ग्राहक को पर्खाइ मा
हात को मुठी भित्र सल्किरहेको चुरोट छ, नेपाली ढाकाटोपी, अनि कोट र गोल्डस्टार जुत्ता मा सजिएका बुढा बा, पुरानो वसपार्क छेवैको, एक पर्खाल को आड मा ग्राहक को पर्खाइ मा छन् । काँटावाला, तराजु लिएर बसेका उनी, मान्छे को तौल जोख्छन्, तौल जोखि माग्नेहरुले पैसो तिरेर आफ्नो तौल जोख्छन् । यो फोटो लिएको समय नेपाली कांग्रेस को महाधिवेशन चल्दैथियो । बाटोभरि मान्छेहरु को भिड थियो, तर यस्तो लाग्दैथ्यो यी बुढा बा लाई केही वास्ता थिएन । उनी चुरोट तान्दै आफैँ मा हराइरहेका झैँ देखिन्थेँ ।
ढल्किँदो दिन
त्रिपुरेश्वर मा अवस्थित मन्दिर को फोटो खिच्दा, पश्चिम मा सूर्य डुब्न लागिसकेको थियो । कोलाहाल को बिचमा उभिएको मन्दिर आफू मा चाँहि साह्रै शान्त छ । पुल्चोक मा आयोजित लोकस २०१० हेरेर फर्किँदै गर्दा, थकाइ मार्ने उद्देश्य ले यही मन्दिर मा एकछिन अडिएको थिँए ।
झोलुङ्गे पुल
ललितपुर बालकुमारी मा, मनोहरा खोला माथि रहेको झोलुंङ्गे पुल ! यो फोटो खिच्दा, मौसम सफा थिएन, हल्का वर्षा भइरहेथ्यो । त्यसदिन केही साथिहरु को साथ मा, नयाँ वानेश्वर, शंखमुल हुँदै यो झोलुङ्गे पुल तरेर, बालकुमारी हुँदै पाटन डुलेर, पुल्चोक बाट ओरालो लाग्दै, कुपुण्डोल पुल तरेर, बबरमहल बाट धुलिखेल को लागि गाडि चढिएको थियो ।
सूर्योदय
सूर्योदय हुने बित्तिकै को मौसम, साह्रै नै रमाइलो लाग्छ । यो फोटो, बिहान सूर्योदय भएको बखत, कोठाको झ्यालबाट कपन मा खिचिएको हो ।
चिया कि मकटेल
केही हप्ता अघि, जमल छेउ को कुनै रेष्टुरेन्ट/बार छिर्दा, वेटर ले मेनु लिएर आए । मेनु मा खै कुन्नि के “…. टि” थियो । अरु नाम थाहा नभएको के खानु, ‘टि’ नै खाने भनेर अडर गरियो । त्यसको आधाघन्टा पछि, वेटर ले ‘टि’ भन्दै यो ल्याएर टेबुल मा राखिदिए । आज अचम्म को ‘टि’ खाने भइयो भनेर स्ट्र ले के तानिएको थियो, टर्वो स्वाद आयो, बियर भन्दा नि नमिठो लाग्यो ‘टि’ ! पछि वेटर ले भन्यो, यो ‘चिया’ होइन, यो ‘टि’ त मकटेल हो ।
गमला कि स्ट्रे
म्यानहटन् चलचित्र महोत्सव हेर्न अस्ति को शुक्रबार रसियन कल्चर सेन्टर, कमलपोखरी पुगिएको थियो । चलचित्र सकिएपछि, चियापान कार्यक्रम थियो । आफूले नि चिया लिएर बाहिर आएँ । बाहिर केही मान्छेहरु चुरोट को धुँवा उडाइरहेक थिए । खाइसकेको चुरोट को ठूटो भने, छेवै को गमला मा राखिदिए । गमला त स्ट्रे पो भयो । खै के भन्ने तिनीहरुलाई ?
फेसन
कमलपोखरी बाट कपन पुग्ने क्रममा, हाँडिगाउँ पैदलै छिचोल्दै थिँए । गहनापोखरी बाट अघि बढ्दै जाँदा, एउटा चोक मा देखेँ, रक्सी ले मातेर नै हुनुपर्छ एकजना बाटो छेवैमा सुतिरहेको थियो । उसको क्याप टोपी ले टाउको लाई छोडेको थियो । एकातिर छेउ मा कोहि अरुकै साइकल रोकिएको थियो । त्यो मुडो झैँ लडिरहेको मान्छे र त्यो साइकल को क्यारियर मा च्यापिएको झोला मा लेखिएको ‘फेसन’ शब्द ले मलाई कता कता झस्काइदियो । अनि ती दुवैलाई आफ्नो मोबाइल क्यामेरा को फ्रेम भित्र पारेँ ।
डाँडामाथि सरर
बल्खु देखि हेटौँडा जाने बाटो, अहिले निकै चल्ति मा रहेको बाटो बनेको छ । ती अजंग का पहाड मा सानो गाडिहरु मात्र गुड्न सक्नेगरि बाटो खनिएको छ । मोटरसाइकल र सुमो गाडिहरु यही बाटो बाट हिँड्छन् । डाँडा मा हेर्दा, बाटोहरु एउटा सानो धर्सा जस्तो देखिन्छन् । तल का दुवै फोटो, (बाटो तथा धानखेत) कुलेखानी ड्याम छेउ को गाउँ मा कुदिरहेको गाडिबाट लिइएको हो । (ठाउँ को नाम बिर्सेँ)
लंगुरबुर्जा
बाटो बाटो मा लंगुरबुर्जा देखेपछि, दशैँ तिहार या अन्य केही चाड आएको थाहा हुन्छ । हामी लंगुरबुर्जालाई ‘खडखडे’ पनि भन्थ्यौँ । अब त, लंगुरबुर्जा पनि थरिथरिका फोटोहरु राखेर खेलाउन थालेछन् । अस्ति वनेपा पुग्दा, वनेपा मा खुलेआम लंगुरबुर्जा खेलाइरहेका थिए, अनि खेलिरहेका थिए । अनि दाउ थाप्न को लागि, लंगुर मा महादेव र बुर्जा मा गणेश को फोटो थियो ।
हाइटेन्सन लाइन
कुलेखानि बाट उत्पादित बिजुली यही हाइटेन्सन लाइन हुँदै, देशभरि बाँडिएको छ । सँगै साना ठूला अन्य खम्बाहरु पनि छन् । फोटो, मकवानपुर को देउराली मा खिचिएको हो ।
शहर
गाडि जहाँ धेरै देखिन्छन् वा हुन्छन् त्यही नै शहर हो । सुन्धारा को ‘ओभरहेड ब्रिज’ बाट काठमाडौँ मलतर्फ हिँडेका गाडिहरु, कमिला का ताँति झै देखिन्छन् । गाडि धेरै, बाटो थोरै हुँदा, सँधै जाम झेल्नुपर्ने बाध्यता रहेको छ । साथै त्यसै समय मा, धरहरा को फोटो पनि खिचिएको थियो । काठमाडौँ आउन जो कोही, धरहरा/टुँडिखेल छेउछाउ पुग्छन् भन्ने मेरो विश्वास छ ।
बन्द
केही समयअघि माओवादी ले गरेको बन्द का कारण, सुनसान देखिएको गौशला क्षेत्र । सँधै व्यस्त र अत्याधिक जाम हुने, गौशला क्षेत्र मा एउटै गाडि नदेख्दा, अचम्म पनि लाग्दोरहेछ ।
यौन पत्रिका को बाढि
बजार मा “यौन र पोलिटिक्स बिक्छ रे” । केही दिन अघि एक पत्रिका पसल मा पुग्दा, त्यहाँ तल्लोस्तर का यौनपत्रिका नै धेरै देखेँ, आफूले खोजेको पत्रिका भने भेट्न सकिन :( ।
अहिले सोच्दा लाग्छ, यो इन्टरनेट मा अश्लिल साइट को निहुँ गरेर, इन्टरनेटलाई सेन्सर गर्नु सट्टा, यस्ता तल्लोस्तर का पत्रिका निकाल्ने प्रकाशक, लेखकहरुलाई चाँहि खोजेर तुरुन्तै कारवाही गरे हुने थियो । सामाजिक विकृति त यस्तै पत्रिकाहरु ले धेरै निम्त्याइरहेका छन् ।
* सबै फोटोहरु ‘नोकिया ६३००’ मोबाइल बाट खिचिएका हुन् । (यो नोकिया को विज्ञापन भने हैन है)