गुगलप्लसको प्रोफाइल र पेजमा धेरै समय देखि प्रतिक्षा गरिएको 'कस्टम युजरनेम' राख्ने सुविधा गुगलले गएराती सार्वजनिक गरेकोछ । केही चुनिएका व्यक्ति तथा ब्रान्डहरुलाई यसअघि नै आफ्नो युजरनेम राख्न दिइएको भए पनि, सम्पूर्ण प्रयोगकर्ताहरुको लागि भने गएराती देखि यो सुविधा आएको हो ।
जस्तो कि आकारपोष्ट गुगल प्लस पेज यस्तो थियो, https://plus.google.com/111373834639850968132/ तर अब युजरनेम राखिसकेपछि उक्त पेज यस्तो देखिनेछ: https://plus.google.com/+Aakarpostblog/ ! फेसबुक र ट्विटर झैँ अब गुगल प्लसको आफ्नो युजरनेम पनि अब सबैलाई सहज रुपमा सेयर गर्न सकिने भएकोछ । केही समय पहिले गुगलले गुगलप्लसलाई तपाई हाम्रो "आइडेन्टिटी" को रुपमा विकास गर्ने लक्ष्य रहेको बताएको थियो । के थाहा अबको केही वर्षपछि हामी ट्विटर र फेसबुकको युजरनेम भन्दा पनि गुगलको युजरनेम धेरै सेयर गर्छौ होला, आफ्नो बिजनेस कार्डको रुपमा।
तर गुगलप्लसमा युजरनेम बनाउन भने निम्न कुराहरु पुरा भएको हुनुपर्छ ।
१) फ्रोफाइलमा फोटो भएको हुनुपर्ने
२) कम्तिमा १० जना साथीहरुले फलो गरेको हुनुपर्ने
३) एकाउन्ट कम्तिमा ३० दिन पुरानो हुनुपर्ने
यी माथि भनिएका कुराहरु तपाईको हकमा लागु भएका छन् भने, प्रोफाइल वा पेजको माथि 'युजरनेम' राख्नुस भन्ने नोटिफिकेसन देख्न सक्नुहुन्छ ।
गुगल ह्याङ्गआउट्स एपलाई पनि अपडेट गरिएकोछ । अब एसएमएस पनि ह्याङ्गआउट्सबाटै पठाउन र पढ्न सकिन्छ ।
यसका अतिरिक्त गुगल प्लसले फोटो तथा भिडियोहरुको लागि नयाँ फिचर सार्वजनिक गरेकोछ । गुगलका अनुसार गुगलप्लसको अटोब्याकअप फिचरलाई धेरै सुधारिएकोछ । गुगल प्लसको अटोब्याकअप फिचर भनेको, तपाईले मोबाइलबाट खिच्नुभएका फोटोहरु सिधै गुगलप्लसमा स्टोर हुने फिचर हो । तपाईले गुगल प्लस एपमा यो फिचर अन गर्नुभएको छ भने, तपाईले मोबाइलबाट खिच्नुभएका फोटोहरु सिधै गुगल प्लसमा गएर स्टोर हुन्छन् ।
अब त्यही गुगल प्लस ब्याकअप फिचरलाई पनि धेरै सुधारिएकोछ । फोटोहरुलाई 'अटोमेटिक' रुपमा राम्रो बनाउने फिचर पहिले नै आएको भएपनि, त्यसमा अझै धेरै सुधार गरिएको छ भने त्यहीँ भएका फोटो र भिडियोहरुबाट भिडियो बनाउने, इफेक्ट दिने कुराहरु भने हिजो सार्वजनिक गरिएको हो ।
Comments
Post a Comment