खोर्सानी का बिज जस्तै भनौँ या खोर्सानी जस्तै पिरो पिरो कुरा ले ‘बिजौला’ उपन्यास भरिएको छ । उपन्यास को नाम आफैँ मा पृथक छ अनि लेखक निर्मल थापा ले ट्याग भिराइ दिएकाछन् ‘श्रंखलाहीन उपन्यास’ तर उपन्यास पढ्दा यस्तो लाग्यो कि, यो एउटा उपन्यास नभइ गाली गलौज र नकरात्मक कुराहरुले भरिएको एउटा मध्यमस्तर को कृति हो ।
कृति मा ‘युवक’ नाम को पात्र छ ! अनि उपन्यास त्यही युवक को जिवन भोगाइ वरिपरि अघि बढेको छ । कृतिमा डायरी मा लेखिने लवज प्रयोग भएको छ भन्दा पनि फरक पर्दैन, किनकी यो उपन्यास लेखक को डायरी लेखन कै उपज हो । समग्रमा भन्दा यो हाम्रै वरिपरि को कथा बोकेको कृति हो, तर यसमा कुनै कथा भने छैन । लेखक ले कृति जहाँ बाट पढे पनि हुन्छ भनेकाछन्, अत: यसअर्थ मा यसलाई फरक मान्नै पर्छ । अधिकांश ठाउँ मा यहाँ गालि गलौज नै गरिएको छ, अनि जुन सन्दर्भ मा पनि नकरात्मक कुरा ले भरिएको छ । कृति मा सकरात्मक सन्दर्भ भेट्न निकै मुस्किल पर्छ ।
लेखक निर्मल थापाले “यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर सुरु मै ‘आफ्नो कुरा’ अन्तर्गत लेखेका छन् । उपन्यास पढिसकेपछि लाग्यो, यो उपन्यासलाई कुनै पनि पुरस्कार दिइयो भने पुरस्कार कै बेइज्जत हुनेछ, अत: लेखक ले पहिले नै भविष्य विचारेर,‘ आफ्नो कृति पहिलो र अन्तिम’ भन्नु मनासिव नै रहेछ । लेखक ले भने झैँ, यो कृति चल्ति को ‘ट्रेन्ड’ भन्दा पृथक छ, तर यसमा पनि खासै गह्रौँ कुरा त केही छैन ।
कृति पढुन्जेल, ठाउँ ठाउँ मा लेखक ले पाठकलाई भुल्याइरहेका हुन्छन्, नानाथरि का प्रसंगहरु जोडेर । कहिले सहर त कहिले गाउँ अनि कहिले स्वयम्भु त कहिले कहाँ । कृति मा ‘युवक’ नाम को पात्र छ, किताब भरि युवक पटक पटक दोहोरिन्छ, हरेक पेज मा युवक उपस्थित हुन्छ तर पाठक ले अन्त्य सम्म नै फेला पार्न सक्दैनन्, आखिर उपन्यास को ‘युवक’ ले के सन्देश दिन खोजेको छ !
हुन त उपन्यास मा लेखिएका दृश्यहरु हाम्रै वरिपरि का हुन्, अनि कत्ति कुरा मा ‘युवक’ हाम्रै प्रतिनिधि पात्र हो । अनि परम्परागत उपन्यास को ढर्राबाट यो बिल्कुल फरक छ, तर मलाई शंकै लाग्छ, यसलाई पनि उपन्यास भनिन्छ र ?
तर केही ठाउँ मा भने मर्मस्पर्शी, निकै गहन र सान्दर्भिक कुरा पनि गरिरहेको हुन्छन् लेखक । एक ठाउँ मा उनी भन्छन् “सहयात्रीहरु उस्तै छन्, कामलाई सानो भन्छन्, मुखले बोली मिलाउँछन्, आफ्नो काम को सफल सम्पादन पछि हराउँछन् सुदुर दिशामा ।’ अर्को लाइन मा लेख्छन् ‘मित्रहरु पर्खन्छन्, केही कुरा को खडेरी मा, आवश्यकता मा, जटिलता मा, दैनिक गुजारा को छन्द लरबराएको बखत Long Time No See भन्दै तातो हात बढाउँछन्’ ।
कृतिलाई पुरै नराम्रो भनेर लेबल लगाउन त सक्दिन तर धेरै ठाउँ मा लेखक ले तल्लो स्तर को व्यवहार गरेका छन् । नेपाल एफएम मा एउटा विज्ञापन बज्छ, “ठूलालाई आदर नगर भन्दै”, सायद त्यसकै प्रभाव हो कि क्या हो, लेखक ले ठाउँ ठाउँ मा मनलागि लेखेका छन् ।
“यो पुस्तक मेरो पहिलो र अन्तिम उपन्यास हुनेछ र यस कृतिलाई कुनै पनि पुरस्कार दिइयो भने ससम्मान अस्विकार गर्ने रुचि छ” भनेर लेखेका लेखक ले एकठाउँ मा लेखेकाछन्, “देशको सम्मानित बूढो लेखक, अमेरिका जान नपाएको झोँक मा राष्ट्रिय दैनिक अखबार मा लेख्छ – कुरुप शीर्षक मा ‘मलाई नर्क जा भन्यो भने तयार छु तर अमेरिका जाने छैन’ । सायद पुरस्कार पाइँदैन भन्ने झोकँ मा लेखक ले परस्कार दिइयो भने पनि लिन्न भनेका त हैनन् ।
पात्र युवक को, कवि, साहित्यकार, कलाकार देखि बाबु आमा, साथि भाइ आदि सबै सँग गुनासो छ । युवक को गुनासो त किताब मा झन् मज्जैले लेखिएको छ । कहिँ रोगी साहित्यकार को रोगी साहित्य भनिएको छ त कहिँ अन्तर्मन को यात्री भन्दै जगदिश घिमिरे,कहिँ नारायण वाग्ले, त कहिँ कृष्ण धरावासी, सञ्जिव उप्रेती लगायत का साहित्यकार को बद्खोइ गरिएको छ । युवक ले भिक्षुहरु बस्ने ठाउँ वरिपरि कन्डम को थुप्रो भेटेँ भन्छ तर युवक को भनाइ मा कति सत्यता छ थाहा छैन ।
लेखकलाई लाग्दो हो, ठूला ठूला शब्द राखेर वाक्य बनाएपछि त्यसै राम्रो हुन्छ तर मैले कुनै कुनै वाक्य त जति नै दोहोर्याएर पढ्दा पनि केही अर्थ लगाउन सकिँन । एक ठाउँ मा अर्थ न बर्थ को वाक्य यस्तो लेखिएकोछ, “ममता ले निथ्रुक्क भिजेका कामना का पङ्खहरु महत्वकाङ्क्षा को पहाड उक्लदैँ गर्दा ढुंगाको खिरिलो भुँइमा मनहरु नाङ्गै सुत्छन्” । लेखक को विम्व को प्रयोगहरु देखेर म तिनछक्क परेँ बेलाबेला मा । अर्को लाइन मा लेखेका छन् ‘दर्शन को विगुल फुक्दा चोइटिएको चुल्ठो आभास शब्दहरु मा पोखिन्छ’ ।
लेखक ले केही ठाउँ मा अत्यन्त क्लिष्ट शब्दहरु को प्रयोग पनि गरेका छन् । एक ठाउँ मा लेख्छन् ‘उदेक लाग्दो शशि शाह को पिकासो बिर्साउने चित्रकला हेरेर सुसु गरौँ लाग्छ वा प्रगतिशिल लोकतनन्त्रधारी मुखौटेहरुको कविता, चित्र र सङ्गितलाई नगरबधु को गुप्ताङ्ग मा ‘फिक्स डिपोजिट’ को रुप मा सञ्चित गरिदिउँ लाग्छ । थाहा छैन, उनले आफ्नो कृतिलाई कुन स्तर मा राखेका छन् ?
मलाई ‘बिजौला’ ले तान्न सकेन, पढुन्जेल केही ठाउँ मा, ए यो कुरा त हो नि भन्या जस्तो भयो, तर पढिसकेपछि ‘बिजौला’ गालीगलौज को श्रृंखला भन्दा बढि केही लागेन । मुख्यत: अग्रजहरु प्रति लेखक ले देखाएको रुखो व्यवहार तथा दृष्टिकोण मलाई चाँहि मन परेन ।
सायद ब्लग मा म पनि ‘बिजौला’ प्रति नकरात्मक रुप मै प्रस्तुत भएँ होला तर आफैँलाई कुरो खुट्याउन मन छ भने, रङ्ग नेपाल ले प्रकाशन गरेको निर्मल थापा को ‘बिजौला’ हेर्न एकपटक आग्रह गर्छु है । कृति जे जस्तो भएपनि कृति को अन्तिम पृष्ठ मा लेखेक ले लेखेको कुरा चाँहि यस्तो छ “मान्छेहरु मलाई जे सोच्छन् त्यो ‘म’ होइन र ‘म’ जे हुँ – त्यो कसैलाई भन्ने छैन ।
बिजौला को केही राम्रा अंश पढ्ने भए यहाँ छ है ।