लाइक गर्ने एकजनाको प्रोफाइल (अहमद रोनाल्डो - फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको फोटो थियो) बिबिसीका रिपोर्टरले पच्छ्याए ।रोनाल्डोले ३ हजार भन्दा धेरै पेज लाइक गरेका रहेछन् । रिपोर्टरले फेसबुक विज्ञापन अझै केही दिन चलाए, अमेरिका, युके र भारतलाई टार्गेट गरेर । ६० डलर सकिएपछि उनको भर्चुअल बेगलको पेजमा ३ हजार लाइक त आयो तर अमेरिका र युकेबाट अत्यन्तै न्युन लाइक आएकोथियो ।
नेपाल, भारत, बंगलादेश, श्रीलंका आदि एसियाली देशहरु क्लिकफार्म
माथिको भिडियो अनुसार अनधिकृत रुपमा बुस्टलाइक जस्ता साइटहरुबाट ७० डलरमा १ हजार लाइक किन्न सकिन्छ । यस्ता साइटहरुले भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका आदि देशमा 'लाइक क्लिक फार्म' चलाउँछन्, जसको कामहुन्छ फेसबुक पेजहरुमा लाइक गरिदिने । नेपाल, पाकिस्तान, भारत आदि दक्षिण एसियाका देशमा भएका ती 'लाइक फार्म'का व्यक्तिहरुले न्युनतम रकममा विभिन्न पेजहरु लाइक गरिदिन्छन् ।तर फेसबुकले अनधिकृत रुपमा लाइक किन्न दिँदैन (नियमले) ।
माथिको फोटोमा भेर्टासियमको फेसबुक पेजमा आएका लाइकहरुको विश्लेषण गरिएकोछ । भेर्टासियमले फेसबुक विज्ञापन मार्फत ८० हजार लाइक किने, जसमा सबैभन्दा धेरै लाइकहरु दक्षिण एसियाली देशहरुबाट आयो । तर पश्चिमा देशको तुलनामा न्युन इंगेजमेन्ट (कमेन्ट/सेयर/इन्टर्याक्सन) रह्यो । माथिको फोटोमा वाँया तिर देखाइएका 'बबलहरु'ले एसियाली राष्ट्रहरु जनाउँछ भने दायाँ तिर रहेका बबलहरुले पश्चिमा देशहरुबाट आएको लाइकलाई जनाउँछ । त्यस्तै तलको '%' बारले, कुन देशबाट भेर्टासियमको फेसबुक पेजमा कति इंगेजमेन्ट भयो भन्ने देखाउँछ । यसको सिधा अर्थ भन्दा, सबैभन्दा धेरै लाइक आएका राष्ट्हरुबाट इंगेजमेन्ट करिब १ प्रतिशत मात्रै छ, भन्नको मतलब पेजका धेरै फ्यानहरु एसियामा छन् तर पेजमा आएका अपडेटहरुमा भने एसियाबाट कुनै सहभागिता छैन । (यसबारे विस्तृतमा बुझ्न माथिको भिडियो नै हेर्नुहोला ।)
फेसबुकमा विज्ञापन गरेपछि, पेजमा आउने अधिकांश लाइकहरु दक्षिण एसियाली देशहरुबाट आउने गरेकोछ । केही रकम खर्च गरेर फेसबुकमा हजारौँ लाइक केही दिन मै आउँछ तर इंगेजमेन्ट भने लगभग शुन्य नै हुन्छ । तपाईको पेजमा ५० औँ हजार लाइक हुन्छ, तर पेजमा पोष्ट गरिएका कुराहरु १०-२० जना सम्म मात्र पुग्छ भने, पेजमा ५० औँ हजार लाइक भएको के अर्थ रह्यो र?
आफूले हेरिरहेका पेजहरुमा पनि माथि भिडियोमा भनिएका कुराहरु अनुभव गरेकोछु । केही फेसबुक विज्ञापन चलाएका पेजहरु पनि नियाली रहेकोछु । एकजना साथिले फेसबुक एड चलाएर करिब १० हजार लाइक जम्मा पार्नु भएकोछ, तर उक्त पेजमा पोष्ट गरिएका कुराहरु करिब २ सय जना सम्म मात्र पुगिरहेकोछ । उक्त पेजबाट धेरै भन्दा धेरै व्यक्तिहरु समक्ष कसरी पुग्न सकिन्छ भन्ने कुरा नै म सोचिरहेकोछु । तर लाग्दैछ त्यहाँ भित्र जति नै पोष्ट गरेपनि देख्ने भनेको त्यही सय दुईसय जनाले नै हो । त्यसो हो भने १० हजार लाइकले उक्त पेजलाई कुनै सहयोग गर्ने देखिँदैन । त्यस्तै मेरो कम्पनीको पेजमा २० हजार लाइक (अर्गानिक लाइक) छन्, जहाँ २ हप्ता अघि पोष्ट गरिएको एउटा अपडेट ७० हजार व्यक्तिहरु सम्म पुगेको थियो विना कुनै विज्ञापन ।
विभिन्न पेजहरु हेरिरहेका कारण, फेसबुकको सबैभन्दा धेरै फाइदा लिन 'फेसबुक लाइक विज्ञापन' भन्दा पनि 'कन्टेन्ट'मा ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता छ । माथिको भिडियोले पनि यही कुरालाई नै पुष्टि गर्छ । आफू नै 'नेक्स्ट' फेसबुक बन्न प्रयासरत फेसबुकले लाइक क्लिक फार्म, फेसबुक प्रोफाइल र लाइकहरु नहटाए फेसबुकको आम्दानीमा निकट भविष्यमा नै ठूलो धक्का पुग्ने देखिन्छ ।
तपाईको व्यवसायको लागि फेसबुक पेज छ र धेरै व्यक्तिहरु सम्म पुग्न 'फेसबुक एड' प्रयोग गर्दै हुनुहुन्छ भने, एकपटक सोच्नुहोस् । अनि काठमाडौँमा ५ सयमा २ हजार लाइक भनेर विज्ञापन गर्दै सोसल मिडिया मार्केटिङको धज्जी उडाउने मार्केटिङ एजेन्सीहरुको पनि भर नपर्नुहोस् । "Content is King" भन्ने मुलमन्त्र कहिले नबिर्सिनुहोस् ।
बाँकी कुराहरु यता पढ्नुहोस् ।
- Who 'likes' my Virtual Bagels?
- This Man's $600,000 Facebook Disaster Is A Warning For All Small Businesses (FB)
- फेसबुक पेजमा लाइक बढाउने सात तरिका
- Likes or lies? How perfectly honest businesses can be overrun by Facebook spammers
Comments
Post a Comment