अभिभावक छोराछोरीको बारेमा एककिसिमको सपना देख्छन्, अनि छोराछोरी आफ्नो भविष्यको बारेमा बेग्लै सपना बुनिरहेकाहुन्छन् । दुई पुस्ताले आ-आफ्नै किसिमले भविष्यको सपना बुन्छन्, अनि दुवै आफूले चाहेको होस् भन्ने चाहन्छन् । तर आफूले सोचेको र भनेको जस्तो नहुँदा ‘फ्रस्ट्रेसन’ को शिकार बन्न पुगिन्छ । आफ्ना सपना र चाहनाहरु अरुले नबुझिदिँदा युवाहरुमा उत्पन्न ‘फ्रस्ट्रेसन’ र त्यसले निम्त्याउने परिणाम नै चलचित्र ‘अपवाद’को कथासार हो।
चलचित्रको मुख्य पात्र सुयोग (राजबल्लभ कोइराला) व्यवस्थापन (Managemet) को विद्यार्थी भएपनि उसको चाहना एउटा सफल लेखक बन्ने छ । उसको बुवा (रवि गिरी) को चाहना छ, म्यानेजमेन्ट पढेको छोरोले कुनै ठूलो कम्पनीमा जागिर खाओस् । उसकी आमा (विजया गिरी) को चाहना छ, छोरोले चाँडै बिहे गरिदेओस् । सुयोगकी साथी सुनन्दा (निशा अधिकारी)को चाहना छ, सुयोगले उसको बुवाले भनेको जस्तै गरिदियोस्, अनि बचेको समयमा आफ्नो साहित्यको सोख पुरा गरोस् । बुवाको जागिर खानुपर्ने अडान अनि आफ्नो लेखक बन्ने चाहना बिच अन्तरसंघर्ष चर्किएपछि, सुयोग युके जाने चक्करमा लाग्छ । त्यसै समयमा युकेका धेरै कलेजहरु कालोसूचीमा परेपछि, झसंग हुन्छ, यदि आफ्नो कलेज नि परेको भए, घर परिवार के हुन्थ्यो भन्ने कुराले उसलाई सताउँछ । यस्तै कुराहरु सोच्दै गर्दा, उसमा ‘फ्रस्ट्रेसन’ (frustration) झन झन् बढ्दै जान्छ र आत्महत्या गर्ने नियतले खोलामा हामफाल्छ । संयोग भनौँ, उसलाई खोलाले बगाएर कुनै अन्जान ठाउँमा पुर्याइदिन्छ, जहाँ कोही मान्छे छैनन्, कोलाहाल छैन, जहाँ उसका सपनाहरुमा कोही तगारो बन्न सक्दैनन् । अन्जान जंगलमा सुयोगले के के गर्छ, उसले जंगलमा बाँच्न के कति संघर्ष गर्नुपर्छ, उसको सपनाहरु पुरा हुन्छन् वा हुँदैनन्, उसले जंगलमा के पाठ सिक्छ, खुशी भनेको के हो, दु:ख भनेको के हो आदि यावतकुराहरु जान्न भने ‘अपवाद’ हेर्नै पर्ने हुन्छ ।
चलचित्रको सुरुमै ‘अपवाद’ (Apabad) अंग्रेजी चलचित्र ‘कास्ट वे’ (Cast Away) लगायतका चलचित्रबाट प्रभावित छ भनेर उल्लेख गरिएकोछ । केही कुराहरु उक्त चलचित्रबाट प्रभावित भएको छ भन्नेकुरा स्विकार गरिएकोले, हेर्ने दर्शकहरुलाई त्यही कुराले सुरुमै प्रभावित पार्छ । सत्र थरि चलचित्रबाट चोरेर, जोडजाड पारेर चलचित्र बनाउने नेपाली चलचित्रकर्मीहरु आफ्नो चलचित्र विल्कुल फरक भएको र कहिँ कतैबाट ‘कपि’ नगरिएको जोडतोडका साथ प्रचार गर्ने सन्दर्भमा चलचित्र निर्देशक ‘सुवास कोइराला’ आफैँमा ‘अपवाद’ देखिएकाछन् । अपवादको यसप्रकारको ‘डिस्कोलजर’ वा भनौँ प्रस्ट विचारलाई हामीले स्वागत गर्नैपर्छ ।
चलचित्रका मध्यान्तर अघिका जंगलवरपरका केही दृश्यहरु ‘कास्ट वे’ (Cast Away) मा मिल्न गएकाछन् तर ती कुराहरु सबै प्रासांगिकछन्, नक्कलकै लागि नक्कल गरिएको भन्ने कहिँ लाग्दैन । यो एउटा चलचित्रको विशेषता हो । चलचित्रमा देखाइएको फुटेको हाँडि देखि, माछा मार्ने बल्छि, मकैको दाना र जंगलमा आत्महत्या गर्ने क्षणमा ती सबै कुरा कहाँबाट कसरी आएकाछन् भन्ने स्पष्ट देखाइएकोछ । चलचित्रमा यो स्थान भनेर किटान नगरिएको भएपनि, सुयोग कोशीहरुले घेरिएको टापुमा पुगेकोछ देखाइएको छ र यो कुरालाई प्रमाणित गर्न निर्देशक सफल रहेकाछन् । चलचित्र जहाँबाट सुरु हुन्छ, चलचित्रको मध्यान्तर त्यहिँ पुगेर रोकिन्छ, यसअर्थमा कथालाई ‘फ्ल्यासव्याक’मा देखाइएको छ । चलचित्रको मध्यान्तर सम्ममा चलचित्रले उठान गरेको ‘ईश्यु’लाइ देखाइएकोछ, अनि चलचित्रको दोश्रो भागमा ती समस्याहरुलाई कसरी बुझिन्छ, कसरी समाधान गर्ने प्रयास गरिन्छ, मान्छेले कसरी बुझ्छन्, मानविय संवेदना कस्तो हुन्छ, खुशीहुँदा नि किन खुशी हुन सकिँदैन भन्ने विषयहहरु समावेश गरिएको छ ।
चलचित्र समिक्षक र चलचित्र निर्देशकहरुले ‘अपवाद’लाई कसरी मुल्यांकन गर्छन् त्यो त थाहा छैन तर एक दर्शकका हिसावले हेर्दा चलचित्र उत्कृष्ट बनेकोछ । चलचित्रको ‘क्यामरा वर्क’ देखि संगित, कथावाचन शैली सबै राम्रो छ । चलचित्रमा राखिएको गितहरु कर्णप्रिय छन् । चलचित्रमा अब यो नै हुन्छ भनेर पहिले अनुमान लाउन गाह्रो नै पर्छ । जस्तो कि चलचित्रमा सुयोगले जंगलमा आत्महत्या गर्न लाग्दा, हलका दर्शकहरुले आ-आफ्नै अडकल अनुमान लगाइरहेका थिए । कोही भन्दैथिए, डोरी चुँडिन्छ होला, कोही भन्दैथिए रुखको हाँगा भाँचिन्छ होला तर दर्शकले सोचेजस्तो भएन । चलचित्रको सुरुमै सुयोगले खोलामा हामफालेको कुरा रहेकोछ, तर देखाउनको लागि सुयोगले हामफालेको कुरा कहिँ देखाइएको छैन तर पनि दर्शकले बुझ्छन् सुयोगले हामफाल्यो !
थोरै पात्रहरु लिएर बनाइएको चलचित्रमा सबै आ-आफ्ना रोलमा जमेकाछन् यति हुँदा हुँदै पनि एकदुई ठाउँमा अझ राम्रो गर्न सकिन्थ्यो भनेजस्तो लाग्छ । सुनन्दाले सुयोगको डायरी पढ्दा, सुयोगले आफूलाई मन पराउँथ्यो भन्ने त थाहा पाउँछिन् तर त्यसघटनामा एउटा पात्रको प्रेमिकाको मनस्थिति कस्तो हुन्छ भन्ने कुरा प्रस्ट रुपमा देखाउन सकिएको छैन । चलचित्रको एउटा गितमा फेसबुक र ट्विटरको पनि चर्चा छ, सायद आफूले चलाउने भएका कारण गितमा सुयोगले गाएको होला तर न सुयोगको कोठामा कम्प्युटर देखिन्छ न कहिले फेसबुक र ट्विटर चलाएको भेटिन्छ । मेरो भन्नु, गितमै फेसबुक र ट्विटर जोडिसकेपछि, कम्प्युटर पनि कोठाको कुनामा देखाइएको भए अझ राम्रो हुन्थ्योहोला भन्ने हो । सुयोगको कथा भन्ने साहित्यिक शैली, गहन संवादमा खोट लगाउने ठाउँ छैन तर रोएको दृश्यमा भने कता कता नमिलेको देखिन्छ । तर राम्रा कुराहरुले साना तिना नराम्राकुराहरु ढाकदिन्छ भनेझेँ, यी साना मसिनाकुराहरुले चलचित्रको स्वादमा कुनै नराम्रो असर पारेको छैन ।
समग्रमा चलचित्र उत्कृष्ट बनेको छ! नेपाली चलचित्रको क्षेत्रमा यो एउटा ‘अपवाद’ बनेर रहनेछ । कास्टवेबाट प्रभावित छ रे भनेकै भरमा अपवाद हेर्न जाउँ कि नजाउँ, भन्ने दोधारमा हुनुहुन्छ भने, मेरो सुझाव छ, हलसम्म गएर चलचित्र हेर्दा हुन्छ । चलचित्र हेरेर, बेक्कार पैसा र समय खर्च गरेछु भनेर, चुक्चुकाउनु पर्दैन । नेपाली चलचित्रलाई (Nepali Movie) माया गरौँ भन्ने ओठेभक्ति देखाउन मात्रै चलचित्र हेरौँ भनेको होइन, नेपाली चलचित्रमा आएको परिवर्तन, उठान गरेको विषयवस्तु, प्रस्तुती आदिका कारणले चलचित्र राम्रो भएकोले, चलचित्र हेरौँ भन्ने आग्रह हो । चलचित्र अपवादलाई हार्दिक बधाइ तथा शुभकामना ।
Promo of Ababad [Official Trailer]
Movie : Apabad
Director : Subash Koirala
Actors : Raj Ballav Koirala, Nisha Adhikari, Rabi Giri and Bijaya Giri
Cinematographer : Sushan Prajapati
Editor : Raju Dhungana
Music Director : Ujjwal Meghi Gurung
Lyricist : Ujjwal Meghi Gurung
Disclosure: I’m not associated with Nepali Movie Apabad.