गतहप्ता फ्रान्सेली केन्द्रमा भएको कार्यक्रममा मैले एउटा प्रश्न सोधेको थिँए, "जनयुद्धका विषयमा बनेका चलचित्रहरु किन हेर्ने वा भनौँ उमा किन हेर्ने?", उत्तर थियो "उमा 'वार मुभी' होइन तर तत्कालिन जनयुद्धका कारण उब्जिएका विभिन्न समस्याहरु मध्यको एउटा पाटोको चित्रण हो । वास्तवमा भन्ने हो भने, 'उमा' मानविय सम्बन्ध र सम्वेदना कथा हो ।नेपाल प्रहरी सेवामा रहेको दाजु र माओवादी जनयुद्धमा होमिएकी बहिनी बिचको सम्बन्धको कथा नै उमाको कथा हो।" दाजु मिलन कुँवर (सौगात मल्ल) प्रहरी सेवामा छन्, बहिनी उमा (रिचा शर्मा) प्लस टुको पढाइ पछि काठमाडौँ गएर नर्सिङ पढ्ने चाहना छ, अनि आमा (मिथिला शर्मा) बिरामी छिन्। गाउँमा सुनिल सर (प्रकाश घिमिरे) छन्, उनी क्रान्तिका कुरा गर्छन्, सामाजिक विभेदका विरुद्ध आवाज उठाउन प्रेरित गर्छन्, साहित्यका माध्यमबाट राजनैतिक चेत युवाहरूमा बाँड्ने कोशिस गर्छन् । सुनिल सरको अभियानमा सहभागी हुन, दिल्लीमा इन्जिनियरिङ पढिरहेका सुनिल सरका पुराना विद्यार्थी अनिल (प्रविण खतिवडा), सुनिल सरकै गाउँमा आउँछन् । सुनिल सर माओवादी भएको निहुँमा प्रहरीबाट मारि...