नेपालको कृषि क्षेत्रमा नयाँ क्रान्ति - बिजुली र फ्युलविना पानी तानेर सिँचाइ गर्ने प्रविधि विकास गरिदैं
विश्व खाद्य कार्यक्रम (World Food Program – WFP) को अनुसार भोकमरी (hunger) विश्वको सबैभन्दा ठूलो समाधान गर्न सकिने समस्या हो ! करिब १० करोड मानिसहरु अहिले खाद्यान्नको अभावमा भरपेट खान पाइराखेका छैनन् । क्लाइमेट चेन्ज (Climate Change) र बढ्दै गरेको जनसंख्याको कारणले गर्दा सन् २०५० सम्ममा यो संख्या दोब्बर भएर २० करोड पुग्ने अनुमान गरिएकोछ । यो समस्याको तत्काल समाधानको लागि विभिन्न किसिमका खाद्यान्न सहयोग कार्यक्रमहरु सञ्चालन भएपनि यसको दिर्घकालिन समाधान भने खाद्यान्न उत्पादन वृद्धि गर्नु नै हो । राम्रो सिँचाइ सुविधा उपलब्ध गराउन सके, आकाशे पानीमा भर परेर गरेको खेती भन्दा दुई देखि पाँच गुना सम्म बढि खाद्यान्न उत्पादन गर्न सकिन्छ ! तर धेरै जस्तो विकसित देशमा पानीको समस्या भएकोले सिँचाइ सुविधा उपलब्ध गराउन त्यति सजिलो भने छैन ।
यस्तै खाद्यान्नको समस्या नेपालले पनि भोगिरहेकोछ । नेपाल खाद्यान्न आयात गर्ने देशहरु मध्येमा परे पनि अरु देश जस्तो सुख्खा छैन, नेपालमा प्रशस्त खोलानाला छन्, नेपाल जलश्रोतमा धनि छ । तर नेपालको भौगोलिक वनावटको कारणले गर्दा विशेष गरी पहाडी भूभागमा सिँचाइ सुविधा पुर्याउन गाह्रो छ । अहिले नेपालको करिब २७ प्रतिशत खेतियोग्य जमिन मात्र वर्षभरि सिञ्चित छ। पहाडी र हिमाली क्षेत्रमा यो परिणाम अझ कम भएर ४.५ प्रतिशत मात्र छ। नेपालको कुल आम्दानीको ४० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेकोछ भने ७६ प्रतिशत परिवार खेती किसानीमा निर्भर छन् । यति हुँदा हुँदै पनि समस्यालाई भिन्न दृष्टिबाट हेर्दा, अवसर त्यहीँ नै लुकेको हुन्छ भने झैँ, नेपालको पहाडी भूभागको लाभ उठाएर सिँचाइ सुविधा राम्रो पार्ने अवसर पनि छ ।
हामीले अहिले विकास गरिरहेको प्रविधिले खोलाको बेगलाई उपयोग गरेर पानी पम्प गरेर सिँचाइ गर्न सकिन्छ । हामीले विकास गरेको यो प्रविधिले करिब ३५ मिटर उचाइ सम्म विना कुनै बिजुली र फ्युल, पानी पम्प (तान्न) सकिन्छ । “वर्षा पम्प” (Barsha Pump) नामाकरण गरिएको यो प्रविधि करिब १५ हजार रुपैयाँमा स्थानियस्तर मै तयार गर्न सकिन्छ । यसको बजार मूल्य भने २० देखि ३० हजार रुपैयाँ सम्म पर्न आउँछ, जुन लगानी किसानहरुले एक वर्षमा नै उठाउन सक्छन् । सिँचाइ सुविधाबाट बढेको खाद्यान्न उत्पादनले किसानहरुको लगानी एक वर्ष भित्र उठ्छ र यस्तो सिस्टम किसानहरुले सेयर गरेर पनि उपयोग गर्नसक्छन् ।
यस्तो प्रविधिमा सञ्चालन खर्च (Operating Cost) नलाग्ने भएकोले, डिजेल पम्पहरु भन्दा सस्तो पर्न आउँछ (डिजेल पम्पको लगानी उठाउन, एक किसानलाई १० वर्ष सम्म लाग्नसक्छ) । त्यसै गरि पहाडी भूभागमा नहर बनाउन र मर्मत सम्भार गरिराख्न निकै खर्च लाग्ने गर्छ । पहाडी क्षेत्रका नहर व्यवस्थापन खर्च, वर्षा पम्पको भन्दा १० गुणा सम्म बढि पर्छ । सन् २०२५ सम्ममा नेपालको जनसङ्ख्या ४ करोड १० लाख पुग्ने अनुमान गरिएकोछ र खाद्यान्न माग अहिलेको भन्दा दोब्बर हुनेछ, यस परिवेशमा खाद्यान्न उत्पादन वृद्धि गर्नको लागि यो प्रविधि लाभदायक मात्र नभइ, नितान्त जरुरी पनि छ ।
स्थानिय जनशक्तिको प्रयोग गरेर देश भित्रै बनाउन सकिने र यसको रेखदेख र मर्मतसम्भार किसानहरुले नै गर्न सक्ने भएकोले यो प्रविधिको थप सामाजिक र आर्थिक महत्व छ । कुनै पनि फ्युलको प्रयोग गर्नु नपर्ने भएकोले, वर्षा पम्प वातावरण मैत्री छ र कार्वन व्यापारको लागि उपयुक्त प्रोजक्ट पनि हुनसक्छ । डिजेल पम्पको सट्टा ‘वर्षा पम्प’को प्रयोग गरेर नेपालको पहाडी भूभागमा सिँचाइ गरेमा वार्षिक रुपमा ४० हजार मेट्रिक टनसम्म कार्वनडाइअक्साइड (CO2) उत्पादन कम गर्न सकिन्छ ।
अक्विष्टा (aQysta) ले के गर्छ?
अहिले नेदरल्याण्डमा रहेर अक्विष्टाले वर्षा पम्पको ‘डिजाइन’ र ‘डेभ्लपमेन्ट’ गरिरहेकोछ । १८ औँ शताब्दी देखि थाहा भएको तर अहिलेसम्म विश्वमा कहिँ पनि व्यवसायिक रुपमा निर्माण नगरिएको ‘स्पाइरल पम्प’मा कही परिवर्तन गरेर ‘वर्षा पम्प’को निर्माण गरिएकोछ । अक्विष्टाले हालसम्म नेदरल्यान्डमा दुईवटा ‘बिजनेस प्लान’ प्रतियोगिता जितिसकेकोछ र अहिले फिलिप्स इनोभेसन अवार्ड (Philips Innovation Award) र बिई प्रोजेक्टको फाइनल राउन्डमा प्रतिस्पर्धा गर्दैछ ।
पुल्चोक क्याम्पसको ‘मास्टर अफ साइन्स इन टेक्नोलोजी एन्ड इनोभेसन म्यानेजमेन्ट’ (Master of Science in Technology and Innovation Management – MSTIM) कार्यक्रमबाट सुरु भएको यो आइडियालाई अक्विष्टाले निरन्तरता दिएकोहो । अक्विष्टाले रोटरी क्लब, ललितपुर सँगको सहकार्यमा आउँदो अगष्टमा भैँसेपाटिमा यो प्रविधि परिक्षणको रुपमा जडान गर्ने भएकोछ ।
‘स्पाइरल पम्प’ प्रविधि बाहेक ‘पिस्टन पम्प’ प्रविधिमा पनि अक्विष्टाले काम गरिरहेकोछ र दोश्रो प्रोडक्टको रुपमा ठूलो क्षमताको सिस्टम बनाउने लक्ष्य राखेकोछ । नेपाल बाहेक लाओस, कम्बोडिया, मेक्सिको जस्ता देशहरुमा पनि यसप्रकारको प्रविधिको खाँचो रहेकोछ ।
Philips Innovation Award को फाइनलमा “वर्षा पम्प”
पहाडी भूभागमा सिँचाइ गर्ने उत्तम प्रविधि मानिएको वर्षा पम्प अहिले Philips Innovation Award को फाइनलमा पुगेको छ । यस प्रतियोगिताबाट जितेको पैसाले रोटरी क्लब सँग मिलेर भैँसिपाटीमा आउँदो अगस्टामा सिस्टम इन्सटल गरिनेछ । तर प्रतियोगिता जित्नको लागि भने प्रतिस्पर्धिहरुको बिचमा भोटको गणना हुने भएकोछ । यदि तपाईलाई यो प्रविधिले नेपालले आफ्नो समस्यालाई आफ्नै अवसर प्रयोग गरेर समाधान गर्न सक्छ भन्ने लाग्छ भने यो लिंकमा गएर यस प्रोजेक्टलाई भोट (लाइक) गर्न सक्नुहुन्छ ।
- प्रताप थापा
(लेखक थापा, वर्षा पम्पको अध्ययन, अनुसन्धानमा संलग्न छन् !)
फिलिप्स इनोभेसन अवार्डको फाइनलमा पुगेको अक्विष्टाको वर्षा पम्पलाई भोट गर्न आग्रह गर्दछु ! http://phia.nl/english/?page_id=259