"वर्षदिन भयो काम सुरु गरेको, यता अफिसमा सरेको चाँहि करिब ६ महिना भयो" - केही दिन अघि थ्रेडपेन्ट्सको अफिस, बुद्धनगर पुग्दा आशिष आचार्यले भने । सँगै रहेका सविन भन्डारीले थपे, "थ्रेडपेन्ट्स डटकम डिसेम्बर ३०, २०१२ मा रजिष्टर गर्यौँ"।
पूल्चोक इन्जिनियरिङ क्याम्पसमा अन्तिम वर्षमा हुँदा आशिष, सविन र आयुषलाई केही आफ्नै काम गर्नुपर्छ जस्तो लाग्दैथियो, एकदिन कुरैकुरामा अकस्मात एउटा 'आइडिया' निस्कियो, "अनलाइन टिसर्ट स्टोर" जहाँबाट आफूलाई मनपर्ने डिजाइन प्रिन्ट गर्न सकियोस् । आफूलाई मन परेको डिजाइनमा टिसर्ट लाउन नपाएको गुनासो यी तिनै जनालाई थियो, उनीहरुले पहिलोपटक पूल्चोक क्याम्पसमा आयोजना गरिएको एउटा कार्यक्रमको लागि टिसर्ट बनाए । त्यसपछि फेरि पनि पूल्चोक क्याम्पसकै विद्यार्थीहरुको लागि विभिन्न डिजाइनमा टिसर्ट बनाए, टिसर्ट चल्यो । अनलाइन टिसर्ट स्टोरको चर्चा चल्नथाल्यो, उनीहरुले होस्टलको आफ्नो कोठालाई नै आफ्नो अफिस र स्टोर बनाएर थ्रेडपेन्ट्स सञ्चालन गरे । नेपालमा थोरैमात्र यस्ता स्टार्टअप होलान् जुन क्याम्पसका होस्टलबाट विना पुँजी सुरु भएकाछन् ।
होस्टलबाट सुरु भएको स्टोर करिब ६ महिना पछि औपचारिक रुपमा बुद्धनगरको एउटा कोठामा थ्रेडपेन्ट्सको अफिस खुल्यो, एनलोकेट सँगैको फ्ल्याटमा। कलेज फि भनेर घरबाट मागेको पैसा, थ्रेडपेन्ट्समा लगानी गरे, आवश्यक सरसल्लाह र सहयोग लगपोइन्टका मनोज घिमिरे र एनलोकेटका दिपेन चापागाईले दिए । एनलोकेटले आफ्नै अफिस भएको फ्ल्याटमा एउटा कोठा उनीहरुको लागि उपलब्ध गराए, इन्टरनेट, र आवश्यक टेबल कुर्सीको व्यवस्था पनि भयो । ३ जनाको खर्च, अफिसको भाडा, र इन्टरनेटको खर्च अहिलेसम्म थ्रेडपेन्ट्सले धानेको छ, भर्खरै एकजनालाई "हायर" पनि गर्यौँ, अर्डर डिस्प्याचको लागि भन्दा आशिष, आयुष र सविनको मुहारमा खुशी झल्किन्थ्यो ।
आशिषलाई अफिसमा भन्दापनि अफिस बाहिर दौडधुप गरिरहेको भेटिन्छन् । सविन र आयुष थ्रेडपेन्ट्सको डेभलप्मेन्ट र डिजाइन सम्हालछन् भने, आशिष बजार व्यवस्थापन। सुरु सुरुमा कपडा 'क्वालिटि'मा मार खाएपनि, अहिले भने कपडा चिन्न सक्ने भएकाछन् । उनीहरु गार्मेन्ट सप्लायरबाट कपडा लिन्छन्, धेरै जसो टिसर्ट डिजाइन सविन र आयुषले नै गर्छन् र प्रिन्ट गर्छन्, काठमाडौँभरि होम डेलीभरी गर्छन् केटिएम कुरियर मार्फत। पछिल्लो वर्ष पाँच हजार भन्दा बढि अनलाइन टिसर्ट बिक्री गरेका उनीहरुको फेमस डिजाइन भने 'पृथ्वी नारायण शाह'भएको डिजाइन थियो ।
आशिष, आयुष र सविन बिहान ढिलोमा नि दश बजे अफिस आउँछन्, कफी लिएर स्ट्यान्डअप मिटिङ गर्छन्, दिनको योजना बनाउँछन् र सोही अनुसार काम गर्छन् । हप्तामा एकदिन छुट्टि तोकेकाछन् तर उनीहरु सातै दिन अफिस पुग्छन्, कहिले बेलुकाको ८ बजे घर फर्किन्छन् त कहिले अफिसकै टेबुल कुर्सी पाखा लगाएर स्लिपिङ ब्याग निकालेर अफिसमै सुतिदिन्छन् । कोठाको बिचमा एउटा ठूलो टेबल छ, वरिपरि ४-५ वटा कुर्सी छन्, एक छेउमा दराज छ, उनीहरुको स्टोर रुम, साइडमा टिसर्टका डिजाइनहरु भएको फ्लेक्स टाँगिएकोछ, कुनाको इन्भर्टरले लोडसेडिङलाई चुनौती दिइरहेकोछ । अफिसमा भान्सा छैन तर 'कफी' भने जति कप पनि खान पाइन्छ ।
डिप पर्पलको कन्सर्टको निहुँमा उनीहरुलाई करिब डेढ लाख जति घाटा लाग्यो । डिप पर्पल कन्सर्टको लागि भनेर टिसर्ट बनाइएको थियो, टिकट बिक्री गरिएको थियो तर कन्सर्ट नभएपछि बनाइएका टिसर्टहरु त्यसै थन्किए । आफूले काटेको टिकटहरुको पैसा आफ्नै खल्तीबाट सबैलाई फिर्ता गरे, कन्सर्टको आयोजकले एकपैसा पनि फिर्ता दिएनन् । यसले हामीलाई धेरै कुरा सिकायो, उनीहरुको एउटै स्वर थियो ।
उनीहरुका लागि फेसबुक वरदान सावित भएकोछ, मार्केटिङ र कस्टमर सपोर्टका लागि । अधिकांश युवा विद्यार्थीहरु थ्रेडपेन्ट्सका ग्राहक छन्, सन्तुष्ट छन् त्यसैले "वर्ड अफ माउथ"बाट ग्राहक थपिने क्रम जारी छ । अब उनीहरुको चुनौती भनेको कसरी "ठूलो स्केल"मा जाने भन्नेछ, ठूलो स्केलमा जान, ठूलै लगानीको आवश्यकता पर्छ भन्ने कुरा उनीहरुले बुझेकाछन् । उनीहरु लगानीकर्ता पनि खोजी गर्दैछन् ।
थ्रेडपेन्ट्स डटकममा गएर आफूलाई मन परेको डिजाइनको टिसर्ट नेपालभरिबाट किन्न सकिन्छ वा आफैँले डिजाइन गरेको टिसर्ट पनि अर्डर गर्न सकिन्छ । टिसर्टको लागि अनलाइन मै पैसा तिर्नुपर्छ भन्ने छैन, टिसर्ट हातपरेपछि पैसा तिर्दा हुन्छ । टिसर्ट अर्डर गरेको बढिमा ३ दिन भित्र टिसर्ट ग्राहकको हात पर्छ । हाललाई काठमाडौँ बाहिरका ग्राहकले चाँही अग्रिम भुक्तानी गर्नुपर्छ, होम डेलिभरी भने थ्रेडपेन्ट्सले नै निशुल्क गरिदिन्छ । उनीहरुलाई अर्को चुनौती भनेको, नेपालमा 'स्ट्यान्डर्ड एड्रेस' नहुनु हो भन्ने लागेकोछ। बाटोहरुको नाम, घर नम्बर आदि कुराहरु व्यवस्थित नहुँदा, डेलिभरी गर्न जाँदा कहिलेकाँही हैरानी पनि खेप्नुपर्छ ।
काठमाडौँ बाहिर केही सहरहरुमा स्थानिय स्टोरहरुबाट थ्रेडपेन्ट्सका टिसर्टहरु किन्ने व्यवस्था पनि छ । तर काठमाडौँमा भने थ्रेडपेन्ट्सका टिसर्टहरु कुनैपनि स्टोरमा किन्न पाइँदैनन् र अहिले नै आफ्नै टिसर्ट स्टोर खोल्ने कुनै योजना पनि छैन । उनीहरु अनलाईनलाई नै अगाडी बढाउन चाहन्छन्, नेपालमा इन्टरनेटको पहुँच बढ्दैजाँदा "ई-कमर्श"को स्कोप पनि बढ्दैगएको देखेकाछन् ।
थ्रेडपेन्ट्स टिमलाई शुभकामना ।
थ्रेडपेन्ट्स टिमलाई हार्दिक शुभकामना ! यस्ता सृजनशील मन र जाँगरहरुलाई आउदा दिनहरुमा अझ बढी सफलता मिलोस !
ReplyDeleteत्यो Finger देश टुक्र्याउने पाजीहरुका लागि देखाको हो बोरो, तिमी हामी जस्ता देशभक्तका लागि होईन।
ReplyDelete