अन्त्य के हो ? खै, के हो के हो, मेरो मगज ले भेट्न सकेको छैन । साँच्चै भन्ने हो भने, ‘अन्त्य’ के हो भनेर मैले ठम्याउन सकेको छैन । सायद, अरुहरुलाई नि, ‘अन्त्य’ या भनौँ ‘अन्तिम विन्दु’ के होला भन्ने जिज्ञासा होला । पक्कै हुनुपर्छ, तर म पनि यहाँ अन्तिम विन्दु यो नै हो भनेर लेख्दैछैन, खासमा कहिले काँहि यो खालि खालि दिमाग मा नानाभाँति का कुराहरु आएर खेल्ने गर्छन् । त्यसकै प्रतिफल स्वरुप, म आज अन्त्य को खोजी गर्दैछु ।
अन्त्य केलाई मान्ने यही नै दुविधामा छु म, अनि कुन विन्दु या भनौँ कुन तहमा पुगेपछि अन्त्य भएको मान्ने ? मृत्युलाई नै अन्त्य मान्ने त हैन होला ? मर्दा पनि, शरीर मात्र मर्छ, आत्मा त कहिले मर्दैन रे, भने अन्त्य केलाई भन्ने, सिद्धि या पूर्ण केलाई मान्ने ?
अमेरिका, त्यहाँ दिनहुँ विकास भै’रहेको छ, अनि नेपाल पनि विकास को बाटो मा बामे सर्न खोज्दैछ भने केलाई अन्त्य मान्ने ? कुन तह मा पुगेपछि विकास भएको मान्ने ? हामी अमेरीकी जत्तिकै भएपछि विकास भएको मान्ने हो त ? यो पनि सम्भव छैन, उनीहरु जति जति अघि बढ्छन् हाम्रो अन्त्य को खोज पनि त्यती नै टाढा टाढा भाग्छ ।
पूर्ण केही पनि छैन, कोही पनि छैन, सायद अन्त्य पनि त्यस्तै हो । जन्मेपछि मृत्यु अवश्यम्भावी छ, जन्मलाई सुरुवात मान्दा त मृत्यु नै अन्त्य हो । तर सायद अन्त्य भन्ने कुरा हाम्रो यो शरीर सँग पनि सम्बन्धित छैन । अन्यथा सुरुवात छ भने अन्त्य छ तर हामी विश्वास गर्छौँ आत्मा मर्दैन । तर पनि सुरुवात छ भने अन्त्य पनि हुनैपर्छ । खै, आफैँ दुविधा को भुमरी मा छु, अन्तिम विन्दु के होला भन्ने कौतुहलता बढ्दै गएको छ । सायद, बुद्धत्व प्राप्त गरे अन्त्य को पनि पत्ता लाग्थ्यो कि ?
मेरो खोजाइ को अन्त्य के हो ? के भेटियो भने, मैले मेरो खोजाइ को अन्त्य भएको मान्ने, म आफू कहिले अन्तिम विन्दु मा पुगेको मान्ने ? यहाँ बस्नलाई घर बनाइन्छ, तर उसको भन्दा ठूलो, या उसको भन्दा सानो ।
यदि कम्पेयर गरिन्छ भने यो कम्पेरिजन को अन्त्य के त ? कति भएपछि, कुन सतह मा पुगेपछि सन्तुष्ट भइन्छ त ?सायद अन्त्य को कुरा गर्दा मगज सन्केछ भनि भन्नुहोला तर अचानक एकदिन यो ‘अन्त्य’ भन्ने शब्द सँग ठोक्किन पुगेँ । त्यसपछि खोज्न थाल्दैछु, भलै शब्द मै सही तर पनि ‘अन्त्य’ को अर्थ रियला टाइममा खोज्दैछु । लिमिट भनेको कति हो ? अन्त्य को सूचक के होला ?
अहिले कोठा भाडा मा बस्नेलाई एउटा सिंगै फ्ल्याट लिन पाए हुन्थ्यो भन्ने लाग्छ, फ्ल्याट मा बस्नेलाई घर, अनि घर भएकोलाई त्यसको जस्तो वा त्यसको भन्दा ठूलो, त्यसको भन्दा उस्तो, भइदिए हुन्थ्यो जस्तो लाग्छ भने । सिम्पल लजिक, हाम्रो इच्छा र चाहना को अन्त्य के ? हामी पढ्छौँ, लेख्छौँ, काम मा घोटिन्छौँ, राजनिति का नाम मा रगत को खोला बगाउँछौँ, देश विदेश डुल्छौँ तर के का लागि ? सायद, हामी मा रहेको चाहना को परिणति हो, अनि चाहना को छेउटुप्पो भेट्न कठिन छ ।
ब्लग लेखियो ब्लगस्पट मा, आफ्नै डोमेन चाहियो । डोमेन भयो, अब अर्को कुरा चाहियो, त्यसपछि अर्को, उसको जस्तो ब्लग, उसको भन्दा राम्रो ब्लग । राम्रो नाप्ने, जाँच्ने कसी के ? मेरो लक्ष के ? अन्तिम विन्दु के ?
मान्छे सुविधा भोगी, सबैलाई सुविधा चाहिएको छ तर केलाई सुविधा मान्ने, के ले सुविधा को जाँच गर्ने ? ‘जेम्स बोन्ड’ को जस्तो सुविधा भए, हाम्रा सुविधाहरु को अन्त्य हुने हो र ? त्यो पनि हैन होला, प्रत्येक चलचित्रमा जेम्सबोन्ड झन् शक्तिशाली र नयाँ नयाँ सुविधा को प्रयोग गर्छन् भने यो सुविधा को अन्त्य छ र ? हो नि, जेम्स बोन्ड, झनै परिष्कृत भएर आउँदैछ, मान्छे को कल्पना शक्ति ले भ्याएसम्म को सुविधा जेम्स बोन्ड ले लिने गर्छत तर यो परिकल्पना भन्दा पर के त ? कहाँ पुगेपछि मान्छे को कल्पना को अन्त्य हुन्छ ?
एक सिक्का का दुई पाटा तर त्यो बिच को भाग नि ??? त्यो चाँहि के हो नि, कहाँ बाट तेस्रो पाटा निस्कियो ? दुई पाटा बन्न बिचमा अलिकति मोटाइ हुनै पर्छ, डाइमेनसन बिना एउटा सिक्का मा दुईपाटा हुन सम्भव छैन भने त्यो बिच को भाग को अन्त्य के ? त्यो बिच को भाग को मोटाइ कति हुँदासम्म, कति नानोमिटर हुँदासम्म सिक्का मा दुईटा पाटो रहन्छ ।
गणितिय हिसाब ले हेर्दा शुन्य अन्त्य होला तर त्यही शुन्य ले तहल्का मच्चाइदिन्छ, यदि शुन्य कुनै अंक सँग आयो भने । शुन्य को के मतलब, यसै भनिन्छ तर अरब र खरब मा कति अंकहरु हुन्छन्, फ्याट्ट भन्न पनि गाह्रो छ । साँच्चै भन्दा, यो अंकहरु को गणना को अन्त्य के हो ? सुपर कम्प्युटर अझै पनि अंक गणना गर्दैछ । लिमिट के होला, के हामी सँग केही आँकडा छ, अंक को अन्त्य बारे ।
के कसैले तोकिदिएको छ र ? यत्ति लेख, यत्ति गर भनेर ? सायद मगज सन्किन थाल्छ होला, विनाकाम मा यही अन्त्य के हो भनेर पछि लागेर खोज्दै जाने हो भने । थाहा छ, यस्ता कतिपय प्रश्नहरु को जवाफ हामी सँग छैन तर पनि बेला बेला हाम्रो यो दिमाग को एकपाटो ले यस्तै यस्तै कुराहरु सोचिदिन्छ ।
यस्ता कुराहरु को अर्थ खोज्नु निरर्थक छ भन्ने जान्दा जान्दै पनि, कहिलेकाँहि सोच्दै जाँदा धेरै टाढा पुगिने रहेछ । सुन्दा साधारण तर कुरा निकै गहिरो । हामी त एकैपटक मा साधारण जोड, घटाउ नि गर्न नसक्ने रहेछौँ । हामीले जति नै फुर्ति लाएपनि ‘२ र २’ एकैपटकमा जोडेर नतिजा भन्न सक्दैनौँ, २ मा २ जोड्दा दुई स्टेप नै हुन्छ । आफ्नो मनलाई साक्षि मानेर एक पटक ‘२ र २’ एकैपटक मा जोड्ने दुस्साहस गर्नुस् त ? सफल हुनुभयो भने भन्नुहोला है ।
यस्ता कुरा त धेरै छन्, अर्को साधारण कुरा, २४०० पर्ने कोठमा २ जना बस्दा १२०० तिर्नुपर्छ, १२ जना बसे २०० तिर्नुपर्छ अनि २४ जना बस्दा एकजना ले १०० रुपैयाँ तिरे पुग्छ भने, कुन परिस्थितिमा तिर्नुपर्ने रकम शुन्य हुन आउँछ । साधारण जवाफ, कोही नबसे केही तिर्नै पर्दैन तर यो त फेरी गणितिय नियम बाहिर गयो हैन र ? सोझो हिसाब, २४ जना बसे १०० रुपैँया तिर्नुपर्छ भने, धेरै मान्छे बस्दैगए पैसा थोरै तिर्दै जानुपर्छ, अनि शुन्य पनि सानो नै हो, अत: कति जना मान्छे बसे भने शुन्य रुपैँया तिर्नुपर्छ ? के रियलटाइम मा यसको नतिजा थाहा पाउन सकिन्छ ?
अन्त्यहिन यस्ता प्रश्नहरु हामी सबैको अचेतन मन मा कहीँ कतै लुकेर बसेको होला, कौतुहलता सबैलाई होला । किन यसो हुन्छ, किन यसो भयो, किन त्यस्तो भएन भन्ने कुरा त सबैलाई लाग्छै नै होला, अनि अन्त्य पनि के होला भन्ने लाग्छ नै होला । यस्ता छेउटुप्पा नभेटिने कुरामा यो अमुल्य समय, खर्च गर्नु पक्कै पनि मेरो मुर्खता मात्र हो । अत: तपाईहरु पनि आफ्नो नदुखेको टाउको नदुखाउनुहोस्, ‘सबै प्रश्न को जवाफ हुँदैनरहेछ’ ।