चलचित्र किन हेरिन्छ? भन्ने कुराको निश्चित जवाफ म सँग छैन ! कहिले के बहानामा हेरिन्छ, कहिले के बहानामा हेरिन्छ ! कहिले फ्लप भएको चलचित्र पनि राम्रो लाग्छ, कहिले अत्याधिक सफल भएको चलचित्र पनि मन पर्दैन ! कुनै चलचित्रको प्रोमो हेरेर, चलचित्र हेर्न जाउँ जाउँ लाग्छ भने कहिले आफूलाई मनपर्ने कलाकारले अभिनय गरेकोछ भनेर हेर्न गइन्छ !
भर्खरै पनि हलसम्म पुगेर नेपाली चलचित्र ‘लुट’ दोहोर्याएर हेरियो ! नेपाली चलचित्र कि त टिभीमा आउँदा कहिलेकाँही हेर्ने गर्छु, कि त आफूलाई पहिले नै मन खायो भने मात्र हलसम्म गएर हेर्छु ! टिभीमा पनि पुराना नेपाली चलचित्र आयो भने मात्र हेर्ने गर्छु, बिच तिरका चलचित्र खासै हेर्दिन र हेर्न मन पनि लाग्दैन ! नेपाली मात्र होइन, नब्बे दशकको हिन्दी चलचित्र पनि खासै हेर्न मन लाग्दैन ! कि त पुराना हिन्दी चलचित्र हेर्छु, कि त नयाँ हेर्छु ! अहिले पनि पुराना हिन्दी चलचित्र खोजेर हेर्छु, अझ राज कपुर, गुरु दत्तको चलचित्र त खोजी खोजी नै हेर्छु, त्यसबाहेक अमोल पालेकरका कमेडी चलचित्र पनि निकै मन पर्छ !
नेपाली चलचित्रको हकमा भने, अहिले बन्ने नेपाली चलचित्र भन्दा पहिलेका चलचित्र नै मनपर्छ ! माईतीघर अहिले पनि उत्तिकै राम्रो लाग्छ ! यसो भन्दैमा अहिलेका नेपाली चलचित्र हेर्दै नहेरिएको भने होइन, तर पनि हिन्दी र अंग्रेजी चलचित्रको दाँजोमा हलसम्म पुगेर नेपाली चलचित्र विरलै हेर्ने गरिएकोछ, यद्दपी नेपालमा बर्षैपिच्छौ दर्जनौँको सङ्ख्यामा चलचित्रहरु बन्ने गरेकाछन् ।
विगत २ वर्षको अन्तरालमा केही नेपाली चलचित्रहरु पनि हेरियो, कुनै चलचित्र “हिट” सावित भए भने, कुनै चलचित्र राम्रो चलेनन् ! कुनै चलचित्र राम्रो लागे, कुनै चलचित्र बेक्कार हेरिएजस्तो लागे! कुनै चलचित्र हेर्छु भन्दा भन्दै पनि हेरिएन, कहिले समय मिलेन, कहिले रिभ्यु राम्रो लागेन !
सायद डेढ/दुई वर्ष पहिले मनोज पण्डित निर्देशित ‘दासढुंगा’ हेरेको थिँए ! दासढुंगा व्यापारिक रुपमा सफल भयो भएन, कतिलाई मन पर्यो, कतिलाई मन परेन आफ्नो ठाउँमा छ ! तर पनि मैले हेरेका र मलाई राम्रो लागेको चलचित्र मध्ये ‘दासढुंगा’ पनि हो । कमरेड मदन भण्डारीको निधन हुँदा म सानो ५/६ वर्षको फुच्चे थिँए, त्यसबेलाको नेपाल टिभीको समाचारको दृश्यमा पार्टिको झण्डा ओढाएको झल्याक झुलुक, कता कता याद आउँछ ! अनि कहिलेकाँही कसैको घरमा जाँदा क्यासेटमा दोहोरी गित घन्किएको हुन्थ्यो, मुङगलिनबाट हिँडेको गाडि, अम्बर लामाले त्रिशुलीमा हाल्दियो, यस्तै यस्तै के के शब्द थियो ! आफूले अलि बुझ्ने हुँदा, दासढुंगा काण्ड पुरानो भइसकेको थियो र बुझ्ने प्रयास पनि गरिएन !
अपिल विष्टको निर्माणमा मनोज पण्डितले ‘दासढुंगा’ बनाउनु भयो ! मलाई चलचित्रको अभिनेता, निर्देशक सँग कुनै सरोकार थिएन, यद्यपी अनुप बराल, सौगात मल्ल भएका कारण केही फरक होला, अभिनयका हिसावले भन्ने लागेको थियो ! मलाई ईतिहासबारे जान्नु थियो, एक हिसाबले दासढुंगा मेरो लागि नयाँ थियो, अघि पछिका कथा थाहा थिएन, मात्र थाहा थियो, मदन भण्डारीको निधन जिप दुर्घटनामा भयो, अम्बर लामाको केही वर्ष पहिले हत्या गरियो! दासढुंगा हेर्नुको लोभ भनेको, इतिहासका केही कुरा जान्नु थियो ! दासढुंगाबारे केही कुरा थाहा पाइयो, अत: मेरो लागि यो चलचित्र राम्रो सावित भयो ! त्यसमाथि चलचित्रमा अभिनय, निर्देशनको हिसाबले पनि राम्रो थियो ! मेरो जस्तै कौतुहलता हुनेले दासढुंगा हेर्नुपर्छ भनेर हेरे होलान्, बाँकीले के हेर्नु यस्तो फिल्म भनेहोलान् ! दर्शकले यही हेर्छन् भन्न कठिन छ तर पनि मेरा लागि यो राम्रो र हेर्नै पर्ने चलचित्र हो !
त्यसपछि सायद मैले ‘ब्याच नम्बर १६’ हेरेँ ! ब्याच नम्बर १६ को प्रोमो, त्यसमाथि त्यस चलचित्रको ‘वेवसाइट’ बाट प्रभावित भएर, चलचित्र राम्रो नै होला भन्ने अनुमान गरेर हेर्न गएँ ! उक्त चलचित्रमा मलाई, कथा कस्तो छ, सन्देश के दिन्छ भन्ने कुरा हेर्नु थिएन ! मलाई ब्याच नम्बर १६ हेर्नु थियो, कारण त्यसको प्रोमो फरक थियो, फिल्म पढेर आएका पिताम्वर पाण्डेले निर्देशन गरेका थिए ! पुरातन शैलीभन्दा अलि पृथक तरिकाबाट चलचित्र निर्माण गरिएको जस्तो लागेको थियो, त्यो समयमा यो चलचित्रको धेरै कुराकानी हुने गरेको थियो ! अत: यो चलचित्र म नेपाली चलचित्रले ‘टेक्निकल्ली’ कति प्रगति गरेछ, कसरी निर्माण गर्दा रहेछन्, संवादहरु कति सरल छन्, अभिनय कत्तिको छ भन्ने हिसावले हेर्न गएको थिँए !
चलचित्र चलिसकेपछि, प्राय:ले यो चलचित्रले झूक्यायो, झुर भनेर कमेन्ट गरे, तर पनि आफ्नो लागि भने यो चलचित्र राम्रो नै लाग्यो ! ‘टेक्निकल्ली’ मैले सोचेँ भन्दा राम्रो पाएँ ! नायक ‘अर्पण थापा’को भविष्य राम्रो छ झैँ लाग्यो ! अहिले पनि प्रायले यो चलचित्रलाई राम्रोको कोटिमा राख्दैनन् तर मेरा लागि भने यो पुरातन शैलीको चलचित्र भन्दा फरक थियो ! कथा जति फितलो भएपनि, जति वटा निर्देशकिय कमजोरी भएपनि, कति हुनै नसक्ने कुरा भएपनि मलाई आम नेपाली चलचित्र भन्दा राम्रो लाग्यो, मैले खूलेर यो चलचित्रको प्रशंसा गरेँ !
‘अर्पण थापा’को अभिनयबाट प्रभावित भएर, साथै प्रोमो र रिभ्यु पनि राम्रो लागेर ‘मुर्रे केर’को चलचित्र ‘सिक सिटी’ हेरियो ! त्यतिबेला चर्चै चलेको थियो, ड्यानी बोयलले ‘स्लमडग मिलिनयर’ मार्फत मुम्बईको अर्को पाटो देखाए, त्यसरी नै मुर्रे केरले ‘सिक सिटि’ मार्फत काठमाडौँको अर्को पाटो उदाङ्गो पार्छन् ! ठमेलको वरिपरि घुम्ने चलचित्रको कथा राम्रो थियो, हामीले सोचे जस्तै अर्पण थापाको अभिनय पनि उत्कृष्ट थियो, टेक्निक्ली पनि राम्रो लाग्यो ! तर पनि मलाई चलचित्र ‘स्लो’ लाग्यो, हलमा डेढ घन्टा बस्न पनि सकस भए झैँ भयो ! सायद मैले चलचित्र सोचेको भन्दा फरक पाँए ! सबैले राम्रो भनेको चलचित्रले मलाई खासै प्रभावित गर्न सकेन, भलै मलाई ठमेलको एउटा पाटोको बारेमा जान्ने मौका मिल्यो !
भक्तराज आचार्यको गितहरु धेरै सुन्ने गर्छु तर पनि मलाई भक्तराजको जिवनबारे थाहा थिएन ! उनको जिवन कस्तो थियो, के कस्ता कामहरु गरे, कसरी गित गाउन नसक्ने भए भन्ने बारेमा म पुर्णत अनभिज्ञ थिँए ! मैले कहिले भक्तराज बारे खोतल्ने गरिँन, हुन त नारायण गोपालको बारेमा नि थाहा छैन तर पनि कहिलेकाँही नारायण गोपाल बारेका चर्चाहरु पत्रिकामा पढ्न पाइन्छ ! भक्तराज जिउँदै छन्, अत: मैले उनको बारेमा पत्रिकामा पढ्न पाउँदिन ! चलचित्र जसले बनाएको होस्, ज-जसले अभिनय गरेका हुन्, आफूलाई खासै मतलब थिएन ! दासढुंगा जसरी नै मलाई आचार्य हेर्नु थियो, त्यसमाथि चलचित्र पक्कै राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता थियो !
चलचित्रको सुरुमा बज्ने ‘जहाँ छन् बुद्धका आँखा…’ ले नै एउटा बेग्लै किसिमको झट्का लाइदेको’थियो ! चलचित्र हेरेँ, मलाई राम्रो लाग्यो ! सत्यराजको अभिनय राम्रो छ, उनी गायक मात्र होइन अभिनेता पनि रहेछन् भन्ने मलाई लाग्यो ! चलचित्र राम्रो भएर पनि खासै चलेन भन्ने गरिन्छ, सायद होला पनि ! उनीहरुले राम्रो बजार व्यवस्थापन गर्न सकेनन् ! चलचित्र राम्रो भएपनि, भक्तराजको जिवन सतही रुपमा मात्र देखाइएकोले खासै चित्त बुझेन, मैले भक्तराज बारे केही जानकारी त पाएँ तर पनि केही अपुरो नै लाग्यो ! चलचित्रको एकदृश्यमा बारम्बार ‘फोकस’ गरेर भारतको झण्डा देखाइएको पनि चित्त बुझेन ! तर पनि मेरो लागि आचार्य राम्रो चलचित्र थियो !
स्वर्गिय गोपाल प्रसाद रिमालको कृती ‘मसान’मा निर शाहले चलचित्र निर्माण गरेका थिए ! साँचो कुरा, मैले मसान पढेको थिईन तर पनि कथा भने थाहा थियो ! कृतीमा बनेको चलचित्र राम्रो होला भन्ने आशा राखेर चलचित्र हेर्न गएँ, भलै प्रोमो खासै चित्ताकर्षक थिएन ! ‘मसान’ आफैँमा एउटा राम्रो कृती तर निर शाहले कृतीलाई न्याय गर्ने सकेनन् ! उनले चलचित्र बनाउनु पर्ने ठाउँमा स्टेजकै नाटक झैँ चलचित्र प्रस्तुत गरे ! चलचित्रले जुन सन्देश दिन खोजेको थियो, या भनौँ ‘मसान’को जुन मुलमर्म थियो, त्यो त कहीँ पनि देख्न पाइएन, कतै “फिल” नै गर्न पाइएन ! ऐतिहासिक कृती भएकोले चलचित्र हेर्न गइएको थियो, हेरियो ठिकै लाग्यो तर चित्त बुझेन ! यति हुँदा हुँदै पनि केकी अधिकारी, निता ढुंगाना आदिको अभिनयबाट भने प्रभावित भएँ !
यश कुमारले बनाएको चलचित्र भनेर ‘बाटो मुनिको फूल’ हेर्ने मन थियो तर ‘रेखा’ अभिनित भनेको भएर खासै हेर्न जान मन लागेन ! मैले युट्युब तिरै झल्याक झुलुक दृश्य हेरेँ, कथा भन्ने शैली राम्रो नै लाग्यो ! पत्रिकामा खासै राम्रो रिभ्यु थिएन तर पनि युट्युबमा झल्याक झुलुक दृश्य हेर्दा हलमै गएर हेरेको भए हुने रहेछ जस्तो पनि लाग्यो ! अहिले सम्म पनि मैले ‘बाटो मुनिको फूल’ हेरेको छैन तर अब मौका मिल्यो नै भनेपनि हलसम्म गएर हेरिँदैन होला, कारण पत्रिकामा खासै राम्रो रिभ्यु थिएन !
म केकीको अभिनयबाट प्रभावित छु ! गित र विज्ञापनमा केकीले गरेको अभिनय राम्रो लाग्छ ! यसको साथै फेसबुकमा नियमित रुपमा उनको अपडेट पढ्न पाइन्छ । प्रसन्न पौडेलले ‘स्वर’ नामक चलचित्र बनाएका थिए ! स्वर टोली देश दौडाहामा गएको थियो, अनि केकीले स्वरमा अभिनय गरेकीथिइन् ! अत: मेरो लिस्टमा स्वर पनि थियो तर चलचित्र रिलिज भएपछि पत्रिकामा आएको रिभ्यु देखेर हलसम्म जाने आँट गरिन ! मैले ‘स्वर’ हेरिँन !
अहिले पछिल्लो पटक ‘लुट’ हेरेँ ! लुटले यति प्रभावित गर्यो कि दोहोर्याएर नै चलचित्रहल सम्म पुगेँ ! माथि पनि भनिसकेँ कुनै चलचित्रको कथा मन पर्यो, कुनै चलचित्रको प्रविधि मनपर्यो ! तर लुटमा सबैकुरा मन पर्यो, यो चैँ भएन है भन्ने ठाउँ नै भेट्न मुश्किल भयो ! मैले फरक फरक विधाका चलचित्र हेरेँ, विधागत रुपले हेर्दा चलचित्र राम्रो नै लागेपनि समग्र चलचित्रको रुपमा भने ‘लुट’ निकै मनपर्यो !
अब ‘हाइवे’, ‘गुडवाई काठमाडौँ’ आदि चलचित्रहरु आउँदैछन् ! हाइवेलाई दिपक रौनियारले निर्देशन गरेकाछन् भने, गुडवाई काठमाडौँ नविन सुब्बाले ! हाइवेको प्रोमो हेरेका कारण चलचित्र हेर्ने हुटहुटि जागेकोछ, यस बाहेक दिपक रौनियार निर्देशित ‘पुजा’ र ‘चौकैठ’ हेरेको भएर, पनि ‘हाइवे’, जसरी पनि चलचित्र राम्रो बनेको हुनुपर्छ भन्ने मलाई लाग्छ ! चलचित्र सबै आ-आफ्नै किसिमका हुन्छन् ! ‘लुट’ले जस्तै ‘हाइवे’ले सबैलाई तान्ला नतान्ला भन्न सकिन्न तर पनि ‘हाइवे’ आफ्नो ठाउँमा सफल हुन्छ भन्ने मलाई लाग्छ ! त्यस्तै नविन सुब्बाको चलचित्र ‘नुमाफुङ’ र टेलिसिरियल ‘दलन’ हेरिएको भएर, उनले बनाएको ‘गुडबाई काठमाडौँ’ राम्रो नै हुनुपर्छ भन्ने मेरो मान्यता छ ! जस्तो कि, निश्चल बस्नेतले कुनै चलचित्र बनाए भने, मैले निश्चलको चलचित्र हेर्ने सम्भावना बढि हुन्छ !
‘मिस यु’, ‘काठमाडौँ’, ‘आइ एम सरी’ लगायतका चलचित्र अब रिलिज हुने क्रममा छन् ! ‘मिस यु’ लगायतका केही चलचित्रका राम्रा प्रोमो र गितहरु युट्युबमा राखिएकाछन् । यी चलचित्रहरु राम्रो भएपनि मैले हलसम्म गएर यी चलचित्र हेर्ने सम्भावना एकदम न्युन छ ! कारण, मलाई लभस्टोरी हेर्न मन लाग्दैन ! ‘मिस यु’ लभस्टोरी जस्तो लाग्छ, पुरातन ढर्राबाट माथि उठेर चलचित्र निर्माण गरिएको दावी निर्माण टोलीले गरेकोछ, तर पनि मलाई यो चलचित्र हेर्न जाने जाँगर छैन, एउटै कारण मलाई लभस्टोरी मन पर्दैन ! आकाश अधिकारीको यो भन्दा पहिलेको चलचित्र ‘पन्छि’ हेरेको थिँए, अत मलाई “काठमाडौँ” हेर्न जान मन लागेको छैन ! सायद पछि राम्रो रिभ्यु आएछ भने हेर्न गइएला हैन भने, अहिलेलाई मेरो लिस्टमा यी चलचित्रहरु छैन !
मलाई लाग्छ चलचित्रको किसिम र चलचित्रको प्रोमोबाट नै नेपाली दर्शकहरुले चलचित्र हेर्न जाने/नजाने निर्णय गर्छन् ! अनि मलाई चाँही नेपालका चल्तिका भनिएका नायक/नायिकाको चलचित्र हेर्न जान मन लाग्दैन ! टिभीमा देखिन प्रोमोबाट पनि, मुलधारको प्रतिनिधित्व गरेर चलचित्र बनाइरहेकोछु भन्नेहरुको चलचित्र हेर्न हलसम्म जाँदिन ! जस्तो कि अहिले “बजार” नामक चलचित्र चलिरहेकोछ ! चलचित्रले राम्रो व्यापार गर्यो भनिएकोछ तर पनि मलाई उक्त चलचित्र हेर्न जानु छैन ! चलचित्रको पोस्टर, प्रोमोबाट नै म थाकिसकेकोछु, “बजार”बाट ! यति लामो ब्लग त लेखेँ तर पनि म किन नेपाली चलचित्र हेर्छु भन्ने कुरामा, म आफैँ प्रष्ट हुन सकिरहेको छैन !
Trailer of Nepali Movie Highway
yestai ho mero pida pani nepali film lai liyera... aafno desh ko film lai maya garu jhai lagcha so kaile kai herincha but heri sake pachi feri byartha vo jasto lagcha.. k ho k...
ReplyDelete