राती ११:३० बजे लेकसाइड पोखरामा आफू बसेको होटलमा बेलुकीको खाना खाँइदैथियो । दुईजना प्रहरी मोटरसाइकलमा आएर, होटलकी दिदीलाई रुखो स्वरमा "अहिलेसम्म होटल किन बन्द गरिनस्, के हुँदैछ याँ" भन्दै हपारे । होटलकी दिदीले भनिन्, "हैन सर अब बन्द गर्न लागेको" । "अहिले फर्केर आउँदा पनि यस्तै रहेछ भने ठिक हुँदैन, छिटो बन्द गर", ती दुई प्रहरीले होटल बन्द गर्न धम्की दिँदै, छेउकै अर्को क्याफेलाई पनि धम्क्याए । होटलकी दिदीले हतार हतार सटर बन्द गरिन, हामीले पनि हतार हतार खाना खायौँ र माथि आफ्नो कोठामा गयौँ । उनीहरुको स्वर यस्तो रुखो थियो कि, जोकोहीलाई सुन्दै पनि रिस उठ्थ्यो । दुई तिन चड्कन लाइदिहाल्नुजस्तो झोक चलेथ्यो, अलिकति नरम भएर बोल्दा तिनीहरुको के जान्थ्यो ?
हामीलाई लेकसाइडका रेष्टुरेन्ट, क्याफे आदि मात्रै ११ बजे बन्दहोला, भित्रका लज र गेष्ट हाउसमा त्यस्ता 'पत्रु' नियम छैनन् होला भन्ने लागेथ्यो । तर नचाहिने कुरोमा चाँहि नियम कडा नै रहेछ ।
बेलुका बिजी बी छिरेर रमाइलो गर्दा गर्दै ११ बजेको पत्तो नै भएन, अझ साथीहरुले आफ्नो "डान्स" स्किलको तारिफ गर्दै "राजेश दाइ"कै जस्तो स्टेप भनेपछि, नउफ्री बस्न पनि सकिएन । अनि होटल पुग्दा ११:३० भयो । साझँमा पनि ब्लग हुँदै ट्विटरबाट चिनजान भएका साथि निशांकसँग एकछिन बसिएको थियो, फेवाताल हेर्दै ।
सेप्टेम्बर २७ देखि २९ (शुक्रबार देखि आइतबार) सम्म हुन गइरहेको 'स्टार्टअप विकेन्ड पोखरा'का सहभागीहरुलाई कार्यक्रमको लागि तयार गराउन हाम्रो पाँच जनाको टोली (आशिष, अनिस, संरक्षण, रितेश र म) शुक्रबार दिउँसो पोखरा गएको थियो । जिडिजी (Google Developers Group) पोखराले आयोजना गरेको "स्टार्टअप बुटक्याम्प" (GDG Pokhara Startup Weekend BootCamp) को कार्यक्रममा करिब २५ जना पोखराका विद्यार्थीहरुको सहभागिता थियो । काठमाडौँ र पोखरामा गरेको कार्यक्रममा खासै धेरै भिन्नता केही नदेखिएतापनि सहभागिता अलि कम हो कि जस्तो लाग्यो । काठमाडौँमा ह्याकाथन, बारक्याम्प, बुटक्याम्पहरु भइरहने भएपनि पोखरामा भने सम्भवत पहिलो बुटक्याम्प गराइरहेकाथियौँ हामी । काठमाडौँमा हुने जुनसुकै कार्यक्रमहरुमा पनि सँधै एउटै समूह दोहोरिरहेको जस्तो लाग्थ्यो भने पोखरामा चाँही सामाजिक सञ्जालबाट भेटिएका नयाँ साथीहरुको बाहुल्यता थियो ।
पोखरामा केही साथीहरुसँग कुरा गरिसकेपछि के लाग्यो भने, काठमाडौँमा गरिएका प्रविधी सम्बन्धी कार्यक्रमहरुलाई देशका अन्य शहरहरुमा पनि आयोजना गर्नु जरुरी रहेछ । फोस नेपाल, गुगल डेभ्लपर्स ग्रुप आदिले नेपालका पोखरा, चितवन लगायतका ठाउँमा आफ्ना कार्यक्रमहरु गरेजस्तै, बारक्याम्प, ह्याकाथन आदि कार्यक्रमहरु काठमाडौँमा आयोजना गर्ने साथीहरुले अन्य ठाउँमा कार्यक्रम गर्ने बारे सोच्न जरुरी छ ।— Aakar Anil (@aakarpost) September 21, 2013
काठमाडौँमा दुईपटक आयोजना भइसकेको स्टार्टअप विकेन्ड अब पोखरामा यही हप्ताको अन्त्यमा आयोजना हुनेछ । स्टार्टअप विकेन्डका सहभागीहरुले आफ्नो बिजनेस आइडियालाई एउटा स्टार्टअपको रुपमा ५४ घन्टाभित्र 'लन्च' (launch) गर्नेछन् । आफैँ केही गर्न चाहनेहरुका लागि स्टार्टअप विकेन्ड आफ्नो "आइडिया भ्यालिडेसन" (Idea Validation) गर्ने राम्रो अवसर हो । स्टार्टअप विकेन्ड पोखरामा सहभागी हुन यहाँ क्लिक गरेर रजिष्ट्रेसन गर्नुहोस् ।
कार्यक्रममा मैले र आशिष दाइले संयुक्त रुपमा 'स्टार्टअप विकेन्ड' को बारेमा दिएको प्रिजेन्टेसन स्लाइड यहाँ राखेकोछु ।
Comments
Post a Comment