सन्दर्भ भारतमा निर्वासित जिवन बिताइरहेकी बङ्गलादेशी लेखिका तसलिमा नसरिनले ट्विटरमा ट्विट गरेको कुरो हो ।
तसलिमा नेपाल जाँदै थिइन तर उनले एयरपोर्टमा पासपोर्ट लैजान बिर्सिछिन् र उनले ट्विटर मा ट्विट गरिन्, “मैले नेपाल विदेशी राष्ट्र हो भनेर नसोचेको कारण, पासपोर्ट ल्याउन बिर्सिए, म काठमाडौँ जान पाइन” (My Nepali friends,I missed my flight to go to Kathmandu today.I forgot to bring my passport as I didn't consider Nepal a foreign country!)
उनले ट्विटरमा ट्विट गर्ने वित्तिकै नेपाली ट्विटरप्रयोगकर्ताहरु माझ ट्विट को बाढि आयो । नेपाललाई छुट्टै देश नभनिएको र नेपाल छुट्टै देश हो भनेर थाहा नपाएकोमा नेपाली ट्विटरप्रयोगकर्ताहरुको तारो तसलिमा बन्न पुगिन् । धेरै पहिले एक साथीले भनेको सम्झिन्छु, “हामी नेपाली साह्रै सेन्टी छौँ, देश, बुद्ध र सगरमाथा को कुरा गर्दा, तर काम कहिले गर्दैनौँ” । मलाई हिजो त्यस्तै लाग्यो ।
अरुलाई सायद तसलिमा ले भनेको कुरा असह्य भयो होला तर मलाई सामान्य नै लाग्यो । उनी बङ्गलादेशी हुन् अनि भारतमा बसिरहेकी छिन्, नेपाल र भारत बिच खूला सिमाना छ, जहाँ जानलाई पासपोर्ट चाँहिदैन, सायद यही कुरा सोचेर तसलिमा ले आफ्नो ट्विट गरेको हुनुपर्छ भन्ने मेरो अनुमान हो । तर हामी नेपालीलाई उनले भनेको कुराले धेरै छोयो, हामीले तथानाम गाली गर्यौँ । तसलिमाले आफ्नो गल्ति लगभग स्विकार गरिसकेकीछिन्, तर हामी यति उग्र भयौँ कि उनलाई तथानाम भन्यौँ । अन्तत: उनले नेपाल जाने कुरा क्यान्सल गरेको कुरा ट्विटरमा बताइन् ।
ट्विटरमै यो पनि भनिन् कि, उनीहरुलाई राष्ट्रियता भएपछि पुग्यो तर उनीहरु शिक्षा, स्वास्थ्य, स्वतन्त्रता माग्दैनन् । (Give them religion and nationalism, they'll be happy forever. Will not demand for education,health care,equality and basic freedom.) मलाई उनको कुरामा खासै असहमति छैन, मलाई तसलिमा ले गरेको ट्विट सबै सामान्य नै लागेको हो । कमि हामी मै छ जस्तो लाग्यो, यदि हाम्रो देश अघि लम्केको भए, विश्वले नेपाल भनेर चिन्ने थियो तर हामीले त्यस्तो उल्लेख्य केही काम गरेको छैनौँ, हामी केवल सगरमाथा र बुद्ध को देश भनेर गर्व गरेर मात्र बसिरहेका छौँ । हामीले आफ्नो भनेर गर्व गर्ने कुरा पनि भारत र चिन जस्ता देशले मेरो भनिदिन्छन्, हामी हल्ला गर्छौँ तर गौतम बुद्द नेपाल का हुन् भनेर संसारलाई चिनाउने जस्तो कार्य केही गर्दैनौँ ।
देशलाई सगरमाथा र बुद्ध को देश भनेर बसेर मात्र हुँदैन, देशलाई चिनाउन हामी आफैँले आफ्नो ठाउँबाट आफ्ना साना-साना कुराहरु बाट सुरु गर्नुपर्छ । सबैले आ-आफ्नो ठाउँबाट आफूले सकेको योगदान दिने हो भने, सबै कुरा सम्भव छ, तर हामी राजनिती अस्थिर छ भनेर सँधै दोष दिएर पन्छिन खोज्छौँ, यद्दपी राजनिति अस्थिर हुँदा समस्या त जरुर नै हुन्छन् । आदर्श र राष्ट्रियता ले पेट भरिन्न भन्ने सबैलाई थाहा छ, सायद मैले गरिरहेको कुरा पनि आदर्शका भए होलान् तर आफ्नो तर्फबाट केही गर्न सक्छु भन्ने लागिरहेको छ ।
हामी अखबारका पाना मा पढ्छौँ, “अन्ना हजारे ले यस्तो र त्यस्तो गरे”, अझ एक वरिष्ठ पत्रकारले हिजो को एक दैनिक मा फेसबुक ट्विटर बाट परिवर्तन को सम्भावना प्रति लक्षित गर्दै लेखेका थिए, "के हामी फेसबुक, ट्युटरजस्ता सामाजिक संजालसमेत प्रयोग गरेर एउटा निर्णायक दवाव दिने समूह निर्माण गरी सडकमा उत्रिन सक्छौं ?” उनको कुरालाई सबैले आदर्श माने, धेरै व्यक्तिले यही कुरा ट्विट गरे, तर यसरी त्यो कुरा ट्विट गर्नेहरुमध्ये अधिकांशले नै “नेपाल युनाइट्स” ले थालेको अभियानको खुट्टा तानिरहेकाछन् । हामी “डबल स्टान्डर” का मान्छे हौँ? म ट्विटरमा यही नै देखिरहेको छु । पत्रिकामा, अनलाइनमा फेसबुक, ट्विटरबाट परिवर्तन गर्न सकिन्छ भनेर गफ दिने, इजिप्ट, ट्युनिसिया र हालै भारतमा उर्लिएको जनलहर को उदाहरण दिने, अनि नेपाल मा पनि गर्न सकिन्छ, देशको कायापलट गर्न सकिन्छ भनेर युवा समूह अघि लाग्दा हामी आफैँ खुट्टा तान्ने, अनि नेपालयुनाइट्स को अभियानलाई लण्डन को हुलदंगा सँग लगेर जोडिदिने ? हामी मात्र खोक्रो आदर्श र राष्ट्रियता को कुरा गर्छौँ तर कुनै सिन्को भाँच्ने काम गर्दैनौँ ।
भारतिय नागरिक ले साँगामा विशाल महादेव को मुर्ति बनाएकाछन् । हामी सोच्दैनौँ, त्यसबाट देशमा कति धार्मिक पर्यटकहरु नेपाल भित्र्याउन सकिन्छ, मात्र हामी सोच्छौँ, भारतियले मुर्ति बनायो, पार्क मा छिरेको पैसा लिन्छ रे, आफ्नै अनुहार को बनायो रे मुर्ति पनि आदि इत्यादी । विश्व को सबैभन्दा अग्लो शिव को मुर्ति भन्ने कुरा हामी गर्वका साथ अरुलाई सुनाउँछौ, तर जब कसले बनायो, किन बनायो भन्दा एउटा भारतिय ले बनायो, त्यहाँ छिर्ने पनि पैसा लाग्छ रे, ठग रै’छ ! अनि पत्रिका, टिभी, अनलाईनमा विशेष खबर हुन्छ, यस्तो र त्यस्तो गरे भनेर, राम्रो कुरा सुन्न पाइँदैन । कमल जैन व्यवसायी हुन्, उनले शिव को मुर्ति बनाए, त्यसलाई देशको सानसँग जोड्न सकिन्छ, विश्वको अग्लो शिवको मुर्ति भनेर धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । त्यति ठूलो भारत का लाखौँ हिन्दुपर्यटकहरु भित्र्याउने प्रचुर सम्भावना छ, त्यो भनेको सबैको हित र फाइदा कै कुरो हो। जैनले त्यहाँ छिरेको पैसा लिन्छु भन्दा ३ हात माथि उफ्रेर यसले धर्म को नाममा व्यापार गर्यो भन्छौँ, तर यो सोच्दैनौँ कि त्यसलाई स्याहार सम्भार र हेरचाह गर्न मान्छे खटाइएको छ । पशुपति को करोडौँ को ढुकुटि लुट्दा हामी केही गर्न सक्दैनौ, तर निजि स्तरबाट गरिएका प्रयासलाई सँधै भाँजो हाल्न खोज्छौँ भने यो कस्तो राष्ट्रियता हो हाम्रो?
भारत ले बुद्ध भारतमा जन्मिएको दावी गर्दै लुम्बिनी जस्तै दुरुस्त ठाउँ बनाउँदैछ भन्ने थाहा पाएर हामीले हल्ला त धेरै गरिसक्यौँ तर खै लुम्बिनीलाई चिनाउने पहल गरेको ? देशमा सँधै बन्द र हड्ताल हुने, अनि हामी जपिरहने विश्व का शान्तिदुत बुद्ध को जन्म नेपालमा भएको हो । खै, हामीले उदाहरण पेश गर्न सकेको, साँच्चै गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् भनेर ? ठमेल मा रात्रीजिवन छ भनेर हामी भन्छौँ भने, अन्तराष्ट्रिय स्तरमा प्रचार गरौँ न, नेपाल मा रात्री जिवन छ भनेर । हामी ठमेल जान्छौँ, अनि भन्छौँ ठमेल त खत्तम भएछ यार, त्याँ त यस्तो छ त्यस्तो छ । त्यहाँ रात्रीजिवन छ भने, प्रचार गरौँ अन्तराष्ट्रिय क्षेत्रमा नेपाल सगरमाथा र बुद्ध को देशमात्र होइन, यहाँ रात्रीजिवन पनि छ । सायद यस्ता कुरा अपाच्य लाग्न सक्छ, तर हामीले त्यसबाट पनि आफ्नो अस्तित्व संसारमा देखाउन सक्छौँ, संसारभर जहिँतहीँ रात्रीजिवन छ, भने नेपाल मा छ भन्न किन हिच्किचाहट?
जब पनि देशमा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरिन्छन् । नारिवादी संगठन र पार्टिहरु नारी को सौन्दर्य को व्यापार भो, यस्तो त्यस्तो भनेर कुरा गर्छौँ, अहिले सम्म का मिसनेपाल ले “टुपिस” लाउने बाहेक अरु के काम गरे भनेर उफ्रिन्छौँ । सायद हामीले उनीहरुलाई मिल्दो वातावरण हामीले बनाउन सकिरहेका छैनौँ । ऐश्वर्या राय भनेपछि सबैले भारत भनेर चिन्छन्, हामी पनि त्यस्तै गरि देशलाई चिनाउन सक्छौँ तर हामी यस विषयमा सकरात्मक सोच्दैनौँ । हामी नेपालीको बानी छ, प्रवल गुरुङ हुन् या निल डेभिड नेपाल मा बसेर काम गरेको भए हामी नकरात्मक नै सोच्थ्यौँ होला, के गरिरा’छन् यिनीहरुले? तर फेसन को दुनियाँमा प्रवल गुरुङ ले संसारभर तहल्का मच्चाइरहेका छन् । हामी प्रवल गुरुङ माथि गर्व गर्छौँ तर आफ्नो देशको सौन्दर्य प्रतियोगिता/ फेसन शो को चाँहि सदैव विरोध गर्छौ? अलकति लामो कपाल पालेको, मुन्द्रि लाएको देख्यौँ भने, कस्तो सुकुलगुन्डा रे’छ भन्ने धारणा बनाउँछौ तर निल डेभिड कटुवाल को चाँहि हामी खुलेर प्रशंसा गर्छौँ । आखिर यो डबल स्ट्यान्डर्ड किन? के हामी हाम्रो देशमा फेसन शो हुन्छ, हाम्रो देशमा सुन्दर नारीहरुछन्, हाम्रो देशमा सौन्दर्य प्रतियोगिता हुन्छ भनेर संसारलाई भन्न सक्दैनौ?
हामी देशलाई क्रिकेट र फुटबल को देश भनेर चिनाउन सक्ने क्षमता राख्छौँ जस्तो लाग्छ तर यही विडम्बना छ कि, खेलाडीहरुलाई राम्रो सुविधा दिइँदैन, खेल को केही अघि देखि मात्र हाम्रोमा प्रशिक्षण र अनेक कुरा सुरु हुन्छ । अनि नतिजा सोचेको जति रहँदैन । तर हामीले “नेपाल” छ है भनेर विश्वमा चिनाउन यही फुटबल र क्रिकेट बाट सक्छौँ ! गौतम बुद्ध र सगरमाथा को कुरा नगरे पनि फरक पर्दैन । हामी हुँदै नभएको विश्वको दोस्रो जलस्रोत को धनी राष्ट्र भन्ने राग अलापेर बस्छौँ । १०० वर्ष अघि नेपाल मा बिजुली बल्दा हाम्रो छिमेक मा बिजुली थिएन रे, तर खै त अहिलेसम्म हामीले १ हजार मेगावाट पनि उत्पादन गर्न सकेका छैनौँ, १४ देखि १८ घन्टा सम्म लोडसेडिङ मा बसेको हाम्रो अनुभव छ । हामी कहिले लोडसेडिङ नहुने देश, देशको सबै कुनामा बिजुली, बाटो पुगेको देश भनेर संसार सामू चिनिने क्षमता राख्छौँ जस्तो लाग्छ ।
सबैकाम सबैले गर्न सक्दैनन् तर जसले पनि आफ्नो क्षेत्रमा भएको काम मा अलिकति मात्रै पनि संयमता अपनाउँछ भने नेपाल चिनाउन सम्भव छ । यसले यसो गर्यो र त्यसो भन्यो भनेर, भित्र भित्रै कुँडिएर बस्नु पर्दैन होला जस्तो मलाई लाग्छ । सकिन्छ आफ्नो तर्फबाट इमान्दारितापुर्वक आफ्नो काम गरौँ, हैन सकिँदैन भने आलोचना गरेर नबसौँ !