Skip to main content

रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

बिहान झिसमिसे मै निन्द्रा खुल्यो । कुदिरहेको रेलबाट बाहिर हेरेँ । रेल पूर्व कि पश्चिम तिर गइरहेको छ, पत्तो पाउन गाह्रो पर्यो । तर बाहिरको दृश्य मलाई नौलौ लागिरहेको थियो । टाढा टाढा सम्म भर्खर जोतिएको झैँ लाग्ने खेतबारीहरु थिए । आफूलाई आफू कुन ठाउँमा आइपुगेँ केही थाहा थिएन । म्याप निकालेर पल्टाएँ, अहँ थाहा पाउन सकिन । रेल गुडिरहेको थियो, सायद ती गाउँका मान्छेहरु नै होलान्, बिहानै सबै 'मैदान’ गर्न मा व्यस्त थिए । बारीमा टाढा टाढा सम्म ती गाउँलेहरुको लस्कर देखियो, जो बिहानै ‘शौच’ गरिरहेका थिए, अनि उनीहरुको शौचालयको छत खुल्ला आकाश थियो ।

म उठेको केही समयपछि सबै साथिहरु उठे ! हामी ४ नेपालीहरु सँगै थियौँ, मैले पटनामा रेल चढिसकेपछि ३ जनालाई भेटेको थिँए । एकजना हुनहुन्थ्यो भक्तपुरमा टायल फ्याक्र्टि चलाउनु हुने ‘प्रजापति’ दाइ, अनि उहाँ को छोरा, अनि अर्को एकजना राजमाझी थरको कलाकार (मुर्तिकार) हुनहुन्थ्यो । हामी ४ जना बिहान उठेर, ‘चायवाला’ ले ल्याएको चिया पियौँ । पटनाको प्लेटफार्म मै बनाइएको साथि पनि सँगै थियो, उ जवलपुर भन्ने ठाउँमा झर्नेवाला थियो । अब ५-६ घन्टा मा जवलपुर पुगिन्छ भन्थ्यो ।

train-patna-to-bangalore
हामी ४ जनाले विविध विषयमा छलफल गरेर बस्यौँ, बाटो भरि नै । उहाँहरुका रमाइला ‘प्रोजेक्ट’हरु र ‘परिकल्पना’हरु सुनाउनु भयो । उहाँहरुले भनेजस्तो भयो भने, नेपालमा केही वर्ष भित्रैमा एउटा बेग्लै किसिमको पार्कको निर्माण गर्नुहुनेछ । प्रजापति दाइको आफ्नै टायल उद्योग रहेछ भक्तपुरमा जहाँ घरमा लाग्ने विभिन्न किसिमका टायलहरु बनाइने रहेछ, बाटोमा कहिँ पनि टायल, इट्टा वा सिमेन्ट फ्याक्ट्रि देखियो भने, दाइ एक किसिमको ‘कम्पेरिजन’ गर्नुहुन्थ्यो ।

अर्का रायमाझी दाइ, कान अलि कम सुन्ने हुँदा, ‘ईयरपिस’ लगाउनु हुँदोरहेछ, र आफू ‘लो’ प्रोफाइलमा नै बस्न रुचाउनु हुँदोरहेछ । उहाँको प्रचार नेपालमा खासै रैनछ, मलाई आफ्नो प्रचार गर्नुछैन भन्नुभएको थियो, राजमाझीदाइले । तर उहाँको कला भने भारत, थाइल्यान्ड, देखि मेरिल्यान्ड राज्य सम्म फैलिएको रहेछ । ‘फाइन आर्ट’ पढ्नुभएको दाइको विशेष दख्खल मुर्तिमा रहेछ र उहाँ जुनसुकै माध्यमबाट पनि मुर्ति बनाउन सक्ने हैसियतको हुनुहुँदोरहेछ । काठमाडौँ मै भएर पनि, उहाँको खासै चर्चा र परिचर्चा भएको खासै थाहा छैन मलाई, तर पनि उहाँको कुरा सुन्दा, उहाँको प्रचार हुनुपर्छ भन्ने जस्तो लाग्यो ।

‘क्याटरिङवाला’ ले के खाने भन्ने सोध्दै आयो, हामीले ४ जनाको लागि खाना को अर्डर गर्यौँ, अनि साथमा भएको बिस्कुट, दालमठ, चिप्स र चाउचाउ खान थाल्यौँ । विभिन्न स्टेशनमा रेल रोकिँदै अघि बढ्दै गर्यो, झ्यालको छेउमा बसेको म, धेरैजसो बाहिर हेर्दै रमाइरहेको हुन्थेँ । रेल आफ्नो गतिमा चलिरह्यो, मलाई रेलमा यात्रा गर्दा भारत साँच्चै ठूलो रहेछ जस्तो लाग्यो । जब पनि पर पर साना डाँडाहरु देख्थेँ, आफूलाई घरबाट देखिने चुरे पहाडको याद आउँथ्यो, ठ्याक्कै उस्तै लाग्थ्यो ।

जब पनि म नेपालमा रेल कुदेको कल्पना गर्थेँ, तब मलाई लाग्थ्यो, रेल कुदाउन लिक बनाएर मात्र हुँदैन ‘स्टेशन’ चाहिन्छ, स्टेशनको लागि पर्याप्त ठाउँ कहाँ पो छ र?  रेल रोकिने बित्तिकै म प्लेटफार्ममा कुद्दै झर्थेँ, कारण मलाई घरमा फोन गर्नुथियो । म सकुशल छु र यात्रा रमाइलो भइरहेछ भनेर मैले भन्न सकेको खण्डमा सबैलाई पिर कम लाग्ने थियो । तर मैले पहिलो दिन कुनै प्लेटफार्मबाट फोन गर्न पाइँन ।

हाम्रो ‘बाग्मती एक्सप्रेस’ रेल आफ्नै गतिमा दौडिरहेथ्यो, दायाँ वाँयाका लिकमा पेट्रोल, कोइला र अन्य मालवाहक रेलहरु देखिन्थ्यो । त्यसबेला नेपालमा निम्तिरहने पेट्रोल संकटको कुरा झल्झली याद आउँथ्यो । जवलपुरमा झर्ने साथीले बाटोमा देखिएका ठाउँहरुको परिचय बेला बेलामा गराउँथ्यो । बिरला, सत्ना जस्ता सिमेन्ट फ्याक्ट्रिहरु परै बाट नियालियो । बस्ति भन्दा धेरै पर, त्यस एरियामा सिमेन्ट फ्याक्ट्रिहरु मात्र रहेछन् । १ बजे खाना खाइयो । समय भन्दा हाम्रो रेल ४ घन्टा ढिलो थियो । जवलपुरमा त्यो साथि उत्रियो, केही सँगैका सिट पनि खालि भयो, तर त्यहाँ अरु चढ्नेहरु टन्नै रहेछन् । जवलपुरमा ‘इन्डियन आर्मी’ को लागि चाहिने गाडिहरु बनाइँदो रहेछ । जवलपुरबाट पनि घरमा फोन गर्ने ट्राइ गरेँ, तर फोन गएन ।

जवलपुरबाट ८ जनाको केटाहरुको ग्याङ हामीसँगैको सिटहरुमा आएर बसे । भर्खर इन्जिनियरिङ सकेका उनीहरु जागिर कै सिलसिलामा बेङ्लोर जाँदै रहेछन् । उनीहरु आपसमा कुरा गरेर हाँसेको हाँसेकै गर्थे, हामीलाई झर्को लाग्ने गरि । चिया, खाजा, अनि खाना नियमित डुलाउँदै ल्याउँथे, अनि हामी आफ्नो आवश्यकता अनुसार खाइरहेका थियौँ । नागपुरमा आइपुग्दा साँझ पर्यो, हामीले रेलकै क्याटरिङको खाना खायौँ । त्यहाँ पनि म फोन गर्न झरेँ तर टेलिफोन बुथ भेटिएन । अँ अर्को कुरा, जुन स्टेशन मा रेल रोकिन्थ्यो, त्यो स्टेशनमा हामी पानी लिनलाई बोतल बोकेर कुदिहाल्थ्यौँ, अनि संघर्ष गरेर पानी भरिन्थ्यो । नागपुरबाट रेल अगाडि बढ्यो, अझै २४ घन्टा भन्दा बढिको यात्रा बाँकि नै थियो । नागपुर कटेपछि हामी फेरि सुत्यौँ ।

अर्को दिन उठेपछि हामीले फेरि अघिल्लो दिन कै दैनिकी दोहोर्यायौँ । बिहान चिया, खाजा, अनि खाना, त्यसपछि फेरि चिया यस्तै यस्तै । दाइहरुले कुरा गर्न थाल्नुभो, यति वर्ष अगाडि मुम्बइबाट जाँदा यस्तो भयो, दिल्ली जाँदा यस्तो भयो । उहाँहरु आफ्नो पहिलेको रेल अनुभव सुनाउनु हुन्थ्यो, छक्का आएर साह्रै दुख्ख दिन्थे, खै अहिले त ट्रेन मा यस्तो हुँदोरहेनछ भन्नुहुन्थ्यो । आफूलाई त के थाहा ? हुन्छ कि हुँदैन, त्यही नि धरानबाट अनिशदाइले, ‘छक्काहरुले दुख्ख देलान, खुजुरा पैसा बोक्नु, केही गर्दैनन्’ भन्नुभएको थियो । आफुलाई रेलमा केही त्यस्तो भएको थिएन । कोही माग्न आएको पनि थिएन, निकै गज्जबको यात्रा भइरहेको थियो । उहाँहरु सँग मैले नि सही थप्दै, त्यही त हिजोआज रेलमा हुँदैन क्यारे, भन्दिएँ ।

हामी ४ जना झ्यालपट्टि थियौँ, अनि भित्रपट्टि जबलपुरबाट चढेका तिनै ८ जना केटाहरु थिए । सँगै रहँदा बस्दा हामी सबै साथि भइसकेका थियौँ । नाम कसैको थाहा थिएन तर पनि हाम्रो कुराकानी चैँ भइरहन्थ्यो । कुराकानी चलिरहेको थियो, उनीहरुले भने, लौ ताली पड्काउने आए है । मैले नि तालीको आवाज सुनेँ, लौ छक्का आएछन् भनियो । एउटी राम्री केटी आइ, केटा नै पो रहेछ, तर पनि उसले यति सालिनता सँग कुरा गर्यो कि सबै मख्ख भए । उसले पैसा मागि, ‘कोही त दो, तुम दो ना’ भन्दै सबैलाई ईशारा गर्थी । उसको कुरा र बोलाइबाट सबै प्रभावित भएका थिए, एउटा केटोले पैसा निकालेर दियो, उ गइ । त्यसपछि उसकै चर्चा परिचर्चा हुन थाल्यो ।

हुँदैनन् भनेको त अझै हुँदा रहेछन् भन्ने जस्तो कुरा चल्यो, त्यसपछि अर्को पनि पो आइपुग्यो, ताली पड्काउँदै । साह्रो रुखो स्वर रहेछ, पैसा दो भन्न थाल्यो । तर हामीहरु सबै मुखामुख गरेर बस्यौँ, केही बोलेनौँ । एउटा केटाले पैसा छैन, यत्ति छ भन्दै ५ को डलर दियो । त्यो ५ को डलर फिर्ता दिँदै फन्केर, सराप्दै हिँड्यो । मलाई लाग्यो, त्यही भएर यिनीहरुलाई छक्का भन्दा रहेछन् । साह्रै रुखो व्यवहार थियो ! फेरि पनि पहिले आउनेकै चर्चा भयो, ‘कम्पेयर’ गरियो ।

विजयवाडामा रेल रोकियो । मैले बल्लतल्ल त्यहाँबाट भाइलाई फोन गरेँ । ट्विटरमा नानाथरिको हल्ला चलिराको छ भनेर भाइले सुनायो । सबैलाई ठिकठाक छ भन्दिनु भनेर फोन राखेँ । अब यसपछिको ठूलो स्टेशन भनेको चेन्नइ थियो । रेल अघि बढ्यो । फेरि एउटा छक्का आइपुग्यो, त्यो त झन् सबैभन्दा रुखो रहेछ । अनि यति छाडा रहेछ कि, निहुँ खोजेर एउटा साथिलाई ‘देखाउन’ खोजिगयो । धन्न देखाएन, त्यो आउँदा यति ‘इरिटेट फिल’ भएको थियो कि के भन्नु र ? तिनीहरुलाई कसैले कारवाही गर्दैनन् कि क्या हो ? ट्रेनमा यात्रा गर्नेलाई कति सताउँदा होलान् । फेरि पनि पहिले कै केटी को चर्चा भयो, त्यसको बोली कस्तो थियो अनि यिनीहरु को कस्तो छ भन्दै । 

जब रेलको लिकको साइडमा ‘नुन’ जम्मा पार्ने ठाउँहरु देखियो, तब हामी समुन्द्रको धेरै नजिक छौँ भन्ने आभाष भयो । खेतबारी र नरिवल घारी हुँदै रेल अघि बढिरह्यो । ४ घन्टा भन्दा बढि ढिलो रहेको हाम्रो रेलले लगभग आफ्नो समयलाई ‘व्यालेन्स’ गरिसकेको थियो । ठाउँ अनुसार, र बाटो अनुसार रेलले कहिले विद्युतिय इन्जिन त कहिले डिजेल इन्जिन जडान गर्थ्यो । हामी यस्तै साँढे ४ बजेतिर चेन्नइ आइपुग्यौँ । चेन्नइ समुन्द्रको नजिक रहेको शहर हो भन्नेकुरा हामीले देखिरहेको समुन्द्र र पानीजहाज ले नै अवगत गराइसकेको थियो । चेन्नइको स्टेशनमा रेलको मुख परिवर्तन हुँदोरहेछ । अघिल्लो सातौँ डिब्बामा भएका हामी चेन्नइबाट रेल पश्चिमतिर लाग्दा पछिल्लो सातौँ डिब्बामा थियौँ ।

चेन्नइबाट रेल निरन्तर पश्चिम बढ्यो । साँझ पर्दै थियो । ठाउँठाउँमा सानातिना डाँडाहरु देखियो । ती ठाउँहरु देख्दा अमलेखगन्ज, चुरे, जस्ता नेपालका ठाउँहरु को याद आउँथ्यो, दुरुस्तै उस्तै लाग्थ्यो । अब हाम्रो स्टेशन केही घन्टामै आउने निश्चित थियो, अत रेलमा बेलुकाको खाना नखाइने भइयो । स्टेशन आउन लागेर होला, हामीहरु आपसमा झनै धेरै कुरा गर्न थालेका थियौँ । ती ८ जना केटाहरु पनि नेपालको बारेमा खुब चाख दिएर कुराहरु सोध्न थालेका थिए, २-३ जनालाई चाँहि नेपालको बारेमा थाहा रहेछ । उनीहरुले सोधेका कुराहरु हामीले पनि गज्जब ले बुझाएर भन्दियौँ ।

patna-to-bangalore-train-route
राती १० बजेतिर हामी ‘बेङ्लोर इस्ट’ मा उत्रियौँ । बेङ्लोर शहरमा पाइला टेकिसकिएको थियो, निकै अनौठो लागिरहेथ्यो । पटना देखि चेन्नइसम्म आउँदा, बाटोको छेउाछाउमा झुपडिहरु टन्नै देखिएको थियो तर बेङ्लोरमा मैले त्यस्तो देखिन । अन्य ठाउँका प्लेटफार्महरु फोहर थिए, बेङ्लोर इस्टमा त ‘थुक्न मनाही’ भनेर लेखिएको रहेछ । ३ जना साथीहरु होटलमा जाने हुनुभो, मैले चाँहि बेङ्लोरमा हुनु भएको दाइलाई फोन गरेँ । उहाँले लौ आउ भन्नु भो, ‘अटो’ लिएर जाने भएँ म । स्टेशनमै अटोवाला आइपुगेको थियो, उसले भन्यो तपाई पनि सँगै हिँड्नु त्यहाँबाट तपाईको ठाउँ अझै अगाडि हो, अनि बस वा अटोमा जानुहोला । उसको सल्लाह ठिकै लाग्यो, अनि दाइहरुले पनि जौँ जौँ भन्नुभयो । अटो ले ‘शिवाजीनगर’ को एक होटल मा ल्याइदियो ।

दाइहरुले ३ वटा वेड भएको एउटा कोठा हेर्नुभयो, म भने अब दाइहरुको मा जान्छु भन्ने सोचेर हिँड्नै लागेको थिँए । अटोवालाले भन्यो, यहाँबाट अटोमा जानु भो भने महंगो पर्छ, पब्लिक बस चढेर जानु । ठाउँ थाहा छ भने, यतिबेला जानु, हैन भने राती खोजेको खोजेकै भइएला ठाउँ भन्यो । मलाई उसको कुरा ठिक लाग्यो, बेङ्लोरको दाइहरुको फोन नम्बर र ठेगाना त थियो । तर यति ठूलो ठाउँमा आधिरातमा टेलिफोन बुथ खुलेको नहोला, फोन गर्ने ठाउँ नपाइएला भन्ने जस्तो लाग्यो । अनि त्यहिँ नै बस्ने निधो गरियो । छेउकै होटलमा गएर खाना खाइयो, अनि आएर घुप्लुक्क सुतियो ।

बिहानै मैले साथिहरु सँग बिदा लिएर अटो लिएर हिँडे । अटोवालालाई ‘मुर्गेसपाल्यम’ लगिदिनु भने, उसले हुन्छ भन्यो । झिसमिसे बिहान भएका कारण, बाटो खुल्लो थियो । करिव आधा/एक घन्टाको अटो यात्रा पछि, अटोवालाले एउटा चोकमा ल्याएर रोकिदियो, अनि भन्यो तपाईले भनेको ठाउँ यहि हो । ल ठिक छ उसोभए भनेर, अटोवाट ओर्लिएँ ।

ओर्लिएपछि कता जाने, कता जाने भयो, त्यही पनि मुलबाटो क्रस गरेर अर्को भित्री बाटो समातेँ । करिब ५ मिनेट जति झोला भिरेर हिँडे, लुखुर लुखर । बेङ्लोरको रोडमा बिहान, पहिलोपटक म हिँडिरहेको थिँए, थाहा छैन म कुन ठाउँमा छु र कुन दिशा तर्फ गइरहेछु । तर पनि बेङ्लोरमा ठगहरु हुँदैनन् भन्ने सुनेको भएर मैले अटोवालाले भनेको कुरामा विश्वास गरेको थिँए । साँच्चै, म मुर्गेसपाल्यम मै रहेछु, एउटा पसलको बोर्ड पढेर थाहापाएँ ।

मुर्गेसपाल्यम त आइपुगिएछ, तर यति धेरै घरमा दाइहरु कहाँ बस्नुहुन्छ थाहा थिएन । त्यही पनि अघि बढिरहेँ । जम्मा हिँडेको ५-६ मिनेट, त्यही नि मलाई धेरै हिँडे जस्तो लागिसकेको थियो, मैले बाटो छेउको एक चियापसलबाट फोन गरेँ । फोन गरेको केही समय दाइ आइपुग्नु भयो । मैले फोटोमा मात्र देखेको थिँए, फेसबुकमा दाइलाई । मैले चिनिहालेँ । त्यो कुरा भन्दा पनि बढि अचम्म त यो लाग्यो कि, मैले घर कै छेउबाट फोन गरेको रहेछु । र अहिलेसम्म पनि छक्क परिरहेछु, कसरी ठ्याक्कै घरै छेउमा आएर फोन गरेछु भनेर । मलाई बेङ्लोर आइपुगेँ भन्ने भयो, म दाइहरु बसेको घरमा आइपुगेको थिँए । घर आइपुगेर, नुवाइधुवाइ गरेर अफिसतिर हिँडियो।

म बेङ्लोर आइपुगेँ अनि मितिको हिसाबले भन्ने हो भने, आज ठ्याक्कै १ महिना भयो, यहाँ आइपुगेको । 
समाप्त !

पहिलो भाग : पहिलो पटक मातृभुमी छाड्दा… [भाग–१]
दोश्रो भाग : पहिलो पटक रक्सौलमा… [भाग-२]
तेस्रो भाग : रक्सौल टु पट्ना : नाइट बसमा सरर… [भाग-३]
चौथो भाग : पट्ना मै बित्यो दिन… [भाग-४]
पाँचौ भाग : अनि पट्नाबाट रेल चढियो… [भाग-५]
छैठौँ भाग : रेलमा ४८ घन्टा ! पटना देखि बेंगलोर सम्म ! भो-नकुरागरम !!! [भाग-६]

Comments

  1. हहाहा.. म पनि मित्र राष्ट्रको भ्रमण योजना गरिराछु.. तर, समलिङ्गीको कुरा सुनेर झसङ भो.. पैसा लिने दाहेक अरू केही त गरेन ब्रोलाई ? ‘छक्का’हरूले... हाहाहा 

    ReplyDelete
  2. सर्ट लगाइएको छ भने, सर्ट को माथिल्लो गोजीमा चैँ केही नि नराखौँ है, फेरि गोजिभित्र माथिबाट हात हालेर, जे छ त्यै लग्दिन्छन् ! 

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही ...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

Subscribe to Aakar Post