निकै तामझाम सँग नागरिक सुरक्षा जनचेतना अभियान दिवस २०६८ मनाइयो । कार्यक्रममा गृहमन्त्री को पनि उपस्थिति थियो, उनले माइक्रोबसमा स्टिकर टाँसेर कार्यक्रम को उद्घाटन गरे । अनि उनी अघि लागे, सबै उनको पछि पछि लागे ! उनको पछि नेपाल जनपद प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी आदि को सांगितिक टोली ब्यान्ड बाजा बजाउँदै अघि बढ्यो । त्यसको पछि प्रहरीका अन्य टोलीहरु थिए, कोही तालमा ताल मिलाउँदै हिँडे कोही हामी जस्तै साधारण तरिकाले हिँडे । अनि उनीहरुको पछि उनीहरुको करिव २ दर्जन गाडि थियो । उनीहरुले रानीपोखरी, बागबजार पुतलिसडक, सिंहदरवार, भद्रकाली, न्युरोड हुँदै वसन्तपुर पुगे रे, नागरिक सुरक्षा जनचेतना अभियान २०६८ मनाइयो !
बिहान को समय अफिस पुग्नलाई सँधै हतार ! सँधै भन्दा केही समय पहिला रानीपोखरी पुगेको थिँए, आज त अफिस चाँडै पुगिने भइयो भनेर मन खुशी थियो । तर जब बागबजार चोक को पुल तरेर सँधै आफ्नो बस लाग्ने ठाउँमा गएँ, आफ्नो बस थिएन ! कुनै गाडि गुडेका थिएनन् । त्यहाँ त मन्त्री, कर्मचारी र प्रहरीहरुका गाडि थिए । बाटो ठप्प थियो, ट्राफिक प्रहरी को स्पिकर बजिरहेको थियो । ट्राफिक प्रहरी को स्पिकर ले ट्राफिक नियम सिकाइरहेथ्यो ।
२ दिन अघि, आफ्नै कार्यालय अघि गोली हानेर एक व्यक्ति को हत्या गरियो । १०० मिटर को दुरीमा भएको घटना को अभियुक्तहरु फरार छन् तर यता मन्त्री को उपस्थितिमा महानगरिय प्रहरीले नागरिक सुरक्षा जनचेतना अभियान भन्दै आफ्नो ब्यान्ड बाजा का साथ मा सहर का केही भाग को परिक्रमा गर्यो । खै, त्यसपछि कति जनताले सुरक्षा को अनुभुति गरे, भन्ने कुरा हिसाव किताव गर्न बाँकी छ ।
महानगरिय प्रहरी प्रभाग को पारिपट्टि बसेर उनीहरुको कुरा हेरिरहेँ, स्पिकरमा बजेका कुरा सुनिरहेँ । महानगरिय ट्राफिक प्रहरी को स्पिकरबाट, जथाभावी बाटो नकाटौँ, दुर्घटना हुनबाट जोगियौँ, जथाभावी गाडि पार्क नगरौँ, ट्राफिक नियम को पालना गरौँ, जेव्रा क्रसिङ र ओभरहेड ब्रिजबाट बाटो काटौँ, तोकिएको स्थानमा मात्र गाडि रोक्ने गरौँ भन्नेकुरा बारम्बार बजिरहेको थियो । उता प्रहरीहरु ब्यान्ड बाजा बजाएर र्यालीमा हिँड्दै थिए ।
ट्राफिक प्रहरी को स्पिकर ले जे जे भनिरहेको थियो, त्यहाँ उपस्थित, प्रहरीहरु, ट्राफिकहरु भने उल्टो काम गरिरहेका थिए । जनचेतना दिवसको निहुँमा, झन् गाडि यहाँ रोक्नुपर्छ भनेर सिकाउनुपर्ने समयमा त्यो बाटो मा कुनै पनि सार्वजनिक सवारी साधनलाई आउन दिइएको थिएन, गाडिहरु जमल र घन्टाघर तिरै रोकिएको थियो । अत: केही छिनमै ती स्थानहरुमा ट्राफिक जाम भयो। जनचेतना दिवस मनाउने नाम मा कामभन्दा कुरा बढि गरियो ।
सार्वजनिक सवारी साधनहरु जाम मा परे, म जस्ता सयौँ यात्रुहरु भनेको समयमा बस नपाएर पिडित भए । जब प्रहरीहरु को टोली ब्यान्ड बाजा बजाउँदै अघि बढ्यो, त्यसको पछि लाग्न मन्त्री, प्रहरीका गाडिहरु हतार हतार गरिरहेका थिए । सबै एकैपटक अघि बढ्न खोज्दा ट्राफिक ले सिट्ठि नै बजाएर, ट्राफिक व्यवस्थापन गरिरहेका थिए । त्यहाँ उनीहरुले जनचेतना को निहुँमा जति भने, आफूले भने सबै उल्टो नै गरे । उनीहरुले जहाँपाए त्यहिँबाट सवारीसाधन हुँइक्याए !
सबै गइसकेपछि, सार्वजनिक सवारी साधनहरु गुड्न थाले, व्यस्त बाटोमा करिब आधा दर्जन ट्राफिकप्रहरीहरुले जेब्रा क्रसिङ र ओभरहेड ब्रिज हुँदा हुँदै बिचबाटै बाटो काटे । म उनीहरुको गतिविधि नियाल्दै फुटपाथमा आफ्नो बाटो नाप्न थालेँ । आफ्नो बस कहाँ लाग्छ भन्ने थाहा भएन, सँधै बस रोकिने स्टपमा बस थिएन । भद्रकाली, सिंहदरवार हुँदै थापाथली पुगेँ । उनीहरु को जनचेतना को कार्यक्रम का कारण मैले धेरै बस परिवर्तन गर्नुपर्यो, अफिस पनि ढिलो पुगियो ।
उनीहरुले जनचेतना दिवस मनाए रे, उपलब्धि के भयो होला बुझ्न सकिएन ! कुरो यत्ति हो, बाटो हिँड्ने बटुवा र यात्रीहरुले सास्ति पाए, मन्त्रीले वसन्तपुर मा भाषण दिए क्या’र ! पत्रिका र टिभीमा समाचार आयो, अरु उपलब्धि के भयो ?
नागरिक को सुरक्षा को नाम मा कार्यक्रम गरिँदा, नागरिकलाई नै सास्ति दिने यो कस्तो परिपाटि हो? कार्यक्रम गर्दैमा र सहर परिक्रमा गर्दैमा नागरिक ले सुरक्षा को प्रत्याभुति पाए होलान् त? यस्ता कार्यक्रमहरु को आयोजना गर्नु भन्दा पनि, अपराधका श्रृखंलाहरु रोक्न सके धेरै उपलब्धि हुनेथियो । अपराधिहरुलाई पक्राउ गरि कानुनी कार्वाही को दायरा मा ल्याए, सच्चा नागरिक सुरक्षा भएको पनि ठहर्थ्यो । अब बजेट पचाउन र आफ्नो चुरीफुरी देखाउन कै लागि कार्यक्रम गर्छन् भने त के नै गर्न सकिन्छ र, उनीहरुका हर्कत टुलुटुलु हेर्यो, बस्यो !
Comments
Post a Comment