तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला ।
तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ ।
सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाली साइटका ट्विटरफिडहरुलाई पच्छ्याइरहेको हुन्छु । तर मलाई यो कुरा आज यहाँ भन्दा दुख लागिरहेको छ कि, नेपाल का ठूला भनिने प्रकाशन गृह कान्तिपुर र नागरिक ले आफ्ना पाठकहरु माथि ठूलो अन्याय गरिरहेको छ । नागरिक दैनिक ले, उसका ट्विटर फलोअरुहरुलाई ब्लक गर्ने गरेको छ भने, कान्तिपुरको ट्विट नै ‘प्रोटेक्टेड’ गरिएको छ ।
मैले न्युयोर्क टाइम्स, मासावेल, सिएनएन, टेकक्रन्च, बिबिसी, हफपोष्ट देखि लिएर भर्खर ट्विटरमा पाइला राखेका कान्तिपुर लगायतलाई ट्विटरमा फलो गरिरहेको छु । न्युयोर्क टाइम्स, वा मासावेल, वा बिबिसी नै किन नहोस्, उनीहरुले गरेका सबै ट्विट मलाई मान्य हुँदैन, कहिलेकाँही मलाई उनीहरुका ट्विट देखेर रिस पनि उठ्ने गर्छ, उनीहरुका विरुद्ध ट्विटरमा नानाथरि भनिन्छ पनि, तर उनीहरुले पाठक का प्रतिक्रियालाई नकरात्मक रुपमा हेर्दैनन् । उनीहरुले पाठक का प्रतिक्रियालाई मनन गर्दै, आफूमा रहेको कमी कमजोरी औँल्याउने प्रयत्न गर्छन् । अनि सोसल मिडिया “मोनिटरिङ”, र “इङ्गेजमेन्ट” को अर्थ पनि यही हो कि, आफ्ना पाठक तथा ‘कस्टमर’ हरु सँग अन्तरक्रिया गर, आफूलाई समय को माग अनुसार परिवर्तन गर्दै लैजाउ ।
केही समय पहिले मास्टरकार्ड को साइट ह्याक भएको कुरा बारेमा ब्लग लेखेको थिँए, त्यसको भोलिपल्टै देखि ‘मास्टरकार्ड’ को ट्विटर एकाउन्टले मेरो ट्विटर एकाउन्ट फलो गर्न थाल्यो, किनकी उनीहरु थाहा पाउन चाहन्छन्, उनीहरुको बारेमा कहाँ नकरात्मक कुरा भइरहेको छ, उनीहरु कहाँ चुकिरहेकाछन् । हो, उनीहरु आफ्ना पाठक तथा फलोअरहरुको कुरा सदैव सुन्न चाहन्छन् ।
तर भर्खर भर्खर ट्विटरमा छिरेका नेपाली साइटहरु को फुर्ति नै बेग्लै छ । कसैले उनीहरुको कुरा मा प्रश्न उठायो भने, उसलाई ब्लक गरिन्छ । सुचना तपाई को अधिकार भन्दै विज्ञापन गर्ने कान्तिपुर ले आफ्नो ‘ट्विट’ प्रोटेक्ट गरेकोछ । ट्विट प्रोटेक्ट गर्नु को अर्थ हो, तपाई को ट्विट ‘पब्लिक्ली’ कसैले हेर्न नपाओस् । अनि नागरिक को कार्य को बारेमा नकरात्मक टिप्पणी गर्यो भन्ने बित्तिकै उसको फलोअरलाई ट्विटरमा ब्लक गरिएको छ । के कुनै पनि देशका ठूला प्रकाशन गृहलाई प्रतिनिधित्व गर्ने संस्थाहरु को फेसबुक र ट्विटर एकाउन्ट कुनै व्यक्ति विशेष को लहड मा चल्छन् ? म अनुमान गर्न सक्छु, नागरिक को ट्विटर अपडेट गर्ने समूह मा को को छन्, के त्यसो भन्दैमा मैले नागरिक को विषयमा प्रश्न उठाएँ भन्दैमा, नागरिक को ट्विटर एकाउन्टले मलाई ‘ब्लक’ गर्नुपर्छ ? ब्लक को अर्थ हुन्छ, तपाईले नागरिक को ट्विटर एकाउन्ट फलो गर्न पाउनु हुँदैन । केही हप्ता पहिले ‘फक्सन्युज’ को एउटा ट्विटर एकाउन्ट ह्याक गरेर, ‘बाराक ओवामा’ मारिएको प्रचार गरिएको त थाहा नै होला । ‘फक्सन्युज’ को ट्विटलाई सत्य मान्ने समूहरु टन्नै थिए, तर पछि थाहा भयो ‘फक्सन्युज’ को ट्विटर ह्याक गरिएको रहेछ। कुनै पनि संस्था र कम्पनी को ट्विटर र फेसबुक चलाउनु भनेको, व्यक्तिगत ट्विटर र फेसबुक चलाएको जस्तो हैन भन्ने बुझ्न जरुरी छ ।
कुरो हिजो भएको नेपाल र अमेरिका बिच को क्रिकेट खेल को, जुन खेल नेपालले जितेको थियो । नागरिक दैनिक को ट्विटर बाट खेल को ‘लाइभ’ ट्विट गरिएको थियो । नागरिक दैनिक को ट्विटरमा क्रिकेटको बारेमा मात्र ट्विट गरेपछि, कसैले भन्यो, ‘यो नागरिकले त समाचार ट्विट गर्थ्यो, अब त क्रिकेट को लाइभ अपडेट पो दिइरहेकोछ’ । अनि अर्को ले थप्यो, ‘नागरिकले, क्रिकेट को लागि अर्को ट्विटर एकाउन्ट बनाए हुन्छ’ , त्यसपछि ट्विटर सर्कलमा हाँसो फैलियो । यति भनिएको मात्र के थियो, त्यस्तो टिप्पणि गर्ने साथीको ट्विटरलाई ‘नागरिक’ को ट्विटरबाट ब्लक गरियो ।
मैले पत्याइरहेको थिइन, तर साथीले मलाई उसको ट्विटर को स्क्रिनसट नै पठायो । अनि मैले पनि, मलाई ब्लक गर्नेहरु को ट्विटरमा परिक्षण गरे । अचम्म लाग्यो, नागरिकले “नागरिकले त समाचार ट्विट गर्थ्यो, अब त क्रिकेट को लाइभ अपडेट पो दिइरहेकोछ” भन्ने साथीलाई ब्लक गरिदिएछ । अनि यहाँ कान्तिपुर को कुरा गरिरहन जरुरी छैन, कारण कान्तिपुर को अफिसियल ट्विटर १५ जुन देखि ‘कोमा’ मा छ। मैले कुनै किसिम को ट्विट देखिरहेको छैन, त्यो भन्दा ठूलो कुरा, देशको सबैभन्दा ठूलो प्रकाशन गृह को ट्विटहरु ‘प्रोटेक्टेड’ छ । मैले संसारका कुनै पनि समाचार को साइट को ट्विटहरु ‘प्रोटेक्टेड’ भएको देखेको छैन, अनि उनीहरुका विरुद्ध बोल्दैमा, ब्लक गरेको पनि थाहा छैन । उनीहरु धेरै भन्दा धेरै आफ्ना पाठकहरु समक्ष पुग्न चाहन्छन्, पाठकका गुनासा र बोली सुन्न चाहन्छन् । तर नेपाली प्रकाशन गृहमा कामगर्ने पत्रकारहरु को मनस्थिति कस्तो किसिम को छ र, नेपाली पत्रकारिता कता तिर गइरहेको छ भन्ने कुरा यस्ता हर्कतले प्रस्ट देखाइरहेकाछन् । मलाई ती प्रकाशनगृह र त्यसपछाडि रहेका मान्छेहरुको बारेमा केही भन्नु छैन, मात्र टिठ लाग्छ, उनीहरुको केटाकेटी बुद्दी देखेर, अनि सोसल मिडिया प्रति को बुझाइ देखेर ।
सायद उनीहरुलाई लाग्दो हो, फेसबुक ट्विटर भनेको मात्र विलासिता का साधन जस्ता हुन्, जुन हँसिमजाक र साथीभाइहरु सँग गफ गर्न प्रयोग गरिन्छ । उनीहरुलाई थाहा छैन, ट्विटर र फेसबुक ले कुनै पनि “ब्रान्ड”लाई ‘प्रमोट’ गर्न कति सहयोग गरिरहेको छ । उनीहरुलाई सोसल मिडिया ‘मोनिटरिङ’, सोसल मिडिया ‘ईन्गेजमेन्ट’,सोसल मिडिया ‘ब्रान्ड म्यानेजमेन्ट’ भन्ने कुरा थाहा छैन । अहिले संसार ‘सोसल मिडिया’मय भएको छ, र अधिकांश ‘बिजेनश’हरु को महत्वपुर्ण अंगको रुपमा ‘सोसल मिडिया’ उदाइरहेको छ ।
विश्वबजार मा अनलाइन या भनौँ सामाजिक सञ्जाल मा हुने कुराकानीले कुनै पनि कम्पनीको गतिविधिमा प्रभाव पारिरहेको हुन्छ । हामीहरु कुनै सिनेमा हेर्न जानुपर्यो, या केही किन्नुपर्यो भने, पत्रिका र इन्टरेनटमा आएका रिभ्युहरु को पछि लाग्दैनौँ । हामी सामाजिक सञ्जालबाट नै सोध्छौँ, कुनै न कुनै साथि ले जरुर जवाफ दिन्छ, हामी एक्सपर्ट को रिभ्यु भन्दा, कुनै साथिले फेसबुक, ट्विटर वा ब्लगमा भनेको कुरा मा विश्वास गर्छौँ । तर अनलाइनमा हुने यही कुरा बिजनेस हाउस ले थाहा पाएनन् भने, बिजनेसमा ठूलो घाटा लाग्ने सम्भावना रहन्छ या भनौँ आफू कहाँनेर चुकेँ भन्ने कुरा थाहा पाउँदैनन् ।
एक समय मैले एउटा कम्पनीको इन्टरनेट सर्भिस लिएँ, यो कुरा मैले ब्लगमा लेखेको थिँए । त्यही ब्लग पढेर, त्यही कम्पनी को इन्टरनेट सर्भिस लिने व्यक्तिहरु धेरै भेटेँ । र पछि, उक्त कम्पनी को सेवा को स्तर खस्कँदै जान लागेपछि, ब्लग, ट्विटर र फेसबुक लगायत का सामाजिक सञ्जालहरुमा उक्त कम्पनी को सुविधा प्रति गुनासो गरेँ, अनन्त मैले इन्टरनेट सेवा प्रदायक कम्पनी नै परिवर्तन गरेँ । म सँगै मेरा अन्य साथिहरुले पनि अर्को कम्पनी को इन्टरनेट चलाउन थाले ।
कुनैपनि बिजनेस हाउस ले आफ्ना ग्राहक गुमेको हेर्न चाँहदैन । तर कम्पनिहरुले अनलाईन मा भइरहेको कुराकानीबाट ब्रान्डलाई के असर गरिरहेको छ भन्ने कुरा थाहा पाउँदैनन् तब उनीहरुको बिजनेश भनेको जसरी अघि बढ्न सक्दैन । हाम्रो नेपाली प्रकाशन गृहहरु त उनीहरुको बारेमा प्रश्न उठायो भन्यो, त्यसलाई सुधार गर्ने भन्दा, भन्ने मान्छेलाई नै “ब्लक” गर्ने तर्फ लान्छन् ।
नागरिकको फेसबुक पेजमा उनीहरुको भन्दा फरक विचार राख्दा, कमेन्ट डिलिट हुनु, ब्लक गरिनु, ट्विटरमा ब्लक गरिनु सामान्य हुन थालिसकेको छ ।
यो कुराबाट सायद नागरिक तथा कान्तिपुर को “म्यानेजमेन्ट” बेखबर छ, तर उनीहरुका कर्मचारीका लहड का कारण ती प्रकाशन गृह को साख विस्तारै घट्दै गइरहेको छ। अनि यो सोसल मिडिया को युगमा, त्यसरी साख घट्नु कुनै पनि हालतमा राम्रो संकेत हुँदै होइन, आखिर भविष्यमा उनीहरु पनि अनलाइनमै जानुछ, कारण अब पत्रिका को वासी खबर निकै कम मान्छे को रोजाइमा पर्ने गरेकोछ ।
एकसमय चौधरी घराना को बारेमा अनलाइन खुलेर बहस हुँदा, त्यस कम्पनी को चाउचाउ खान छोड्दिएँ भन्ने साथीहरु धेरै भेटेको थिँए । केही समय पहिले एक दैनिक ले छापेको ट्विटका कारण अनलाइन विशेषत ट्विटर प्रयोगकर्ताहरुले उक्त दैनिक का बारेमा नकरात्मक धारणाहरु पालेर बसेकाथिए । अनि उनीहरु अहिले बिरलै पैसा तिरेर उक्त दैनिक किनेर पढ्छन् । लाखौँ ग्राहक छन् भन्दै मा ती पाठकहरु को गन्ति नहुने होइन, आखिर थोपा थोपा मिलेर नै समुन्द्र बन्छ ।
अनि एनसेल को थ्रिजी डेटा कार्ड को खुलेर प्रशंसा गर्नेहरु पनि धेरै भेटेको छु, यद्दपी उनीहरुको बारेमा गुनासो पनि अनलाइनमा देखिन्छ । तर पनि नेपालका कम्पनीहरु प्राय: अनलाइनमा के कुरा हुन्छन् भन्ने कुराबाट बेखबर नै छन् । फेसबुक, ट्विटर आदि साइटहरु रमाइलो गर्ने साइट मात्र नभइ, बिजनेशलाई अघि बढाउन मद्दत गर्ने साइटहरु हुन् । त्यस्ता साइटमा हुने कुराकानीहरु थाहा नपाउनु भनेको, अन्जानै मा आफ्ना ग्राहकहरु गुमाउनु हो ।
भन्दा पत्याउन गाह्रो पर्ला तर पनि जुन सुकै साइटमा पनि ‘सर्च’ पछि ‘सोसल मिडिया’ को रिफरल लिंकहरुबाट ति साइटहरु ‘भिजिट’ गर्ने को सङ्ख्या बढि छ । तपाईले आफ्नो सर्कलमा आफ्नो, फलोअर र फ्यान गुमाउनू भनेको, तपाई को बिजनेशमा घाटा लाग्नु हो ।
के तपाईलाई थाहा छ? हप्ता दिन अघि इन्टरनेट को अज्ञात समूहले ट्विटर मार्फत ‘पेपल’ प्रयोग नगर्न आग्रह गर्यो, एकैदिन मा बिस हजार जना भन्दा धेरैले ‘पेपल’ मा रहेको एकाउन्ट बन्द गरे । यस्तो कुरा गर्दा नेपाली कम्पनी र संस्थाहरुलाई लाग्दो हो, के नचाहिँदो कुरा गरिरहेको छ । फेसबुक र ट्विटर ले पनि के असर गर्छ र, त्यो जाबो एउटा त हो नि भन्ने लागिरहेको होला । यदि यस्तै सोचाइ छ भने, बुझे हुन्छ, तिम्रो बिजनेसमा कालान्तरमा यसले ठूलो धक्का पुर्याउने छ ।
पत्याउन गाह्रो पर्ला, तर मैले काम गरिरहेको कम्पनीले ‘सिर्फ’ सोसलमिडियामा काम गरिरहेको छ या भनौँ बिजनेस गरिरहेको छ । साथै सायद यो ब्लग, नागरिक र कान्तिपुर को दिमाग मा घुस्दैन होला, र उनीहरुलाई लागिरहेको होला, एक दुई जना कराउँदैमा केहि हुँदैन । तर पनि, उनीहरुलाई ‘थोपा थोपा मिलेर समुन्द्र बन्छ’ भन्ने कुरा त थाहा नै होला ।
फेसबुक ‘फ्यानपेज’ खेल होइन, यो बिजेनश हो । प्रकाशन गृह को ट्विटर पनि ख्यालख्याल होइन, यसले राष्ट्र को जिम्मेवार निकाय को भार बहन गरेको छ । तर त्यसमा नियमति अपडेट गर्ने कर्मचारीहरु को सोचाइ भने ‘निकृष्ट’ रहेको छ ।
यहाँ फेसबुकबाट ‘नेपाल युनाइट्स’ समूह खोलेर संविधान समयमै बनाउन दवाव अभियान दिने नेपालीहरुको खुट्टा तान्ने काम मा प्रकाशनगृहहरु लागिपरेकाछन् भने, कुनै व्यक्ति विशेषले भनेको कुरालाई उनीहरुको आफ्नै ‘डाँको’ ले खाइदिनसक्छन् । नेपाली टेलिकम कम्पनीहरु, औद्यौगिक घरानाहरु, बैंक तथा वित्तिय संस्थाहरु, नेपाल का प्रतिष्ठित नयाँ, पुराना कम्पनीहरु, प्रकाशन गृह तथा रेडियो, टेलिभिजनहरु, नेता तथा कलाकारहरु कसैले पनि ‘सोसल मिडिया’ को महत्व बुझ्न सकिरहेका छैनन् भन्ने कुरा फेरि पनि दोहोर्याउँछु । फेसबुक फ्यानपेज त्यसै आएको होइन, गुगल प्लसले ‘बिजेनस पेज’हरु कालान्तरमै ल्याइहाल्छु भनेर त्यसै घोषणा गरेको होइन अनि ट्विटरले पनि आफ्ना ‘एपिआइ’हरु रमाइलो गर्न को लागि मात्र उपलब्ध गराइदिएको होइन ।
हिजोआज प्राय कमैले मात्र साइट को ‘आरएसएस फिड’ पढ्नेगर्छन् । अधिकांशले त्यस साइट को ‘ट्विटर’ र ‘फेसबुक’ नै फलो गर्न रुचाउँछन् । तर सोच्नुस त, नेपाललाई विश्वसामु प्रस्तुत गर्ने साइट भनेको, इकान्तिपुर, नागरिकन्युज, नेपालन्यज आदिहरु हुन् । अनि ती साइटहरुको फेसबुक र ट्विटर पेज को बारेमा कुरा गर्नु भयो भने, दिक्क लागेर र रिस उठेर आउँछ । सोचौँ त हामी कहाँ छौ? के हाम्रो स्टान्डर्ड यही हो त? नेपाल मा नेपाली कम्पनीहरुलाई सोसल मिडिया को महत्व बुझाउन एकदम जरुरी छ ! साँच्चै यार, यस्तो पारा ले त हुँदैन ।
हाम्रा प्रकाशन गृहहरु ‘फेसबुक’ को सम्पति यति र उति छ, फेसबुकमा यस्तो र त्यस्तो भयो भनेर समाचार त खुब लेख्छन् तर ‘फेसबुक’ ले उनीहरुलाई कस्तो प्रभाव पारिरहेको छ, बुझ्न नै चाहँदैनन् । कुरो गर्यो कुरै को दुख भन्या जस्तो, जबसम्म उनीहरुले ‘सोसल मिडिया’ को महत्व बुझ्न सक्दैनन्, तब सम्म केही हुन सक्दैन, उनीहरु आफ्ना फ्यान र फलोअरहरुलाई ब्लक गरिरहनेछन् । हुन त कुवाको भ्यागुतालाई ‘कुवा’ नै संसार हो, मेरो भन्नु केही छैन । तर यत्ति हो दुनिँयामा कसैको नभएको ट्विटर एकाउन्ट नागरिक र कान्तिपुर दैनिकको मात्र रहेछ ! :D
नोट: केही साथी को आग्रहमा, हामीले यस ब्लग को शीर्षक परिवर्तन गरेका छौँ । पहिले हाम्रो शीर्षक यसप्रकार थियो। “दुनिँयामा कसैको नभएको नागरिक र कान्तिपुर दैनिकको ट्विटर एकाउन्ट”
हामीलाई ट्विटरमा फलो गर्नुहोस् @aakarpost @aakartech @NewsBlogsNepal