मकवानपुर गढी, इतिहासमा ठूलो प्रभाव रहेको तर अहिले एउटा भग्नावशेष मात्र । करिब १ महिना अघि जति मकवानपुर गढि सम्म पुगिएकोथियो, ख्यालख्याल मै ! हेटौँडा बाट करिब १५-१६ किलोमिटर पूर्वमा महाभारत डाँडा को टुप्पामा मकवानपुर गढि रहेको छ । नेपाल को एकिकरण हुनुपुर्व को एक शक्तिशाली राज्य, अनि त्यहाँ का सेन वंशीहरुले राज्य गर्थे भनेर खुबै पढिएको थियो । अस्ति को छुट्टि मा हेटौँडा पुग्दा, भाइ विवेक ले गढि जाउँ भन्यो, उसले भन्नेबित्तिकै मलाई हतार लागिहाल्यो, धेरै पहिलेदेखि जान मन लागेर पनि नगएको ठाउँ भएकोले, अनि अझ दरबार, ब्यारेक भनेपछि शनिबार को दिन गइयो, मकवानपुर गढिमा, एउटा भग्नावशेष भित्र हाम्रो इतिहास हेर्न ! बिहान खाना खाएर राजदेवी बाट जंगलै जंगल उकालो चढियो ! बाँकी कुरा फोटोहरुबाट प्रस्ट पार्ने कोशीस गर्छु है त !
यो, माटो को ढिस्को मुनि चाँहि उहिले राजा को 'सेतो हात्ति' गाडिएको थियो रे । पहिले त्यहाँमाथि एउटा साइनबोर्डमा लेखिएको थियो रे ।
दरबार प्रवेशव्दार, चारैतिर अग्ला पर्खाल, अनि पर्खाल बाहिर ठूला ठूला, गहिरा खाडलहरु । दरवार प्रवेश गर्ने यही एउटै मात्र ढोका, अनि यो काठेपुल । उहिले चाँहि, यो पुल पनि डोरी लगाएर उठाएर राखिन्थ्यो रे, यसोगरेपछि दरबार भित्र को छिर्न सक्थे र ? अहिलेचाँहि, यो काठ को पुल यत्तिकैबस्छ है, मान्छे आउजाउ गर्नुपर्यो नि ! तर हामी पुग्दा, यो ढोका बन्द थियो, बडो बिजोक ले भित्र छिरिएको थियो ।
गढि दरबार भित्र मुख्यरुपमा, मान्छेहरु मन्दिरमा दर्शन गर्न र पुजाआजा गर्न जाँदारहेछन् । दरबार क्षेत्रभित्र कृष्ण को मन्दिर रहेछ । हामी पुगेको समय, एकहुल यही मन्दिरमा पुजा का लागि आएका थिए । सुन को जलप भएको पुरानो मुर्तिको टाउको चाँहि ३-४ वर्ष अगाडि चोरहरुले टप्काएछन्, पछि गाउँलेहरु मिलेर कृष्णलाई यो नयाँ टाउको हालिदिएछन् । मुर्ति निकै आकर्षक छ, अनि चोर ले भगवान भनेर कहाँ छोड्थे त ? फेरी सुरक्षा को नाउँमा केही त छैन, न पुलिस न आर्मी, न पुजारी नै मुर्ति रुँगेर बस्छन् ।
मर्मत सम्भार नगर्ने नि हैनन्, गर्दारहेछन् । यो रातो देखिएको चाँहि, भत्केको ठाउँमा भर्खर नयाँ पर्खाल बनाएकारहेछन् ।
दरबार भित्र लिइएको एउटा क्लोजसट्, यसरी दरबारका पर्खालहरु चिरा चिरा परेर भत्किँदैछन् । सायद, अर्कोपटक पुग्दा यो ढलिसकेको हुनेछ ।
उहिले, उ त्यो पर को ढुंगाका गाह्रो भित्र सैनिक सेन्ट्रि बस्थे रे ! दरबारलाई, राजालाई सुरक्षा दिनुपर्यो नि !
यो खाडल चाँहि बडो डेन्जर छ है । यहाँ भित्र कैयौँ मरेकाछन् विगतमा । कैदी, अपराधी तथा शत्रुहरुलाई यही खाल्टोमा धकेलिन्थ्यो रे , त्यहाँ परेपछि निस्कने उपाय छैन । अहिले त माटो भरिँदै आएको छ, तर यत्तिकै अनुमान गर्न सकिन्छ, पहिले यो झनै गहिरो थियो ।
दरबारका भित्तामा घाँस उम्रेको छ । संरक्षण को अभाव प्रस्ट देखिन्छ । साँच्चै, यो भग्नावशेष को अवशेष अब केही समय पछि नै बाँकि रहँदैन ।
दरबारका भत्किएका पर्खाल, घाँस र झार उम्रिएका छन् । अहिले सम्म केही भाग त उभिइरहेकाछन्, तर छानो छैन, अनि यति पुरानो कुरा, संरक्षण नभएपछि कसरी सहिसलामत हुन्थ्यो त ।
दरबार खासै, ठूलो भन्न त मिल्दैन । दरबार एरिया पनि सानो नै हो, काठमाडौँ, भक्तपुर को हेरी ! तर पनि डाँडा को टुप्पा मा चाँही यही दरबार नै रहेको छ । लगभग दरबार को लम्बाइ चाँहि यत्ति नै हो । तर धेरै भत्किसकेकोले, एकिन गरेरै भन्न त गाह्रै पर्छ ।
यहाँबाट हेर्दा हेर्दै केही टुक्राहरु भुँइमा खसे । पानी सिमसिम परिरहेकोथियो, मन्द हावा थियो, उसै त महाभारत को टुप्पामा चिसो हुन्छ । कहिले घाम, कहिले पानी हुँदा, बिस्तारै बिस्तारै यसैगरि भत्किरहेकाछन्, पर्खालहरु ।
दरबार को मुख्य ढोका, यसै ढोकाबाट दरबार प्रवेश गरिन्थ्यो उहिले । अहिले त जता बाट छिरे नि हुन्छ । हाहाहा
हामी पुग्दा, बाहिर को मुख्य ढोका मा ताल्चा लागेको, अनि हामीलाई भित्र छिरेर नहेरी नहुने भएको ले, जिर्ण भइसकेको को, दरबार को वरिपरि रहेको पर्खाल बाट हामी यसरी भित्र छिरेका थियौँ । चोरबुद्धिमा त हामीलाई नि कसले भेट्ने र ? हामी, पर्खाल बाहिर को खाडल मा ओर्लेर, यो पर्खाल नाघेर भित्र गएका हौँ । साँच्चै, भनेको त्यताका मान्छेहरु पनि, ढोका नखुलेको बेला, यसरी यहीँबाट जाँदारहेछन् । मुलढोका को साँचो, पुजारीले राख्ने, तर पुजारी को घर, हामीले कसरी खोज्नु ! अनि चढियो, यसरी जोखिम मोल्दै । बेलाबेलामा, ढुंगा खुस्किने हो कि भन्ने खुब डर लाग्थ्यो ।
एकातिर दरबार सुरक्षाका लागि बनाइएको अग्लो पर्खाल, बिचमा खाडल, अनि खाडलमा सिस्नुघारी ! उसबेला कसले पो, दरबार भित्र छिर्ने हिम्मत गर्थ्यो होला । सुरक्षा को दृष्टिले त, उसबेला को इन्जिनियरिङलाई नै मान्नैपर्छ । तर मलाई लागेको कुरा चाँहि के हो भने, त्यो माहाभारत को डाँडामा, यी मिलेका चेप्टा ढुंगाहरु कसरी आइएपुगेहोलान् ? म आफैँ अचम्मित पर्छु, कहिलेकाँहि, यहाँ नि दरबार थियो, एक समय सेनहरु ले राज्य गर्थे रे, त्यही दुई-अढाइ सय बर्ष अघि त हो नि ! पछि, गोर्खाली ले आक्रमण गरेपछि, सेन राजा, सुरुङ बाट भागेछन् । ओहो, त्यो सुरुङ को फोटो लिन भने बिर्सेछु । राजा भागिएको विश्वास गर्ने त्यो सुरुङ, दरबार भन्दा केही तलबाट सुरु हुन्छ। अनि त्यहाँ एउटा विशाल ढुंगा छ, विर्को लागेजसरी बसेको, त्यसमाथि महादेव को मुर्ति छ । अनि त्यस्तै तल निस्किएको प्वाल चाँहि, थुनिएको छैन है । त्यहाँ गुप्तेश्वर महादेव को नाम मा पुजा हुनेगर्छ । हत्तपत्त तल को सुरुङ को मुख भने देखिँदैन, छाँगा (झरना) ले छेकिएको छ ।
यो चाँहि जंगलमा पाइने विषालु च्याउ । विषालु च्याउहरु छुँदा, छोएको ठाउँमा निलो हुँदोरहेछ । हामीले नि त्यो च्याउलाई झिक्राले घोचेर हेर्यौँ, साँच्चै, च्याउ निलो रंगमा बदलियो ।
दरबारबाट २-३ किलोमिटर पश्चिम दक्षिण आएपछि, कान्तिराजपथमा देखिएको पिल्लर । हेटौँडा १३ किलोमिटर । अर्को कुरा पनि, के हो भने, यही कान्तिराजपथ हुँदै काठमाडौँ पुग्न सकिन्छ, सुनेअनुसार, बिचका केही खोला मा पुल नहुँदा सँधै त जान सकिँदैन रे, तर पनि मोटरसाइकलमा हुँकिनेहरु, जानेगर्दारहेछन्, काठमाडौँ यो बाटो भएर । पिल्लर माथि चाँहि, भाइ विवेक बसेको हो है, धेरै थकाइलागेर, फर्किँदा ।
देखियो, घुमियो, बुझियो, जानियो यत्ति हो, यो दरबार क्षेत्र संरक्षण नभएमा केही वर्ष पछि यी भग्नावशेष पनि देख्न सकिँदैन । अनि अर्को कुरा, दरबार मा रहेका तोपहरु, गोलाहरु चाँहि, केहीवर्ष अगाडि नै नेपाल आर्मीले, सुपारिटार ब्यारेकमा लगिसकेको रहेछ ।
















देखियो, घुमियो, बुझियो, जानियो यत्ति हो, यो दरबार क्षेत्र संरक्षण नभएमा केही वर्ष पछि यी भग्नावशेष पनि देख्न सकिँदैन । अनि अर्को कुरा, दरबार मा रहेका तोपहरु, गोलाहरु चाँहि, केहीवर्ष अगाडि नै नेपाल आर्मीले, सुपारिटार ब्यारेकमा लगिसकेको रहेछ ।