पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेस का सभापति गिरिजा प्रसाद कोइराला को निधन को खबर पराल को आगो झैँ इन्टरनेट मा फैलियो । नेपाल मा अहिले सम्म, यस किसिम को खबर या भनौँ कसैको मृत्यु को खबर इन्टरनेट मा फैलिएको थिएन तर कोइराला भने अपवाद का रुप मा इन्टरनेट मा छाइहाले । यति चाँडो इन्टरनेट मा फैलनु चानचुने कुरा पक्कै पनि होइन, यसबाट प्रस्ट हुन्छ कि, नेपालीहरु कोइराला प्रति कति उत्सुक थिए । सर्च मा अधिपत्य जमाएको गुगल ले पनि भन्यो, ‘त्यसदिन सबैभन्दा बढि खोजि गरिएका व्यक्ति थिए गिरिजा प्रसाद कोइराला’ ।
निधन को खबर फैलने बित्तिकै एकैपटक त्यति धेरै मात्रा मा खोजि गरिएका व्यक्ति बने, कोइराला गुगल मा । गुगल युएस ट्रेन्ड ले यो कुरा को पुष्टि गरिसकेको छ । यसबाट प्रस्ट थाहा हुन्छ, उनको लोकप्रियता चानचुने थिएन, अनि सारा संसार भर का नेपाली जान्न उत्सुक थिए आफ्ना नेता को बारेमा । फलस्वरुप, नागरिक न्युज, नेपाल न्युज, ईकान्तिपुर आदि साइट त डाउन नै भए, भिजिटर को चाप थाम्न नसकेर । नेपाली ईतिहास मै, यस्तो कहिले भएको थिएन । कोइराला को निधन, अनि शवयात्रा मा देखिएको मानवसागर ले पनि, कोइराला को महत्व प्रष्ट पारिसकेको छ । उनले गरेका नराम्रा भन्दा राम्रा कुराहरु को चर्चा अत्याधिक भइरहेको छ, फेसबुक, ट्विटर, ब्लग, वेवसाइट, टेलिभिजन, रेडियो तथा अन्तराष्ट्रिय मिडियाहरु मा ।
रेडियोहरु ले दिनभर आफ्ना नियमति कार्यक्रम प्रशारण गरेनन्, नेपाली इतिहास मै पहिलोपल्ट नेपाल का १० वटै टेलिभिजन ले एकसाथ कोइराला को निधन तथा शवयात्रा को लाइभ टेलिकास्ट गरिरहे । पत्रपत्रिका पनि यसबाट अछुतो रहेन, प्राय निस्केका सबै पत्रिका कोइराला कै खबर ले भरिएकाछन् ।
रेडियो, टिभि, पत्रपत्रिका मा छाउनु कुरा त सामान्य नै भो, जब कि कोइराला ट्वीटर, फेसबुक, ब्लग र वेवसाइट मा छाइरहे । संसार को जुन सुकै कुना मा रहेका नेपाली ले पनि तत्काल खबर थाहापाए । निधन को खबर के चुहिएको थियो, माइक्रो ब्लगिङ साइट ट्विटर मा अधिकांश ले लेखिहाले, ‘कोइराला को निधन’ । त्यस्तै सामाजिक सञ्जाल फेसबुक पनि कोइराला ले नै भरियो । अधिकाशं को फेसबुक स्टाटसमा कोइराला छाइहाले लेखिहाले RIP GPK .(Rest In Peace Girija Prasad Koirala) ।
जताततै कोइराला छाएका थिए, इन्टरनेट मा अरु जुनसुकै कुराहरु आएका भएपनि सबै गौण थिए । सबै नै कोइराला को निधन मा चिन्तित देखिन्थे, ‘शान्ति प्रकृया र संविधान’ के होला भन्दै ! साँच्चै, यो इन्टरनेट वृत मा नयाँ घटना थियो नेपाली का लागि, जहाँ एक नेपाली नेता सर्वत्र छाइरहेका थिए । निधन भएलगत्तै फेसबुक मा दर्जनौँ ग्रप र फ्यान पेज बनाइएका छन्, कोइराला प्रति सम्मान व्यक्त गर्दै । अधिकांश नेपाली न्युज पोर्टलहरु तथा नेपाली ब्लगर्सका ब्लगहरु पनि कोइराला को निधन बाट अछुतो रहेनन् । महामानव, महानायक को महाप्रस्थान आदि शिर्षक मा नेपाली पत्रपत्रिका ले खबर छापेका छन् ।
अहिले को स्थिति हेर्ने हो भने, भन्नैपर्छ कि अझै केही दिन कोइराला इन्टरनेट मा छाइरहनेछन् । फेसबुक का स्टाटस र ट्विटर का ट्विट हरुमा छाइरहनेछन् । धन्यछन् कोइराला अनि धन्य छ इन्टरनेट, धन्य छ ट्विटर र फेसबुक ।
केही पत्रकार तथा ब्लगर ले दिनभरि नै लाइभ अपडेट गरिरहे, ट्विटर, फेसबुक तथा ब्लग मार्फत । माइ रिपब्लिका का पत्रकार तथा ब्लगर उज्वल आचार्य दिनभरि नै ट्विटर मा व्यस्त देखिए, बिहान रंगशाला मा कोइराला को शव आएदेखि आर्यघाट को चिता मा सुजाता ले दागबत्ति दिए सम्म उनले ट्विटहरु गरिरहे । त्यस्तै हाम्रोब्लग का केपी ढुंगाना ले पनि शबयात्रा को वर्णन ब्लग मा गरिरहे ।