कारको फोटो मात्रै होइन, अब थ्रिडी प्रिन्टरबाट कार नै प्रिन्ट गर्न सकिने आसयको शीर्षक भएको लेख कुनै टेकब्लगमा देखे झैँ लाग्छ ! त्यो बेला, के नचाहिने कुरा गर्याहोला भनेर, उक्त लेखको शीर्षकमात्र पढेर छोडेको थिँए । अब फोटो प्रिन्ट गर्ने प्रिन्टरले कार नै प्रिन्ट गर्छ भन्दा कसरी पत्याउनु ! थ्रीडी नै प्रिन्टर भए नि, कागजमा कारको फोटो प्रिन्ट गर्ने होला भन्ने मलाई लागेको थियो ! तर अघि डुल्दै जाँदा ‘टेड’ को भिडियोमा पुगियो, भिडियो हेरेपछि पो, एकहप्ता पहिले देखेको ब्लग शीर्षक याद आयो ! अब हामीमाझ यस्तो प्रविधि आउँदैछ कि, कुनै कुरा अनलाइनमा सपिङ गर्यौँ भने, उक्त वस्तु/सामान नै हामी आफ्नो कम्प्युटरबाट डाउनलोड गरेर, थ्रिडी प्रिन्टरमा प्रिन्ट गर्न सक्छौँ ! कहिलेकाँही घरमा फोन हुँदा यस्तो पकाइराकोछु, मिल्ने भए यही फोनबाट पठाइदिन्थेँ भन्नुहुन्छ, तर अलि केही समयपछि यस्तो कुरा सम्भव नहोला भन्न सकिन्न ! मानौँ कि मलाई बाल्टिन चाहियो ! बाल्टिन चाहियो भने, बाहिर बजार गइरहनु पर्ने जरुरत नै छैन ! अनलाइनमा आफूलाई मन परेको बाल्टिन छान्यो, वा आफैँ बाल्टिन डिजाइन गर्यो, अनि प्रिन्टरबाट प्रिन्ट गर्यो !...