
रारा बिमानस्थल कल्पनाको बिमानस्थलभन्दा एकदमै फरक छ । वरीपरी बारबन्देजले घेरिएको र आधुनिक संचार सुबिधा सहितको धुले भएपनी ब्यबस्थित होला भनेर कल्पना गरेको थिएँ । तर यहाँ बिमानस्थलको पश्चिम तर्फ माथि पुराना र धुवाँले कालो पारेको सिसाका झ्यालहरुले घेरिएको सानो कोठाबाट बिमानसँग संचार संपर्क हुन्छ र त्यहाँ एक दुई होटल र बिमान कम्पनिका कार्यालयबाहेक फाट्टफुट्ट घरहरु मात्रै छन । बारबन्देजको त कुरै छोडौ । जहाज आउनेबेला साइरनको आवाजसँगै प्रहरिले धावनमार्ग खाली गराउँछन ।
बिमानस्थलको एक छेउमा अघिल्लो बिमानमा आएका केही बोरा चामल मिलाएर राखिएको छ । सेतो बोरामाथि 'बिश्व खाध्य कार्यक्रम' र यसको लोगो प्रस्ट देखिएको छ । केही तल त्यस्तै बोराहरु खच्चरमा लादिँदैछ । बिमान उडेपछी खच्चर, मान्छे र सुरक्षाकर्मी धावनमार्ग वरपर बेपर्वाह छरिन्छन ।
डाँडामा रहेको बिमानस्थलमा चलेको चिसो हावाले शरीर चिस्याउँदै लान्छ । उत्तर र पुर्वतिर देखिने हिमालहरुमा फाट्टफुट्ट सेता हिउँ देखिन्छन । दक्षिण तिर भने घुच्ची लेकको तालुखुइले डाँडो लमतन्न पसारिएको छ । ३५ मिनेटको मात्रै यो छोटो यात्राबाट म कती फरक संसारमा आइपुगेको छु । न मोटरको घाइँघुइँ, न बिजुलिको झिलिमिली, न क्यासेट र रेडियोमा बजेका उत्ताल संगीतहरु न त मान्छेहरुको अनावश्यक भिडभाड । चारैतिर जता हेरे पनि बिशाल पर्खालजस्ता लाग्ने डाँडाहरुको बिचमा एउटा प्राकृतिक कारागार मा परेको कैदी जस्तो म...
...... अघिसम्म बिमानस्थलछेउमा चुपचाप बसिरहेका मैला लुगा लगाएका, हातहातमा नाम्लो बोकेका र काला महिला र केटाकेटिको हुल एक्कासी ओर्लिएका यात्रुहरुको सामानमाथि जाइलाग्छन् । 'सामान गुमगढी लिन्या हौ?' सबैको यौटै प्रश्न... केही प्रहरी तिनिहरुलाई हकार्दै लघार्छन । मैले आजभन्दा अघी अनुभव नगरेका अनुहार चालढाल, आभुषण र लवज भएका उनिहरु देखेर मलाई एकैछिन रमाइलो लाग्छ । ति प्रतिक्षारत आँखाहरुको एक दुई तस्बिर लिएपछी म उनिहरुलाई मेरो सामान सदरमुकामसम्म लगिदिन भन्छु । सदरमुकाम अझै ओह्रालै ओह्रालो २ घण्टा को पैदल दुरिमा छ । "कती दिन्या हौ? " मेरो सामान बोक्न साह्रै मैलो फरिया र पछ्यौरा ओढेर आएकी एउटी काली महिलाले सोध्छिन । तपाईं कती लिनुहुन्छ ? म उल्टो प्रश्न गर्छु । "तिम्मो सामान तिमीनै भन कती दिन्या हौ ?" म मेरा सहयोगिसँग सल्लाह लिएर उनलाई १५० रुपैयाँ दिन राजी हुन्छु । "आ.... !" म यत्ती मात्र बुझ्छु उनी त अरु के के पनि भन्दै थिइन् । उनको लवज बुझ्न नसकेर मैले मेरा स्थानिय सहयोगिलाइ सोधेर उनले भनेजतिनै दिन तयार भएँ । उनी आफ्नो पछ्यौरा फुकाएर मेरो झोला भारी बनाएर बोक्न तयार पारीन् । म भने त्यो अनौठो बातावरण नियालिरहेँ...
अब यहाँबाट लगातार २ घण्टाको ओरालो ओर्लनु छ । सामानको भारी बोकेकी महिलालाई मेरो कार्यालयको ठेगाना दिएर म अगाडि लाग्छु तर उनी एकैछिन पछी हाम्रो अघी देखापर्छिन । उनको पछ्यौरामा पोको पारेर नाम्लो लगाएको भारी माथि १ बर्ष पनि नपुगेको जस्तो देखिने उनको बच्चा पनि छ । त्यो देखेर मन अमिलो हुन्छ तर गर्न के नै सकिन्छ र ? अघी एअरहोस्टेसले दिएकी चकलेट बच्चाको हातमा दिन्छु । ऊ मिठो मानेर चकलेट खान्छ तर उसको कैँयौँ दिनदेखी सफा नगरेको जस्तो देखिने फोहरी अनुहार, कपडाहरु देखेर मलाई दिगमिग लाग्छ । महिला र बालअधिकारको बारेमा काठमाडौंमा कुरा गरेर कहिल्यै नथाक्ने गैरसरकारी संस्थाहरुलाई यो द्रिश्यले कहिले छुने होला ।
एअरपोर्टको उत्तरी छेउबाट झर्दै गर्दा एउटा ट्र्याक्टर बिमानस्थल निर्माणको काम गर्दै गरेको देखिन्छ । म सोच्छु हेलिकोप्टर चढेर आइपुगेको यो ट्र्याक्टर मुगू जिल्लाकै पहिलो मोटर होला । माथि सेतो कमेरोले पोतेका र थेप्चो छाना भएका घर वरपर सिवकथ्रोनको जङ्गल खैरो देखिन्छ । जिवनमा पहिलोपटक स्याउ, ओखर र सिवकथ्रोन (डालेचुक)का बुटाहरुलाई मैले यती नजिकैबाट देखेको छु । माघ को महिना हुनाले बारीमा खासै बालिहरु देखिन्नन । एअरपोर्टको छेउबाट गमगढी बजार नजिकै जस्तो देखिन्छ ।
गोरेटो बाटोबाट तलतिर झर्दै गर्दा सिवकथ्रोनका बुटाहरु फाट्टफुट्ट देखिँदै हराउँदै जान्छन । गमगढिलाई रारा बिमानस्थलसम्म जोड्न बर्षौअघी शुरु भएको सडक खनिरहेका स्थानिय मजदुरहरु सावेल, कोदालो र हम्मर चलाइरहेका देखिन्छन । भर्खरै सडक बनाउन फोरिएका पहराका सेता चट्टानहरु दिउँसोको घाममा टल्किरहेका छन । बाटैमा पानीको मुल भेटिएपछि मलाई एक्कासी तिर्खा लागेर आउछ । आच्छु !!! कती चिसो पानी ! मेरो हात पर पुग्दा सम्म पनि ठिहिर्याइरहन्छ । सडकै सडक हिंड्न लामो पर्ने हुँदा त्यसलाई छोडेर गोरेटो बाटो तिर लम्कन्छु । चामलका भारी बोकेका एक हुल खच्चरले उडाएको धुलोले बातावरण नै धमिलो हुन्छ म हतार हतार खच्चरहरुभन्दा अघी लाग्छु ।

त्यो गाउँ र खस्रुको पातलो जङ्गल छिचोलेपछी प्रस्ट देखिन्छ, पुर्व तिर ओरालो पर्दै गएको डाँडा मा टक्रक्क अडिएको कारीव ४०० घरधुरी भएको सदरमुकाम गमगढी । ढुङ्गा को बिसौनिमा म एकै छिन सुस्ताउँछु । गमगढी वरपरका थेप्चा छाना भएका झुरुप्प घरहरुले बनेका गाउँहरु फुँग उडेको जस्तो देखिन्छन । बिध्यालय र सदरमुकामका घरहरुमा भने टिनको छाना टल्किरहेको देखिन्छ । तल, थोरै क्षेत्रफल भएको फाँटमा गहुँ, जौ भर्खरै उम्रिएर हरिया भएका छन । गाउँको बिचबिचमा र खेततिर पनी टिनका खम्बाहरु गाडीएका छन । मलाई गमगढिमा बिजुली छैन भन्ने थाहा छ तर चाँडै बिजुली आउने संकेत दिने ति खम्बाहरु देखेर रमाइलो लाग्छ । पर गमगढिको डाँडामा टेलिकमको भु-उपग्रहिय संकेत समात्ने सेतो छाता (डिस्क / disk) र मोबाईल को टावर देखिन्छ । यो चाँही मेरो लागि सबैभन्दा खुशीको बिषय छ ।
लगातारको ओरालो हिँडाइले पिडौलामा मासु गाँठो परेको जस्तो भएर साह्रै गाह्रो भएको छ । गमगढी पुग्नु अघी त्यस्तै फोहर गोरेटो भएको एउटा गाउँ र सानो 'चैन खोला' पार गर्छु । त्यो पुरा ओरालो पार गर्न लगभग साँढे २ घण्टा लागेछ । गमगढी पुगेर हेर्दा भर्खरै हिंडेको बाटो देखेर आँफै अचम्म मान्छु । माओवादी द्वन्दकालमा सामन्ती सरकारका चिन्ह भनी ध्वस्त पारीएको कार्यालयको छेउमै बनाइएको कामचलाउ कार्यालय र त्यसकै आँगनको डिलमा रोपिएका र हिउँदमा पात झरेर जिङ्रिङ्ग परेका उत्तिस र बकाइनोका रुखहरुले मुगू प्रवेशमा स्वागत गरेझै लाग्छ मलाई...... ।