विश्व मानचित्रमा नेपाल अत्याधिक भ्रष्टचार हुने मुलुकहरु को सुचीमा पर्दछ । भ्रष्टचारको यो काहालीलाग्दो सुचाङ्कलार्इ घटाउने सबैभन्दा सक्रिय भूमिका न्यायधीस एवं प्रहरी प्रशासनले खेल्नुपर्नेहुन्छ । जानकारहरुका अनुसार नेपालमा यिनै न्यायधीस र प्रहरी बढि भ्रष्ट छन् । यहि कारण भ्रष्टचारसम्बन्धी जतिसुकै कडा कानुन ल्याए पनि भ्रष्टचार कम हुन सकेको छैन । यद्यपि यहि भ्रष्टहरुका बीचमा केहि यस्ता न्यायधीस एवं प्रहरी अधिकृतहरु छन्, जसले विधिको शासन चलाउने प्रयास गरिरहेका छन् । यहाँ नेपाल प्रहरीका सबैभन्दा चर्चित प्रहरी अधिककृत एसएसपी रमेश खरेलको भित्री पाटो खोलिँदैछ, जसले १५ वर्षको कार्यकालमा कहिलै कुनै शक्तिको सामुन्ने झुकेनन्, न आफैँ कुनै गलत क्रियाकलापमा संलग्न भए । एसएसपी खरेलकी जीवनसाथी रञ्जु खरेल यसको साक्षी छिन्। श्रीमती रञ्जुले अश्विनी कोर्इरालासंग आफ्ना श्रीमान् रमेश खरेलको भित्री पाटो खोलेकी छिन् ।
आफूलार्इ रमेश खरेलको श्रीमतीका रुपमा मुल्यांकन गर्दा कस्तो महसुस हुन्छ ?
एउटा लक्ष्मण रेखा कोरिन्छ । म यस्तो व्यक्तिको श्रीमती हुँ, जसले कहिलै गल्ति गर्दैन भन्ने जनमानसमा छाप परेको छ । यसले मेरो छाति चौडा हुन्छ ।
उहाँ साच्चैको इमान्दार प्रहरी हो कि मानिसमा त्यस्तो छाप मात्र परेको हो ?
नेपाल जस्तो भ्रष्ट व्यक्तिहरुको बोलावाल भएको मुलुकमा इमान्दार प्रहरीको छाप बनाउन कति मुस्किल छ होला । जसको जति नाम हुन्छ, सानो कुराले पनि त्यसको त्यो भन्दा बढि बद्नाम हुन्छ । उहाँले यसरी काम गर्नुभयो कि आज रमेश खरेल तर्फ सबैका आँखा सोझिएका छन्। यसमा दुर्इथरी मानिस छन्, पहिलो मिडिया र आम मान्छे, जसले रमेश खरेलले गल्ति नगरोस् भनेर चिन्ता गर्छन् । अर्को उहाँका समकालीन एवं इर्ष्या गर्ने व्यक्तिहरु जसले रमेशले सानो गल्ति गरे पनि हुन्थ्यो भन्नेहरु छन् । आखिर यस्तो वातावरण किन पैदा भयो भने, यसअघि कसैले पनि यस्तो ‘स्ट्रेट फर्वाड’ काम गर्ने हिम्मत गरेन ।
रमेश खरेलको सानो कुरामा पनि कम्प्रोमाइज नगर्ने स्वभावका कारण उहाँको बढुवा ढिलो भयो भन्ने शुभचिन्तकहरुको भनाइ छ, कस्तो लाग्छ ?
मलार्इ पनि त्यस्तै लाग्छ । कानुनका नजरमा उहाँका लागि सबै व्यक्ति समान हुन् । एकपटक प्रहरी प्रमुख रमेश चन्द ठकुरीको बहिनी ज्वाँर्इलार्इ नै थुनिदिनु भयो । ठमेलको रेष्टुराँमा सानो-तिनो के गलफत्ती भएको थियो, उहाँले थुन्ने आदेश दिनुभयो । पछि थाहा भयो, प्रहरी प्रमुखकै ज्वाँर्इ । रातभरी माथिबाट फोन आइरह्यो, तर उहाँले नियम अनुसार गर्छु भन्दै टारिदिनु भयो । सक्रिय राजतन्त्र भएका बेला तत्कालीन राजाका ज्वाँर्इ राजबहादुर सिंह क्यासिनोमा जुवा खेल्दै गरेको फेला पार्नुभएछ । ठूला मान्छेले अरुलार्इ नियममा हिड्न सिकाउनु पर्नेमा आफै नियम मिच्ने भन्दै भन्दै थुनिदिनु भयो । उहाँले चाहेको भए ठूला मान्छे हुन्, एकपटक सम्झाएर छाड भन्न सक्नुहुन्थ्यो, तर मान्नु भएन । यी र यस्ता घटनाले बढुवामा समस्या भएका हुन् कि भन्ने लाग्छ । तर उहाँ यस्ता कुरामा विश्वास गर्नुहुन्न ।
कुनै काम गरिदिनु पर्यो भनेर माथिबाट सिफारिस त पक्कै हुन्छ होला ?
पहिले धेरै नेता, प्रहरी अधिकृत एवं अरु व्यवसायिक व्यक्तिले प्रयास नगरेका होइनन् । जव यो व्यक्तिबाट कुनै काम हुँदैन भन्ने बुझ्न थाले, सिफारिसका अनुरोध आउनै छाडे । अहिले उहाँको छवि नै यस्तो भैसक्यो कि कसैले हिम्मत नै गर्दैनन् । मलार्इ माथिल्लो र कतिपय समकालीन प्रहरीले भाउजु सधैंभरी यसरी चल्दैन भनेर सम्झाउनु हुन्छ । म हुन्छ, सम्झाउँछु, विचार गर्छु भनेर कुरा सुन्छु, तर उहाँलार्इ केहि पनि भन्दिन । भनेर अर्थ पनि छैन ।
रमेश खरलेलार्इ विभिन्न किसिमका अपराधिक समूहले थ्रेट गरेको छ भनेर थाहा पाउनु भएको छ ?
उहाँले अफिसका कुनै कुरा पनि मलार्इ सेयर गर्नुहुन्न । सायद, टेन्सन हुन्छ भनेर होला । एकपटक म उहाँको अफिसको गाडी चढेर न्युरोड गएकी थिएँ । म सामान किन्न पसलभित्र पसें, उहाँले पर्खन्छु भन्नु भएको थियो, तर पसलबाट फर्किदा उहाँको गाडी देखिन । इमान्दार मान्छे, श्रीमातीलार्इ छाडेर अफिस जानुभयो होला भन्ने ठानेर घर फर्किएँ । उहाँ करिब एक घन्टापछि उहाँ आत्तिदैँ घर आउनु भयो । मलार्इ गाली गर्नुभयो, किन खवरै नगरी हिडेको भनेर । पछि थाहा पाएँ, काठमाडौंका केहि डनहरुले रमेश खरलेको परिवारलार्इ छाड्दिन भनेका रहेछन् । त्यहि भएर उहाँले आफ्नै गाडीमा मलार्इ हिँडाउनु भएको रहेछ । यस्तो बेलामा भने दु:ख लाग्छ । पहिले नै मलार्इ थ्रेट छ भनेर भनिदिएको भए अनावश्यक टेन्सन हुने थिएन । यस्ता घटना माओवादी व्दन्दकालमा, विभिन्न आन्दोलनमा धेरैपटक भएका छन्, तर उहाँको बानी फेरिएको छैन, फेरिदैन पनि ।
(भोलि ३ गते बुधबार, असोजमा सार्वजनिक हुन लागेको पत्रकार अश्विनी कोर्इरालाको अन्तवार्ता संग्रह “उनी” बाट साभार गरिएको, एसएसपी रमेश खरेलकी श्रीमती रञ्जु खरेलसँग लिइएको अन्तरवार्ताको संम्पादित अंश । )
विगत १५ वर्ष देखि कान्तिपुर पब्लिकेसन्सको नारी र साप्ताहिकमा अनुभब बटुल्नुभएका पत्रकार कोर्इराला हरेक हप्ता साप्ताहिकमा फरक पात्र र प्रस्तुती सहित देखा पर्छन् । विगत १० वर्ष यता साप्ताहिकमा प्रकाशित तिनै अन्तवार्ताहरुलार्इ बटुलेर कोर्इरालाले पुस्तकको रुप दिएका छन् । नयाँ तथा पुराना अन्तवार्ताहरुमा केही थपघट गरिएको छ । फरक पृष्ठभुमि, पात्र र परिवेशबाट प्रतिनिधित्व गरेका ४० जना महिलाहरुसँगको रोचक कुराकानी यस पुस्तक “उनी”मा पढ्न सकिन्छ ।
Comments
Post a Comment