
आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए ।
हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्दिन म पनि, उनीहरु जेसुकै गरुन् ।) तर पनि उनीहरु दुवै आफ्नो अडान मा अडिग छन् । अनि आफूलाई मात्र सही र अर्कोलाई गलत ठानिरहेकाछन् । एउटा इमोशनल ब्ल्याकमेलिङ गरिरहेकाछन् दुवैजना, दुवैजना आफूप्रति सहानुभुति खोजिरहेकाछन् । (एक अर्को, आगो र पानी हुनु पर्ने मा, दुवै आगो भएपछि समाधान पनि प्राय: असम्भव नै छ हैन र ?) दुवै भित्र भित्रै आफैँ पिल्सिरहेकाछन्, रोइरहेकाछन् । तर पनि यो सत्य हो कि, अब फेरी उनीहरु एक हुनेछैनन्, बरु जिन्दगी भर एकअर्कालाई सम्झेर रोएरै बिताउनेछन् दिनहरु । त्यो सामिप्यता को आभाष सँधै खड्किरहनेछ ।
जब जब दुवैलाई एकअर्काको याद आउँछ, तव दुवैको पारो तात्छ तर फेरी एकछिन मा लल्याकलुलुक हुन्छन् । अनि तिनै पुराना दिनहरु सम्झिन्छन् । त्यो अविष्मरणिय पहिलो भेट सम्झिन्छन् (हुन त भेट पनि मैले नै गराइदिएको हुँ), केही क्षण पुराना कुरामा हराउँछन् । दुवै एक अर्कालाई धिक्कार्छन्, दुवै एकअर्का माथि दोष थोपरेर आफू पानी माथि को ओभानो बन्न खोज्छन् ।
पहिले जोसँग एकपटक कुरा नगरी चित्त बुझ्दैनथियो, जो एकअर्काका आफ्ना हरेक कुराहरु बाँढ्थे तर आज उनीहरु एकशब्द पनि बोल्दैनन् । उनीहरु एउटै नदिका दुइ किनार भएका छन्, जुन आपस मा मिल्न असम्भव छ । सुन्दैछु, दुवैजना धेरै टाढा जाँदैछन् रे, अब कहिले पनि भेट्दैनन् रे ! तर पनि एकान्त मा सम्झेर रुने गर्छन् रे ! म सम्झाउन सक्दिन उनीहरुलाई ।
उनीहरु बिचको मनमुटाव को कारण मै थिँए । तर म यो कुरा उनीहरु दुवैलाई भन्न सक्दिन, बुझाउन सक्दिन । म केही भन्न सक्दिन्, म देखिएको यथार्थलाई चुपचाप हेरिरहन मात्र सक्छु । उनीहरुले पनि चिनेका छैनन् मलाई, तर उनीहरुले मेरो भरपुर उपयोग गरेकाछन् । हुन त मैले नै भेट गराइदिएको हुँ उनीहरुलाई तर आखिर मा उनीहरु बिच फाटो ल्याउने कारक पनि म नै बन्न पुगेँ । म हुँ ‘नेपाल टेलिकम को नेटवर्क’ ।
उनीहरुलाई मिलाउन, म नसक्ने भएको छु । के तपाई उनीहरुलाई सम्झाउन सक्नुहुन्छ ? के उनीहरुलाई सम्बन्धको फाटो को कारण ‘मोबाइल को नेटवर्क’ हो भनेर भन्दिनसक्नुहुन्छ ? फेरी उनीहरुलाई सँगै हेर्ने रहर थियो, तर सायद मेरो यो रहर, रहर मै सिमित हुनेहोला । साँच्चै, के तपाई उनीहरुलाई मिलाउन सक्नुहुन्छ ? प्लिज भन्दिनु न उनीहरुलाई, सम्झाइदिनु न उनीहरुलाई ! हैन, कसैलाई त भनिदिनोस् न यार, मेरो कथा, मेरो दुरावस्था ।