'बाँदराखुइ, ह्याँ आएर पिँढीमा बसो, अब पनि चकचक गरेको देखें भने भालेसँग थुन्दिन्छु' हामी मामाघर जाँदा हजुरबुबाको 'वार्निङ' सँधै यस्तै हुन्थ्यो। मामाघरमा हजुरबुबा, हजुरआमा र लक्ष्मी दिदी थिए। मामा माइजु 'इन्डिया' बस्नुहुन्थ्यो। हाम्रो घरबाट हाम्रो मामाघर आधि घण्टाको दुरीमा थियो, शुक्रबार हुने बित्तिकै हामी दाजुभाइ मामाघर दगुर्थ्यों। मामाघर नपुग्दासम्म हजुरबुबाको केहि याद आउँथे'न, गौँडो कट्ने बित्तिकै हजुरबुबाको चर्को अवाज सुनिन्थ्यो अनि हामी दाजुभाइका पाइला रोकिन्थे। 'यी बाँदराचोद आए पछी घराँ कैल्यै शान्ति'सँ बस्न दिन्नन्, चकचक चकचक मात्रै गर्छन'। यस्ता गाली सुनेपछि हामीलाई हजुरबुबा पटक्कै मन पर्दैनथ्यो। उहाँको बोली साह्रै खरो थियो, बोली सुन्ने बित्तिकै हामी डरले तैं चुप मै चुप हुन्थ्यौं अनि पिँढीमा बसेर उड्कुसी मुड्कुसी खेल्थ्यौँ। हेर्दा पनि निकै नराम्रो हुनुहुन्थ्यो हाम्रो हजुरबुबा, कालो न कालो हुनुहुन्थ्यो, कहिल्यै हाँस्नु हुँदैनथ्यो, खाली बाँदराखुइ र बाँदराचोद भन्दै गाली गर्नुहुन्थ्यो। केट'केटी हुँदा हामी त्यो भनेको के हो बुझ्दैनथ्यौं, ...