आज फेरि आकाश बाट गडाङ गुडुङ को आवाज आइरहेको छ । काकाकुल को जिवन त पानी परेपनि रहिनै रहन्छ तर पनि पानी पर्ने छाँटकाँट देख्दा मात्रै पनि, मन फुरुङ्ग हुन्छ । पानी को न्यास्रो त्यति सारो लागेको पनि हैन । फागुन महिना नै भएपनि पानी पर्यो भने चिसो बढ्छ, मलाई त्यो चिसो पनि चाहिएको छैन । मलाई पानी मा रुझ्न मन छैन, रुघाखोकी ले सताइहाल्छ । कहिलेकाँही रुझिने भएपनि, झरी मा भिज्दैमा ‘रोमान्टिक फिल’ पनि हुँदैन । अरुबेला गडाङ गुडुङ गरेको सुन्दा नै सातो जाने मलाई तर आज फेरि आकाशमा कालो बादल मडारिएको देख्दा, गडाङ गुडुङ को आवाज सुन्दा, डर लागेको छैन, मलाई त वेपत्तै खुशी लागेको छ ।
बादल गडाङ गुडुङ गर्न थालेपछि पानी पर्छ नै जस्तो लाग्छ तर पनि ‘भुक्ने कुकुर ले टोक्दैन’ भनिने हुँदा, बादल देख्दै मा र गडाङ गुडुङ सुन्दैमा पानी पर्छ भन्ने त हुँदैन । तर पनि पानी पर्ने कुरा ले रमाइलो लाग्छ, ‘मेन्टोस मोमेन्ट’ भएर दिमाग को बत्ति जले झैँ, केही कुरा झ्वाट्ट सम्झना मा आउँछ । अत: आज पनि कालो बादल देख्ने बित्तिकै पानी परिदियोस भने झैँ लाग्दैछ ।
कलकारखाना का मजदुर ले हड्ताल गरेको खबर पनि सुनिएन, कुनै कारखाना बन्द गरेको भन्ने पनि सुनिएन, विद्युत (अ)प्राधिकरण ले कुनै सूचना जारी गरेको पनि पढिएन, न त कुनै 'लोडसेडिङ’ को तालिका नै ‘डाउनलोड’ गरियो । तर अस्ति १ दिन पानी पर्दा ४-५ घन्टा मात्रै आउने बिजुली अचम्मै सँग ले आको-आकै गर्यो । एक सय वर्ष को बिच मा नेपाल मा १ हजार मेगावाट बिजुली सम्म पनि निकाल्न सकिएन तर पोहोरै कुर्सी मा हुँदा प्रधानमन्त्री काम्रेड ले भाषण ठोक्देका थिए, “१० वर्ष भित्र २५ हजार मेगावाट बिजुली उत्पादन गरिन्छ” । उनले भाषण ठोकिसकेपछि देशमा दुई वटा नयाँ प्रधानमन्त्री आइसकेका छन् । एउटा ले कामचलाउ सरकार को प्रधानमन्त्री भएर देश चलाइरहे र अहिले आ’का नयाँ प्रधानमन्त्री आफू एक्लै ले देश हाँकिरहेकाछन् ।
पर्चन्न काम्रेड को पाला मा १८ घन्टा लोडसेडिङ भएपछि, उनले खुलामञ्च बाटै सबै को सत्तोसराप गरेका थिए । अनि अहिले झल्नाथ हुने वित्तिकै एकै दिन का लागि सही तर दिनभरि बत्ति आउँदा सबै छक्कै परे । देवी को झापड खा’र पर्धा’नमन्त्री बनेका झल्नाथ ले केही गर्छन् कि भन्ने हामीलाई लाइरा’च भन्नेहरु पनि भेटियो, त्यै भ’र गोप्य स’मति गर्या हो भन्ने पनि भेटियो, कुर्सी बार्गेनिङ गरेर । तर खै कुनै ले नि, बिजुली को बारेमा कुरा गरेको सुनिएन, केबल सम्चाँ’रा पढिन्छ त, फलाना जलविद्दयुत आयोजना को निर्माण कार्य रोकियो, तिलाना कार्यक्रम भनेको भन्दा २ गुणा समयमा पनि सकिएन । अरु त के हुन्थ्यो नेपाली लगानी मा बन्ने भनेर नाक घोक्र्याएको तामाकोशी पनि खै के हुँदैछ पत्तो छैन, अस्ति केही हप्ता अघि कुन मन्त्री र कुन पार्टी ले शिलान्यास गर्ने भन्ने विवाद मै अड्किरा’को छ भन्ने खबर पढ्न पाइयाथ्यो ।
अस्ति १ दिन पानी पर्दा त बिजुली आएको आएकै गर्छ भने, सँधै परे के हुन्थ्यो होला भन्ने लाग्छ । अझ कहिलेकाँही त सबै आयोजना छिट्टै, समय मै बने कति रमाइलो होला भन्ने लाग्छ । अस्ति १ दिन पानी पर्दा मोबाइल फोन मज्जा ले ‘फुल’ चार्ज गरियो । त्यो दिन त मोबाइल फोन ले पनि डायल गर्ने बित्तिकै लाग्छु झैँ गर्यो । तर अफसोच त्यो दिन ‘भ्यालेन्टाइन डे’ थिएन । पानी मा पनि एक्कैछिन रुझियो । मोबाइल को सानो स्क्रिन मा फेसबुक खोल्दा खोल्दा दिक्क लागेको बेला, धित मरुन्जेल ठूलो स्क्रिन मा फेसबुक चलाइयो । आफूलाई त फेसबुक नै नयाँ झै लागिरह्यो दिनभरि ! आएका म्यासेज र ईमेलहरु पनि मज्जा ले पढियो, कतिलाई रिप्लाई गरियो, कतिलाई बाल हो भनेर, घरै बसियो । दिनभरि फेसबुक चला’र बसियो, पढ्न पनि गइएन । पढ्न त सँधै गइहालिन्छ नि, बत्ति भन्ने कुरो पो सँधै आउँदैन, बाल हो क्लास, भनेर बसियो । त्यो दिन त टिभी पनि अघाउँजी हेरियो, २-३ वटा नेपाली च्यानल नि थप्पेको रै’छ ।
च्याट मा नि कति मान्छे आ’का हुन् त्यो दिन त ! सबै का फेसबुक र ट्विटर कति चम्केका झैँ देखिने, सबै रङ्गीचङ्गी देखिया’छ भनेर कोही कोही इर्ष्या पनि गर्दै’थे, विदेश तिर बाट ! असी रुप्पे तिर्नु पर्ने तर बिजुली चैँ १० रुप्पे को नि बाल्न नपा’को बेला, अकस्मात बत्ति आउँदा सूर्य नै पश्चिम बाट उदा’जसरी यही बिजुली को चर्चा परिचर्चा चलिरह्यो । फोन मा होस या बाटो मा भेट गर्दा, मान्छेहरु “हाम्रो मा त बिजुली आ’को आकै छ, के उदेक भा’को हो” भनेर भन्नेहरु पनि भेटियो । त्यति मात्र काँ’हुनु फेसबुक का स्ट्याटस मा पनि बिजुली कै कुरो, ट्विटर को ट्विट मा पनि बिजुली आ’को कुरो । हाम्रा एकजना साथी भर्खर विदेश गएका उनी त ‘लोडसेडिङ सिक’ पो भएछन् भन्या, अस्ति ट्विटर मा ट्विटिँदै थिए, “हैन क्या हो यस्तो, याँ त बत्ति आ’को आकै गर्छ भन्या” ।
आज पनि पानी पर्ला पर्ला जस्तो स्थिति देख्नासाथ मोबाइल बाटै सही सबैले फेसबुक र ट्विटर मा लेख्न भ्याइसके । अफिस मा भा’काहरु बेलुका घर जाँदा बत्ति होस भन्दैछन् । कोही चाँही लौ यता त पानी पर्यो, बत्ति बाल्न पाइने भो भन्ने लेख्दैछन् भने ट्विटर मा त ‘पर्न लागेको पानी’ र यसले ‘लोडसेडिङ’ मा पार्ने प्रभाव को विषय मा नै ट्विट छलफलहरु चल्न थालिसकेकाछन् । भर्खर एउटा साथी ले पानी पर्यो भन्दै फोन नै गर्यो, सोध्यो “तेरो तिर पानी पर्या छैन” ? “अहिले सम्म परेको छैन, अब पर्छ होला” मैले भने !
फोटो : प्रेम छिरिङ शेर्पा
हाम्रा एकजना साथी भर्खर विदेश गएका उनी त ‘लोडसेडिङ सिक’ पो भएछन् भन्या, अस्ति ट्विटर मा ट्विटिँदै थिए, “हैन क्या हो यस्तो, याँ त बत्ति आ’को आकै गर्छ भन्या” । :D
ReplyDelete